बेलबारीः हिजो राति सुन्दरहरैंचामा मोटरसाइकललाई ठक्कर दिने गाडी पूर्व राजाको सुरक्षामा खटिएको गाडी भएको पुष्टि भएको छ ।

पूर्व राजा ज्ञानेन्द्र शाहालाई विराटनगर विमानस्थल पुर्याएर फर्किएको गाडीले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन । पूर्व राजालाई विराटनगर विमानस्थल छाडेर फर्किएको बा ३ च ७९६२ नम्बरको कारले को १५ प ९९७९ नम्बरको मोटरसाइकललाई मोरङको सुन्दरहरैंचा ४ बुधबारेमा ठक्कर दिएको थियो । कारको ठक्करबाट मोटरसाइकल चालक इटहरी उप–महानगरपालिका ८ बस्ने वर्ष २२ का प्रकाश चौधरी र मोटरसाइकलको पछाडी सवार वर्ष २२ का हेम चौधरी गम्भीर घाइते भएका थिए ।

घाइते हेमको नोबेल अस्पताल विराटनगरमा उपचारका क्रममा राती साढे ९ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ । मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । कार र चालक प्रहरी नियन्त्रणमा रहेका छन् ।
सो गाडी सशस्त्र प्रहरी बलका जवान दीपेन्द्रप्रसाद लम्सालले चलाएका थिए । गाडी पूर्व राजा ज्ञानेन्द्रले पूर्वमा बस्दा प्रयोग गर्ने गरेका थिए । सशस्त्रका जवान बचाउनका लागि प्रहरीले सूचना लुकाएको पाइएको छ ।

इलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख रामकुमार राईले अहिलेसम्म पूर्व राजाको गाडी भन्ने पुष्टि नभएको बताएका छन् । मोरङ प्रहरी प्रमुखले एसपी मनोज केसीले समेत पत्रकारले भन्दा मात्रै आफूले थाहा पाएको बताए । जिल्ला प्रहरीका डीएसपी घनश्याम श्रेष्ठले भने गाडी पूर्व राजाको नै भएको बताए ।