धरानः नेपाली काङ्ग्रेस धरान नगरसमितिले छाया सरकार बनाउने निर्णय गरेको छ । धरान उपमहानगरपालिकामा विकास निर्माणका कामहरू अस्तव्यस्त भएको भन्दै धरान काङ्ग्रेसले छाया सरकारमार्फत विरोध गर्ने निर्णय गरेको हो ।
आज बसेको उपमहानगर समितिको बैठकले धरानका जनतालाई झुक्याएर स्थानीय सरकारले गलत गरिरहेको ठहर गरेको छ ।
बैठकपछि विज्ञप्ति जारी गर्दै काङ्ग्रेसले सरकारको विरोध गरेको हो । धरानमा ३ जना मेयर र ५ जना कम्युनिष्ट सांसद निर्वाचित भए पनि धरानको मुहार नफेरिएको काङ्ग्रेसको बुझाइ छ ।
बसपार्कको व्यवस्थापन, सुकुम्बासी समस्याको दीर्घकालीन समाधान, एयरपोर्ट, खानेपानीको समस्या समाधान, स्तरीय बाटो बनाउने लगायतका काम गर्ने गरे पनि उपलब्धि शून्य रहेकाले विरोध गर्नुपरेको काङ्ग्रेसले जनाएको छ । नेकपाले जनतालाई भ्रममा पारेर धरानवासी जनतामाथि अन्याय गरेको काङ्ग्रेसको भनाइ छ ।
त्यस्तै, धरानमा रिक्त रहेको मेयर पदको लागि पुनः निर्वाचनको लागि पहल गरिने निर्णय गरेको सोही विज्ञप्तिमार्फत् जानकारी गराइएको छ । विभिन्न उपसमितिका संयोजक तोकेर सङ्गठन बिस्तारलाई तीव्रता दिइएको बताइएको छ ।
त्यस्तै, आगामी जेठ ३ र ४ गते नगरस्तरीय बृहत भेलाको आयोजना गर्ने काङ्ग्रेसले जनाएको छ ।