फाइल तस्बिर

इटहरीः नारायणघाटबाट अर्धकुम्भ मेला घुम्न आएका पृथ्वी जोशीले अलि पर कोशी नदीमा सरर जहाजजस्तो हिँडेको देखे । बुधबार चतरामा कुम्भ नुहाउँदै गर्दा अलि पर उत्तरतिर कोशीमा जहाज चलेको उनले देखेका थिए । नदीमा काठको डुङ्गा मात्र चलेको देखेका २१ वर्षीय जोशी पानीजहाज चढ्न आतुर भए ।

‘समाचारहरूमा पानीजहाजको कुरा आइराखेको भए पनि पानीमा यसरी कुद्ने जहाज देखेको थिइनँ’, जोशीले भने, ‘पहिलो पटक कुम्भ मेलामा आएको हुँ । पहिलो चोटि कोशीमा नुहाइयो पनि । अनि पहिलो चोटि पानीजहाज पनि चढ्न पाइयो ।’

जोशी मात्र होइन ३० जनाको समूहमा आएको उनीहरूको टोलीमा ४५ वर्षीय नारायण चौधरीबाहेक पानीजहाज अर्थात् जेट बोट देख्ने कमै थिए । चौधरी भने वैदेशिक रोजगारको सिलसिलामा धेरै पटक पानीजहाजमा चढेको बताउँदै थिए । सो समूहका चौधरी बाहेकका अन्य सदस्य जहाज हेर्दै चढ्न उत्सुक देखिन्थे ।

पहिलो चोटि जहाज देखेका जोशीलगायतको टोली जहाजमा चढ्न कहाँ सम्पर्क गर्ने भन्ने जानकारी लिएर जहाजतिर लागे । ३० जनाको टोलीमध्ये १० जनाको टोली जहाजको टिकट काट्न जहाजभएतिर लागे ।

नारायणघाटको टोली मात्र होइन चतरामा कुम्भमेलामा आउने अधिकांशको आकर्षण जेट बोट हुने गरेको छ । ‘सप्तकोशीको कुम्भ, पानीजहाजको सयर’ जस्तै भएको स्थानीय विजय राई बताउँछन् । कुम्भ नुहाउन आउने धेरैले पानीजहाज कहाँबाट चढ्न पाइन्छ भन्दै सोध्ने गरेका छन् ।

यता बराहक्षेत्र जल यातायात प्रालिका सञ्चालक विमलमान श्रेष्ठका अनुसार कुम्भ स्नान गर्न आउने अधिकांशको लागि नयाँ अनुभव हुने भएकाले जेट बोटमा चढ्नेको सङ्ख्या उकालो लाग्दै गएको छ । उनका अनुसार कुम्भ नुहाएर जेट बोट चढ्ने मान्छेको सङ्ख्या पनि बिस्तारै बढ्दै गएको छ ।

‘कोशीमा पानीको अवस्था पनि राम्रो छ, कुम्भ मेलाले र राष्ट्रिय बहस र प्रचारको कारण पनि जेट बोट चढ्न आउनेको सङ्ख्या पनि बढ्दै गएको छ’, श्रेष्ठले भने, ‘कुम्भ नुहाउन कोशीमा आउँदा जहाज देख्नेहरू चढ्ने गरेका छन् ।’

जेट बोट चढेको न्यूनतम २ सय रुपैयाँदेखि अधिकतम ४ सय रुपैयाँसम्म लाग्ने गर्दछ । जल यायायात र पर्यटन दुवै रूपमा जेट बोटले प्रभाव जमाएको छ । जेट बोटले पहाडी जिल्ला भोजपुर र धनकुटाका स्थानीयलाई यातायातको सुविधा दिएको छ भने बाहिरी इलाकाबाट आउनेलाई पर्यटकीय मनोरञ्जन पनि दिने गरेको छ ।

गाडीमा जान पनि सम्भव नरहेकाले जल यातायातबाट ठूलो राहत पुगेको भोजपुरका बमबहादुर राई बताउँछन् । स्थलमार्गबाट समय र साधनमा ठूलो लगानी गर्नुपर्ने भएकाले जेट बोट पहाडी बासिन्दाको लागि सहज बनिदिएको छ । सञ्चालक श्रेष्ठका अनुसार पर्यटकीय हिसाबमा जेट बोट चढ्नेको सङ्ख्या ठूलो रहेको छ । यातायातको हिसाबमा सो जेट बोट भोजपुरको हलेदेसम्म पुग्ने गरेको छ ।