इटहरीः इटहरी पूर्वको व्यापारिक केन्द्रकै रूपमा विकसित भइरहेको छ । प्रदेश १ को केन्द्रमा रहेको र सुगम क्षेत्र रहेकाले व्यापारिक चहलपहल बढ्दो छ । केही वर्ष अगाडि धुलाबारी र विराटनगरमा एकछत्र रहेको होलसेल व्यापार अहिले इटहरीमा सरेको छ । विभिन्न क्षेत्रको होलसेलको कारोबारको नेतृत्व अहिले इटहरीले गरिरहेको छ । विराटनगरको क्षेत्र साँघुरिँदै गएको बेला इटहरीले व्यापारिक दायरा बढाएको छ ।

विगत २ वर्षमा मात्र विभिन्न क्षेत्रमा गरी ५ सय भन्दा बढी होलसेल पसल खुलेका छन् । उद्योग वाणिज्य सङ्घमा आबद्ध विभिन्न वस्तुगत सङ्घको जानकारीका आधारमा भन्ने हो भने खुद्राभन्दा होलसेल व्यापारीको सङ्ख्यामा बढिरहेको छ ।
सङ्घका अनुसार इटहरी बजार लगायत साबिकको हाँसपोसा, खनार र एकम्बाका बजारलाई समेट्दा २ हजारको हाराहारीमा होलसेल पसल सञ्चालित छन् ।
किराना व्यवसायी सङ्घका अध्यक्ष कमल पौडेलका अनुसार २ सयभन्दा धेरै किराना होलसेल पसल इटहरीमा छन् । थोरै सामानमा धेरै नाफा राख्दाभन्दा धेरै बेचेर थोरै नाफा राख्दा फाइदा हुने भएकाले होलसेल व्यापार फस्टाएको उनको भनाइ छ ।
त्यस्तै रेडिमेड कपडा र जुत्ताका होलसेल पसल सबैभन्दा धेरै इटहरीमा छन् । इटहरीमा ५ सयभन्दा धरै रेडिमेड होलसेल पसल रहेको रेडिमेड व्यवसायी सङ्घका महासचिव बुद्ध सुवेदीले बताए ।
झण्डै सोही अनुपातमा कस्मेटिक तथा मनिहारीका होलसेल पसल छन् । कस्मेटिकको व्यापार पनि खुद्रा पसलमा भन्दा होलसेलबाट नै बढी भइरहेको छ ।

फलफूलका १५ भन्दा बढी होलसेल पसल छन् । अधिकांश भारतीय मूलका नागरिकको पसल भएकाले भारतबाट आएकै सामानमात्र बढी खपत हुने गरेको छ ।

त्यस्तै, विद्युतीय व्यवसायका ५० भन्दा बढी, अटो पार्टसका १०, औषधीका ७ वटा होलसेल पसल सञ्चालनमा छन् ।
विद्युतीय व्यवसाय सङ्घका महासचिव ढुण्डीराज गुरागाईका अनुसार दर्ता भएका होलसेल मात्र २ सय ५० भन्दा बढी छन् । तर व्यापार गर्ने भने ५० को हाराहारीमा मात्र रहेको उनी बताउँछन् ।

होलसेलका कारण खतरामा खुद्रा व्यवसाय
बजारमा होलसेल पसलको सङ्ख्या बढेसँगै खुद्रा व्यापारी भने समस्यामा परेका छन् । थोक बिक्रीको इजाजत लिएर खुद्रा व्यापार गर्ने होलसेल व्यापारीका कारण खुद्रा पसल सङ्कटमा पर्न थालेका हुन् । रेडिमेड व्यवसायी सङ्घका महासचिव तथा बि एण्ड बि ब्रदर्स फेन्सी स्टोरका सञ्चालक बुद्ध सुवेदीका अनुसार होलसेलको नाममा बढेको कालोबजारीले खुद्रा व्यापारको भविष्य सङ्कटमा पारिरहेको छ । केही समय यस्तै अवस्था रहे धेरै खुद्रा व्यापारी विस्थापित हुने उनी बताउँछन् । आफूहरूले यस विषयमा उद्योग वाणिज्य सङ्घलाई बारम्बार जानकारी गराउँदा समेत कुनै सुनुवाइ नभएको उनको भनाइ छ ।

त्यस्तै यु एण्ड मी फेन्सी स्टोरका सञ्चालक यमबहादुर बस्नेतका अनुसार होलसेलले खुद्रा बेच्न थालेपछि खुद्रा पसलमा व्यापार कम हुँदै गइरहेको छ । समयमा नै यसको नियमन हुन सकेन भने धेरै व्यापारी पलायन हुने खतरा हरेको उनी बताउँछन् । व्यापारीहरूको साझा संस्था मानिएको उद्योग वाणिज्य सङ्घ मौन बसिदिँदा आफूहरूलाई समस्या परेको उनको भनाइ छ ।