पाँचथरः फिदिम नगरपालिकाका प्रमुख ओनाहाङ नेम्बाङले प्रमुख प्रशासकीय अधिकृतलाई काज फिर्ता गर्न सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पत्राचार गरेका छन् । गत भदौमा नगरपालिकामा हाजिर भएका अधिकृत घनश्याम उपाध्यायले विकास निर्माणको काममा अवरोध सृजना गरेकोलगायतका आरोप सहित नगर प्रमुखले सोमबार मन्त्रालयमा पत्राचार गरेका हुन् ।
उनले यसअघि पनि अधिकृत उपाध्ययलाई स्पष्टीकरण पत्र लेखेका थिए । चैत १२ गते लेखिएको पत्रमा चित्त बुझ्दो लिखित स्पष्टीकरणको माग गरिएको छ । मेयर नेम्बाङका अनुसार अधिकृत उपाध्यायले चित्तबुझ्दो जवाफ नदिएको र अनुमति नलिई बिदा बसेको हुँदा उनलाई फिर्ता पठाइएको हो ।
नगरपालिका स्रोतका अनुसार यो बाहेक उनलाई फिर्ता पठाउने अन्य कारण पनि छन् । तीमध्ये एक हो पौवा भञ्ज्याङ–लुङरुपा सडकखण्डको बजेट । उक्त सडक खण्डका लागि आएको १ करोड ३५ लाख बजेटलाई टुुक्रा पारेर उपाभोक्ता समितिमार्फत् काम गर्नका लागि नगरकार्यपालिकाबाट निर्णय भएको थियो । तर, उपाध्ययले भने उक्त निर्णय कार्यान्वयन गर्न कानुनी अड्चन रहेको अड्डी कसेपछि जनप्रतिनिधि र अधिकृतबीच विवाद शुरु भएको हो ।
आर्थिक वर्ष सकिन लागेको हुँदा ठेक्का प्रक्रियाले जाँदा समयमा काम नसकिने देखिएकाले उपभोक्ता समितिमार्फत् चाँडो काम सक्न यसो गर्नुुपरेको मेयरको भनाइ छ । तर, प्रक्रियागत ढङ्गले मात्र चल्नुपर्ने अधिकृत उपाध्यायको अडानका बीच यस्तो विवाद सिर्जना भएको हो ।
अब कार्यकारी अधिकृतले नगर छाडेपछि पुनः नयाँ अधिकृत आएर कहिले काम हुने हो भनेर स्थानीय चिन्तित छन् ।