पथरीः उत्तरपूर्वी मोरङको पथरीशनिश्चरे–२ मा युवा मिलेर भैंसीका पाडा पालनतर्फ लागेका छन् । वार्षिक साढे ५ लाखभन्दा बढी युवायुवती वैदेशिक रोजगारीतर्फ आकर्षित भइरहेको बेला पथरीशनिश्चरेका युवा भने वैदेशिक रोजगारी छोड्दै भैंसीका पाडा पालनतर्फ लागेका हुन् ।

मोरङको पथरीशनिश्चरे–२ स्थित चौतारी बहुउद्देश्यीय कृषि समूहले मासु उत्पादनका लागि व्यावसायिक पाडापालन शुरु गरेको छ । प्रतिबिघा ३० हजार रुपैयाँ भाडा तिर्ने गरी साढे सात बिघा जग्गा लिजमा लिएर समूहले व्यावसायिक पाडापालन शुरु गरेको हो । सम्पूर्ण जग्गामा हाल घाँस लगाइएको छ । समूहले थप १ बिघा जग्गामा पाडाको गोठ निर्माण गरेको छ । गोठमा हाल ७६ वटा पाडापाडी रहेका छन् ।

वैदेशिक रोजगारीलाई तिलाञ्जली दिँदै समूह बनाई पाडा पालनमा लागेर नमूना कार्य थालेको समूहका सचिव गंगा रिजालको भनाइ छ । झण्डै अढाइ महिना अघि चैत ७ गतेबाट पाडा खरिद गर्दै गोठमा हाल्न थालेको सचिव रिजालले बताए ।

समूहमा १ सय ६५ जना किसानको २३ लाख रुपैयाँ लगानी रहेको छ । एक वर्षभित्रमा १ करोड लगानी पु¥याउने लक्ष्य समूहको रहेको छ । खासगरी किसानलाई मात्र लगानी गर्न दिने सोच समूहको थियो । तर किसानसँग प्रशस्त पैसा नहुँदा उद्यमी र व्यापारीका लागि पनि बाटो खोल्नुपर्ने अवस्था आएको समूहका सचिव रिजालले बताए ।

गोठ निर्माण, दाना र पाडा खरिदमा हालसम्म १३ लाख रुपैयाँ खर्च भइसकेको छ । शेयर सदस्यले ५ हजारदेखि ५० हजार रुपैयाँसम्म शेयर लगानी गरेको समूहका अध्यक्ष रत्नबहादुर बस्नेतले बताए । नयाँ सदस्यको प्रवेश हुने क्रम बढेको उनले जानकारी दिए । अध्यक्ष बस्नेतका अनुसार खसी–बाख्रा, बङ्गुर, स्थानीय जातका कुखुरा र माछापालनका लागि समेत गोठ र पोखरी निर्माण हुने छ ।
पहिलो चरणमा बङ्गुर र स्थानीय जातका १ हजार ५ सय कुखुरा पाल्नका लागि गोठ र खोर निर्माण भइरहेको छ । त्यस्तै थप डेढ सय पाडापाडीका लागि पनि गोठ निर्माणाधीन अवस्थामा रहेको छ । यसैगरी, भविष्यमा यो व्यवसायको साथमा कुखुरा, बाख्रा, माछा पालनका साथै बेमौसमी तरकारी खेती गर्ने उद्देश्य रहेको पनि अध्यक्ष बस्नेत बताउँछन् । सरकारको अनुदान प्राप्त भएमा अझ अर्को फर्म थपेर अन्य युवालाई समेत समावेश गरी विदेश पलायनलाई रोकेर स्वरोजगारलाई प्रोत्साहन दिने पनि योजना रहेको व्यवसायी बस्नेत थप्छन् ।

१८ हजारमा खरिद गरेका एक हल पाडा १ महिना पालेपछि ३१ हजारमा बिक्री गरेको पनि उनले सुनाए । बीउ, मासु र जोत्ने प्रयोजनका लागि नेपालमा पाडाको खरिद बिक्री हुने गरेकोले व्यवसाय राम्रोसँग चल्ने समूहका सदस्यहरू बताउँछन् ।

समूहले हाल २ जनालाई रोजगारी दिएको छ । बिहान ५ बजेपछि ४ घण्टा र बेलुका ३ बजेदेखि ३ घण्टा पाडालाई स्थानीय बक्राहा खोला किनारमा चरनमा लग्ने गरिएको छ । खोला किनारसँगै जोडिएको जग्गा लिजमा लिएकाले ३ सय पाडा पाल्न थप पूर्वाधार निर्माण गर्नु नपर्ने बताइएको छ ।

३ वर्षपछि वार्षिक १ करोड ५० लाख रुपैयाँबराबरको राँगा मात्र बेच्ने समूहको लक्ष्य छ । पाँच वर्षमा ५० करोडको सबै खाले मासुजन्य पदार्थ उत्पादनको लक्ष्य रहेको पनि बताइएको छ । सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारको सहयोग पाए पूर्वाञ्चल क्षेत्रमा मासुको परनिर्भरता आधा घटाउने लक्ष्य रहेको बताइएको छ । बजारमा भैंसीको दूधभन्दा पाडाको मासुको भाउ र माग बढिरहेकाले त्यो मागलाई मध्यनजर गरेर नै पाडा पालन व्यवसाय थालेको समूहको भनाइ छ ।

यसैगरी, पथरीशनिश्चरे–२ का अर्का युवा प्रेम गुरुङले पनि राष्ट्रिय युवा परिषदबाट ५ लाख रुपैयाँ अनुदान पाएपछि पाडा पालन शुरु गरेका छन् । गुरुङको अध्यक्षतामा गठित नेपाल कृषि फर्ममा अन्य ५ जना युवा आबद्ध भई पाडा, गाई र बङ्गुर पालन गरेका छन् ।

गुरुङजस्तै कानेपोखरी–७ का युवा रामकुमार श्रेष्ठले पनि राष्ट्रिय युवा परिषदबाट अनुदान लिई पाडा पालन गरेका छन् । श्रेष्ठको गोठमा अहिले ९ वटा पाडापाडी छन् । उनले गाउँपालिकाबाट पाडा पालनसम्बन्धी तालीमसमेत लिएको बताए ।

pada palan-2