इटहरीः नयाँ वर्षसँगै प्रदेशको नाम र राजधानी तोकिने भएपछि सुनसरी र मोरङका १२ वटा स्थानीय तह समेटेर बृहत विराट क्षेत्र घोषणा गरी राजधानी तोकिने अनुमान गर्न थालिएको छ ।

प्रदेश १ सरकारले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट आएको बृहत विराट क्षेत्र विकास सम्बन्धमा व्यवस्था गर्न बनेको २०७५ प्रदेशसभामा लैजान अनुमति प्रदान गरेको छ । यससँगै अब बृहत विराट क्षेत्र घोषणा गर्नका लागि छलफलको चरणमा पुगेको छ ।

हुन त यसलाई आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कुमार कार्कीले विकाससँग सम्बन्धित आयोजना मात्र भनेका छन् । तर, सरकारले राजधानी विकेन्द्रित गर्ने तयारीको रूपमा धेरैको बुझाइ रहेको छ । कार्कीका अनुसार यसको नेतृत्व प्रदेशका १ जना मन्त्रीले गर्ने र प्रमुख कार्यकारी नियुक्त गर्ने तयारी भएको छ ।

कुनकुन स्थानीय तह समाहित हुँदैछन् बृहत विराट क्षेत्रमा ?
प्रदेशको एक्लो महानगर विराटनगरसहित मोरङका कटहरी, ग्रामथान, बुढीगंगा, सुन्दरहरैंचा तथा सुनसरीका दुहबी, इटहरी, धरान, वराहक्षेत्र, इनरुवा, बर्जुलाई समेटेर बृहत् विराट क्षेत्र घोषणा गर्न लागिएको हो ।