बेलबारीः मोरङको सुन्दरहरैंचा– ५ का दुई महिला एक÷डेढ वर्षका छोरीहरू बोकेर विगत ३ दिनदेखि श्रम कार्यालयमा धाइरहेका छन् । दुवैका श्रीमान् विदेशमा अलपत्र भएको भन्दै उनीहरू श्रम कार्यालयको ढोका घच्घच्याइरहेका छन् ।

विगत ९ महिनाअघि दुबई पुगेका पुष्पमणि गौतम र रविन पराजुलीका श्रीमती अम्बिका गौतम र कल्पना पराजुली आफ्ना श्रीमान्लाई एजेन्टले कुटपिट गरेको भन्दै श्रम कार्यालय पुगेका हुन् । ‘श्रीमानहरूको शरीरभरको चोटपटकको फोटोसहित श्रम कार्यालयबाट न्याय दिलाइदिन आग्रह गर्न आएका हौँ,’ कल्पनाले भनिन् ।

पुष्पमणि गौतमका बुबा भोजराज गौतमले १ लाख ७० हजार रुपैयाँ तिरेर छोरालाई विदेश पठाएको श्रम कार्यालय मोरङका प्रमुख प्रेमप्रसाद सञ्जेलसँग रुँंदै बताए । उनले भने, ‘छोराले गएको केहि दिनदेखि नै रुँदै एजेन्टले भने अनुसारको काम पाइएन भन्यो । हामीले पहिला त जसोतसो काम गर भन्यौँ,’ उनले थपे, ‘केही महिना भएपछि छोराले तलब माग्दा साहुले ढोका थुनेर कुट्यो भनेर निलडाम देखाउन थाल्यो ।’

उनले विदेशमा छोराहरूको दुखद अवस्था भोगिरहेको देख्दा यता रातदिन आँखा ओभानो नभएको बताए । ‘दुबईमा छोराहरू रुन्छन् यता हामी रोइरहेका छौ, आँशु र भात बराबरी खाइरहेका छौँ,’ भोजराजले भने ।

‘छिमेकी महेन्द्रबहादुर तामाङमार्फत् स्टिकर टाँस्ने कम्पनीमा दैनिक १० घण्टा काम गर्ने सहमतिमा श्रीमान जानुभएको हो ।’ अम्बिकाले भनिन्, ‘अहिले लेबर काम गर्नुपरेको छ ।’ दैनिक १८ घण्टा काम लगाएर खानाबाहेक अन्य केही नदिएको उनले बताइन् ।

३५ देखि ४० हजारसम्म तलब हुन्छ भनेर छिमेकीले भनेपछि ऋण खोजेर विदेश पठाएको कल्पना पराजुलीले जानकारी दिइन् । ‘श्रीमान्ले यस्तो काम गर्न सक्दैनौं तलब दिनू हामी घर फर्कन्छौँ भन्दा कोठा थुनेर कुटपिट गरेछन्,’ उनले रुँदै भनिन्, ‘फर्काइदिन पहल गरिदिनुप¥यो ।’

उनीहरू काठमाडौंको ह्वाइट पियरमार्फत् विदेश गएका थिए । दैनिकजसो देशमा रोजगारी नपाएर विदेश जाने युवाहरूको ज्याननै जोखिममा पर्ने गरेको छ । श्रम कार्यालय मोरङमा दैनिक वैदेशिक ठगीका मुद्दा बढिरहेको कार्यालय प्रमुख सञ्जेलले बताए । जनप्रतिनिहरूको रोहबरमा एजेन्टलाई पैसा दिने व्यवस्था मिलाउने हो भने विदेश जाने युवाहरू घट्ने सञ्जेलले बताए ।