इटहरीः शुक्रबार राति साढे ११ बजे धरान–८ मा पर्ने कोशी राजमार्गमा भएको कार दुर्घटनामा परी घाइते भएका थप १ जनाको मृत्यु भएको छ । उनको मृत्युसँगै सो दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ४ पुगेको छ ।

कार चालक मोरङको सुन्दरहरैंचा बस्ने तेह्रथुम घर भएका अन्दाजी ४५ वर्षीय गोबिन्द बस्नेतको उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीका अनुसार उनको विराटनगरको न्युरो अस्पतालमा उपचार भइरहेको थियो ।

धरान प्रहरी प्रमुख सुमन तिम्सिनाका अनुसार सो दुर्घटनामा परी धनकुटाको महालक्ष्मी–४ का २७ वर्षीय जनक बुढाथोकी, इटहरी–४ का अनिल श्रेष्ठ र ठेगाना नखुलेका मदन लिम्बूको शुक्रबार नै मृत्यु भएको थियो ।

धरानबाट इटहरी आउँदै गरेको बा २० च ४०७६ नम्बरको कारले मे १ त ६६९२ नम्बरको ट्याक्टरलाई ओभर टेक गर्ने क्रममा दुर्घटना हुन पुगेको हो । खनारबाट धरानतर्फ जाँदै गरेको को १ ख ४७६१ नम्बरको मजदुर बोकेको बसमा कार अनियन्त्रित भई ठोक्किँदा दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।

ट्याक्टरमा सवार ३ जना र बसमा सवार ४ जना यात्रुहरूसमेत घाइते भएको र उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जानकारी दिएको छ ।