झापाः २ साता अघिदेखि बन्द भएका पूर्वका चिया बगानहरू खुलाउन सङ्घीय र प्रदेश सरकार निष्क्रिय भइरहेका बेला स्थानीय सरकारको पहलमा झापाको मेचीनगर–६ र ७ मा रहेको राज तथा सतीघट्टा टि स्टेटका केही भाग मङ्गलबारबाट खुलेको छ ।
सरकारले तोकेको न्यूनतम पारिश्रमिक नपाएको भन्दै मजदुर आन्दोलनमा उत्रिएपछि बन्द भएका पूर्वका धेरै चिया बगानहरू अझै पनि बन्द नै छन् । श्रम ऐन २०७५, सामाजिक सुरक्षा ऐन २०७५ र नेपाल सरकारले तोकेको चिया श्रमिकहरूको न्यूनतम ३ सय ८५ रुपैयाँ ज्याला २०७५ साउन १ गतेदेखि नै कार्यान्वयन गर्नुपर्ने र ऐनले तोकेअनुसारको न्यूनतम पारिश्रमिक दिनुपर्ने माग राख्दैं चैत १७ गतेदेखि मजदुर आन्दोलनमा छन् । मजदुर चरणबद्ध आन्दोलनमा उत्रिएपछि पूर्वका सबै चिया बगान बन्द छन् ।
केही दिनअघि मेचीनगर नगरपालिकाले नगरभित्र सञ्चालनमा रहेका बगान सञ्चालक, सरकारका प्रतिनिधि र त्यसमा कार्यरत चिया मजदुरका प्रमुख प्रतिनिधिहरूसँग समस्याको समाधानका लागि छलफल गरेको थियो । नगरभित्र ठूला र साना गरी दर्जनभन्दा बढी बगान रहेको नगरपालिकाका वातावरण अधिकृत दीपेन्द्र कार्कीले बताए ।
छलफलमा राज टि स्टेटका सञ्चालक सन्तोष सुब्बाले श्रम ऐन २०७५, सामाजिक सुरक्षा ऐन २०७५ र नेपाल सरकारले तोकेको चिया श्रमिकहरूको न्यूनतम पारिश्रमिक गत साउनदेखि नै कार्यान्वयन गर्ने बताएका थिए । मजदुरलाई बैशाख ३ गतेदेखि काममा फर्किन उनले आग्रह गरेका थिए । सोहीअनुसार मङ्गलबारबाट सबै क्षेत्रका मजदुर काममा फर्किएको सुब्बाको भनाइ छ । सञ्चालक सुब्बाका अनुसार राज टि स्टेट १ सय ६० बिघा क्षेत्रफलमा फैलिएको छ भने त्यहाँ ३५ जना मजदुर कार्यरत छन् ।
त्यसैगरी ४२ बिघामा फैलिएको लोकेन्द्र आचार्यतर्फको सतीघट्टा टि स्टेटमा १९ तथा ४३ बिघा क्षेत्रफलमा फैलिएको राजकुमार आचार्यतर्फ २८ जना मजदुर कार्यरत रहेको उनले बताए । बिर्तामोड १ मा १० बिघा क्षेत्रफलमा फैलिएको डिल्लीराम सिटौलाको चिया बगान बुधबारबाट खुल्ने बताइएको छ । उक्त बगान समेत सुब्बाले नै लिजमा लिएर सञ्चालन गर्दै आएका छन् ।
नगरपालिका प्रमुख विमल आचार्यले चिया बगान सञ्चालकहरूलाई बगान खोलेर नियमित कामकाज गर्ने वातावरण सिर्जना गर्न आग्रह गरेका थिए । बगान सञ्चालक सुब्बाले मजदुरका मागको सम्बोधन गर्दै माग पूरा गर्ने प्रतिबद्धता जनाएका थिए । यी बगानका मजदुरहरू काममा फर्किए पनि अन्य चिया बगानहरूले मजदुरका सबै माग पूरा नगरुञ्जेल आन्दोलनमा सहभागी हुने उनले बताए ।
सुब्बाले सरकारले कारखाना सञ्चालकभन्दा पनि हरियो चियापत्ती उत्पादन गर्ने किसानलाई अनुदान र सहुलियत दिनुपर्ने माग गरेका छन् । नेपाली चियाको गुणस्तरमा उत्पादकले ध्यान दिनुपर्ने र गुणस्तर खोज्न जरुरी रहेको तथा बजार व्यवस्थापनमा सरकार लाग्नुपर्ने उनको भनाइ छ ।
मजदुर नेता भरत राईले मजदुरका माग जुनसुकै हालतमा पनि कार्यान्वयन गराएरै छाड्ने बताउँदै यो आन्दोलनलाई सामान्य ठानेर मजदुरका मागप्रति सकरात्मक नबने अझ सशक्त रूपमा आन्दोलनमा जाने बताए ।
सरकारले चिया किसानलाई दिने अनुदान सहयोग र सहुलियतमा कुनै कमी आउन नदिने र सम्बन्धित मन्त्रालयले तत्काल बगान खोलेर कामलाई निरन्तरता दिन सम्बन्धित सबैमा जानकारी गराउँदासम्म बगान सञ्चालकहरू अझै बगान खोल्ने पक्षमा नरहेको मजदुर सङ्घ संस्थाका नेताहरू बताउँछन् ।
यता, बगान सञ्चालकहरूले समस्याको मुख्य जड बगान सञ्चालक र मजदुर नभई स्वयम् सरकार रहेको टिप्पणी गरेका छन् । सरकारले हचुवाका भरमा कुनै गृहकार्य नगरी न्यूनतम पारिश्रमिक तोक्नु नै ठूलो समस्या भएको उनीहरूको भनाइ छ ।