विराटनगरः जन्मको आधारमा नागरिकता लिएका नागरिकको सन्तानलाई वंशजको नागरिकता दिने गृह मन्त्रालयको पछिल्लो परिपत्रअनुसार मोरङमा ८ सय ३ ओटा नागरिकता वितरण गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय मोरङले दिएको तथ्याङ्कको आधारमा चैत १९ गते गृह मन्त्रालयका उप–सचिव गंगाप्रसाद न्यौपानेको हस्ताक्षरमा ७७ ओटै जिल्लामा गरिएको परिपत्रअनुसार ६ दिनमा यतिको सङ्ख्यामा नागरिकता वितरण गरिएको हो ।

मोरङका प्रमुख जिल्ला अधिकारी रमेश केसीका अनुसार दिनमा करिब १ सय ५० का दरले नागरिकता वितरण गरिएको थियो । दैनिक सयौँको भीड जम्मा हुन थालेपछि जिल्ला प्रशासन मोरङले टोकन प्रणाली लागू गरेको थियो । टोकन दिएर मिति तय गरी बोलाउने गरिएको हुँदा वैशाख १९ गते सम्मका लागि नागरिकता दिने गरी टोकन दिइसकिएको हो । जसमा ३ हजार ७ सय व्यक्ति रहेका छन् ।

अब गृहको परिपत्रअनुसार नागरिकता दिने कार्य तत्काल बन्द गर्न चैत २५ गते सर्वोच्चको आदेश आएपछि यत्तिका व्यक्तिको नागरिकता के होला भन्ने अन्योल पनि छाएको छ । मङ्गलबार आफ्नो पालोमा टोकन लिएकाहरू नागरिकता लिन जिल्ला प्रशासन पुुग्दा प्रहरीले कार्यालय प्रवेशमा रोक लगाएपछि एकाएक जम्मा भएको भीड आन्दोलित बनेको थियो ।

प्रहरीको उच्च तैनाथीमा रहेको जिल्ला प्रशासन कार्यालयका युवाले प्रधानमन्त्री र गृहमन्त्रीविरुद्ध नाराबाजी नै गरेका थिए । उनीहरूले नागरिकता नहुुँदा पाइलैपिच्छे समस्या भोग्नुपरेको भन्दै सहज व्यवस्थाका लागि माग गरेका थिए ।

प्रजिअ केसीले मन्त्रालयको परिपत्र कार्यान्वयन नगर्नू भन्ने सर्वोच्चको आदेशअनुसार आफूले केही गर्न नसक्ने बताए । अब अर्को आदेश कुुर्नुको विकल्प नभएको केसीले बताए ।