इटहरीः ‘जन्मको आधारमा नागरिकता लिएका सन्तानलाई वंशजको आधारमा नागरिकता दिनू’ भन्ने गृह मन्त्रालयको परिपत्रअनुसार प्रदेश नम्बर १ मा १ हजार ६ सय ५१ ओटा नागरिकता प्रदान गरिएको छ । गृह मन्त्रालयले चैत १९ गते ७७ ओटै जिल्ला प्रशासन कार्यालयलाई पत्र काट्दै जन्मसिद्ध नागरिकका सन्तानलाई नागरिकता वितरण गर्न परिपत्र गरेको थियो ।

तर सो परिपत्र गैरकानुनी भएको भन्दै सर्वोच्च अदालतमा रिट परेपछि तत्काल परिपत्र पालना नगर्नू भन्ने आदेश मङ्गलबार बेलुका भए पनि चैत १९ देखि २५ गतेसम्म प्रदेश एकका ४ ओटा जिल्ला झापा मोरङ सुनसरी र इलामले सोमबारसम्ममा १ हजार ६ सय ५१ नागरिकता प्रदान गरेका हुन् ।
प्रदेश १ को तराई क्षेत्रका जिल्लाबाट मात्र यो किसिमका नागरिकता वितरण भएका छन् । नागरिकता वितरण गर्ने एक्लो पहाडी जिल्ला इलाममात्र परेको छ ।

प्रदेश १ मा रहेका १४ जिल्लामध्ये तराईका ३ जिल्ला झापा मोरङ सुनसरी र पहाडी जिल्ला इलामबाट मात्र जन्मसिद्ध नागरिकताप्राप्त गरेका सन्तानलाई बंशजको नागरिकतावितरण गरिएको हो । नागरिकता वितरण गर्ने ४ जिल्लामध्ये सबैभन्दा बढी नागरिकता मोरङले वितरण गरेको छ ।
जिल्ला प्रशासन कार्यालय मोरङका अनुसार ८ सय ३ ओटा नागरिकता वितरण भएको छ ।

परिपत्र भएपछि एक्कासी नै भीड लागेकाले जिल्ला प्रशासन कार्यालय मोरङले टोकनको व्यवस्था गरेको थियो । भीडलाई थाम्ने अवस्था नभएपछि कार्यालयले टोकन प्रणाली शुरु गरेको थियो । मोरङ प्रशासनले ३ हजार ७ सय जनालाई वैशाख १९ गतेसम्मको लागि टोकन वितरण पनि गरिसकेको थियो ।
मोरङपछि धेरै नागरिकता वितरण गर्ने जिल्ला झापा रहेको छ । जिल्ला प्रशासन कार्यालय झापाले ५ सय १७ ओटा नागरिकता वितरण गरेको छ । त्यसैगरी सुनसरीबाट ३ सय २६ र इलामबाट ४ ओटा नागरिकता वितरण भएको छ ।

भित्री मधेस उदयपुरबाट पनि प्रदान भएन
तराइको इलाका पनि पर्ने उदयपुरमा भने जन्मसिद्ध नागरिकताको आधारमा वंशजको नागरिकता कसैले पनि लिएका छैनन् । सो जिल्लामा नागरिकता पाऊँ भनी निवेदन दिए पनि सबैको प्रक्रियामै भएकाले नागरिकता पाउन नसकेका हुन् ।
उदयपुरका प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीले भने, ‘नागरिकता लिन निवेदन दिए पनि सर्जिमिनको प्रक्रियामा भएकाले नागरिकता दिएको छैन ।’