फाइल तस्बिरः बुलेट खतिवडा
इटहरीः प्रदेश नम्बर १ का मुख्य मन्त्री शेरधन राईले विप्लव समूह पनि राजनीतिको मूल धारमा आएर देश निर्माणमा सहकार्य गर्नुपर्ने धारणा राखेका छन् । आज भक्तपुरस्थित रफत सञ्चार क्लबमा बोल्दै राईले देशलाई समृद्धिको बाटोमा हिँडाउन सबैको सहकार्य आवश्यक रहेको बताएका हुन् ।
‘देश विकासको बाटोमा हिँडिरहेको छ, संविधानको मर्मलाई आत्मसात गर्दै सबै एक हुनु अहिलेको आवश्यकता हो,’ उनले भने ।
मुख्यमन्त्री राईले प्रदेश सरकारले सहज र तीव्र गतिले काम गर्न नसक्नुमा केन्द्रीय मन्त्री र सचिवहरू मुख्य दोषी रहेको आरोप लगाएका छन् । उनले अन्तर प्रदेश परिषद् बैठकले निर्णय गरेका २९ बुँदे कार्यान्वयन गर्न नदिएको भन्दै यसले प्रदेश सरकारको ‘पफर्मेन्स’ मा असर पुर्याएको धारणा राखेका हुन् । उनले भने, ‘यस विषयमा प्रधानमन्त्रीले नचाहनुभएको होइन, तर मन्त्री र सचिवले बाधा निम्त्याए ।’
प्रदेशको नाम र राजधानीको विषय जटिल नै रहेको भन्दै केन्द्रीय राजनीतिक वृत्तमा टुङ्गिन नसकेको विषय प्रदेशको थाप्लोमा आएको उनले बताए । उनले केही हप्तामै यो विषयले पनि पूर्णता पाउने भन्दै प्रदेश सरकारले कामको गति बढाइरहेको जानकारी दिए ।
आवश्यक कानुन र संरचना तयार हुन नसक्दा तीन तहका सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको उनले बताए । एक वर्ष सम्मको अवधि अनुभवको वर्ष र सङ्घीयताको जग निर्माणको वर्ष रहेको भन्दै अब भने विकासले फड्को मार्ने उनले दाबी गरे ।