फाइल तस्बिर
झापाः १ नम्बर प्रदेश सभा सदस्य श्रीप्रसाद मैनालीले नयाँ वर्षसँगै १ नम्बर प्रदेशवासीले प्रदेश र राजधानीको नाम प्राप्त गर्ने बताएका छन् ।
बुधबार आफ्नै निवासमा स्थानीय सञ्चारकर्मीसँग कुराकानी गर्दै सभासद मैनालीले बैशाख १५ गतेभित्र १ नम्बर प्रदेश र राजधानीको नाम टुङ्गो लाग्ने हुँदा नयाँ वर्षसँगै प्रदेशवासीले आफ्नो प्रदेश र राजधानीको नाम प्राप्त गर्ने बताए । पछिल्लो समय प्रदेश र राजधानीको नाम टुङ्गो लगाउने विषयमा व्यापक छलफल भएकाले बैशाखको दोस्रो सातामा टुङ्गो लाग्ने सभासद मैनालीको भनाइ छ ।
१ नम्बर प्रदेशका अधिकांश सभासद र जनताको अभिमत प्रदेशको नाम सगरमाथा या कोशी राख्नुपर्ने भएको समेत मैनालीले प्रष्ट पारे । प्रदेशको नाम सगरमाथा पहिलो प्राथमिकतामा परेको भन्दैं उनले १ नम्बर प्रदेशको नामकरण गरिरहँदा सिङ्गो देश र सगरमाथाप्रति न्याय नहुने हो कि भन्ने पनि शङ्कासमेत रहेको बताए ।
‘विश्वकै सर्वाेच्च शिखर सगरमाथा यही प्रदेशमा छ । यसले विश्व सामु नेपाल र नेपालीको पहिचानलाई उच्च बनाएको छ’, उनले भने, ‘तर, १ नम्बर प्रदेशको नाम सगरमाथा राख्दा सीमित ठाउँमा मात्र सगरमाथा खुम्चिने हो कि भन्ने चिन्ता पनि छ ।’ मैनालीले घुमाउरो पारामा १ नम्बर प्रदेशको नाम कोशी हुने प्रायः निश्चित भएको बताए ।
राजधानीका बारेमा विराटनगर, इटहरी र गोठगाउँलाई केन्द्र मानेर नामकरण गर्ने तयारी भएको छ । राजधानी भन्ने बित्तिकै प्रदेशका सबै जिल्लावासीलाई सहज र काम गर्न सुविधा हुने ठाउँ चाहिने उनको भनाइ छ । जनताले सबै सुविधा एकै ठाउँबाट प्राप्त गर्न सकून्, भन्ने चाहना रहेको उनले बताए । विराटनगरबाट उत्तर, इटहरीबाट पूर्व, गोठगाउँबाट पश्चिम यो बीचको भूभागलाई समेटेर सवै जिल्लावासीको भावनालाई बुझेर ५० देखि १ सय बिघाको जग्गा व्यवस्थापन गरेर सबै कार्यालय र पर्याप्त संरचनालाई मध्यनजर गरेर राजधानीको नाम घोषणा गर्ने पक्षमा १ नम्बर प्रदेश सरकार रहेको उनको भनाइ छ ।
पर्याप्त ऐन कानुन नभएका कारण समयमै सरकारले प्रदेश र राजधानीको नाम टुङ्गो लगाउन नसकेको सभासद मैनालीको भनाइ छ । अहिले १ नम्बर प्रदेश सरकारका धेरै ऐन कानुन निर्माण भएका, विधेयक पास भएका विभिन्न समितिका पदाधिकारीको टुङ्गो लागिसकेका कारण अब राजधानी र प्रदेशको नाम घोषणा गर्न सहज भएको र घोषणासँगै विकास निर्माणका काम १ नम्बर प्रदेश सरकार अघि बढ्ने उनले बताए ।