बेलबारीः मोरङको सुनवर्षीका अशोक राजवंशी पैसा कमाउने उद्देश्यका साथ जेठीसासूको जग्गा दृष्टिबन्धक राखेर ऋण निकालेर क्यानडा जानका लागि तयार भए ।

उनले किस्ता किस्ता गरेर ४ लाख रुपैयाँसमेत दिए । त्यस्तै सुनवर्षीका २३ वर्षीय राजु राजवंशीले जग्गा दृष्टिबन्धक राखेर ४८ प्रतिशत (४ टके) ब्याजमा ऋण खोजेर क्यानडा जान ३ किस्तामा रकम दिए । पहिलो किस्तामा १ लाख, दोस्रो किस्तामा डेढ लाख र तेस्रो किस्तामा अन्य बाँकी रकम दिएको उनले बताए । गाउँकै चिनजानका एजेन्टलाई पैसा दिएको राजु बताउँछन् ।

उनीजस्तै ६ जना युवाले क्यानडा जानका लागि २४ लाख रुपैयाँ बुझाएका छन । राजु भन्छन्, ‘अहिले मलाई किस्ता तिर्न गाह्रो भएको छ ।’ उडानका लागि दिल्लीमा लगेर ५० हजार रुपैयाँ खर्च गराएकोसमेत उनले बताए ।

सुवर्ण राजवंशी, पुष्पकुमार राजवंशी, लक्ष्मण साहनी, दयानन्द साहनीलगायतका युवाले धनपालथान गाउँपालिकाका एजेन्ट राजनकुमार राजवंशीलाई किस्ता किस्ता गरेर २४ लाख रुपैयाँ बुझाए । उनीहरूले श्रम रोजगार कार्यालय विराटनगरमा आफू ठगिएको बारेमा उजुरी दिएका छन् । उनीहरू सबैले ८ कक्षाभन्दा माथि पढेका छैनन् ।

युवाहरू युरोपियन मुलुकलगायतका देशहरूमा आकर्षक तलब सेवा सुविधाको प्रलोभनमा परी ठगिने क्रम बढ्दो रुपमा रहेको छ । युरोपमा राम्रो कमाई हुने आशामा युवाहरूले अवैधानिक रुपमै व्यक्तिलाई मोटो रकम दिने गरेका छन् ।
पैसा दिएपछि एजेन्ट फरार भएको भन्दै पछिल्लो समय श्रम कार्यालयमा उजुरी दिनेको सङ्ख्या बढ्दै जान थालेको छ । क्यानडा पठाइदिने भन्दै ठूलो रकम दिने गिरोह नै रहेको श्रम कार्यालय मोरङका वरिष्ठ श्रम अधिकृत प्रेम सञ्जेलले बताए ।

‘राजनकुमार राजवंशीसँगै गणेशप्रसाद घिमिरे, दीपेन्द्र झा लगायतको गिरोह रहेको खुलेको छ’, सञ्जेलले भने, ‘अन्य पनि उजुरी आउन थालेका छन् । सबैको अनुसन्धान गर्दा तिनै व्यक्तिको नाम जोडिने गरेको छ ।’ उनिहरू अहिले सम्म फरार रहेका छन् । मोरङ तथा सुनसरीमा ३० जनाभन्दा बढी व्यक्तिले श्रम कार्यालय विराटनरगमा उजुरी दिएका छन् ।

नक्कली भिसा र टिकट देखाएर दलालले रकम लिएको पीडितले बताएका छन् । उनीहरूलाई गत असारमा नै क्यानडा पठाउने भन्दै पाँच जनाबाट ७ लाखका दरले ३५ लाख र कृष्ण चौधरीसँग २ लाख रुपैयाँ उठाएर भागेको बताइएको छ ।

रामधुनीका ६ जना युवाबाट राजन राजवंशी, किशोरकुमार ठाकुर, विनोदकुमार ठाकुरले रकम उठाएका हुन् । त्यही समूहले मोरङका ७ जना युवाबाट प्रतिव्यक्ति ५ लाख रुपैयाँको दरले ३५ लाख लिएको श्रम कार्यालयमा उजुरी परेको छ । यी दलालहरूबाट अन्य व्यक्ति पनि ठगिएको हुन सक्ने श्रम कार्यालयले जनाएको छ ।

आफूहरू ठगिएको भन्दै मोरङको सुनवर्षी नगरपालिका– ९ का हंशराज राजवंशी, कंशराज राजवंशी, पंकज राजवंशी, अजय देवगत राजवंशी, प्रेमलाल राजवंशी, सुवासकुमार मण्डल र रङ्गेली नगरपालिका– ५ का सुवासकुमार मण्डलले गत पुसमा श्रम कार्यालयमा निवेदन दिएका थिए ।

सो समूहले मोरङ र सुनसरीका ३० भन्दा बढी युवाबाट डेढ करोड रुपैयाँ उठाएको जानकारी आएको श्रम कार्यालय विराटनगरले जनाएको छ । ठगी गिरोहका निरञ्जनको स्थायी ठेगाना नेपालगञ्ज बताइएको छ । तर उनी दिल्लीमा बस्दै आएको पुष्टि भएको छ ।
ठगीमा संलग्नलाई पक्राउ गरी उपस्थित गराउन श्रम कार्यालयले प्रहरी कार्यालयहरूलाई पत्र लेखेको बताइएको छ ।

युरोपियन मुलुकमा काम गर्न जाने भन्दै ठगिने व्यक्तिहरूले वैदेशिक रोजगार ऐनका सबै दफाहरू कण्ठस्थ गरेर युवाहरूलाई पठाउने गरेका छन् । सरकारले समेत वैदेशिक रोजगारीमा जान चाहनेको लागि सचेतनामूलक विभिन्न कार्यक्रम गरे पनि ठगिने क्रम भने घटेको छैन ।