इटहरीः सरकारले हरेक नेपालीलाई जलविद्युतको शेयर दिने कार्यक्रमअन्तर्गत समेटिएका रसुवागढी हाइड्रोपावर र सान्जेन जलविद्युत कम्पनीको साधारण शेयर आजदेखि बिक्री खुला भएको छ ।
जनताको जलविद्युत् कार्यक्रम अन्तर्गत समेटिने कम्पनीको पहिलो शेयर आफूले किन्ने उद्घोष गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिशुली जलविद्युत कम्पनीको शेयर किनेर आफ्नो वचन पूरा गरेका थिए । तर, सो कार्यक्रमअन्तर्गत आज १० बजेदेखि साधारण शेयर (आईपीओ) बिक्री खुला गरेको रसुवागढी हाइड्रोपावर र सान्जेन जलविद्युत कम्पनीको आईपीओ भने प्रधानमन्त्रीले शुरुमै भरेका छैनन् ।
पहिले प्रधानमन्त्रीसँगै शेयर भरेका सभामुख, ऊर्जामन्त्रीलगायतले भने आज पनि शुरुमै शेयर खरीदका लागि आवेदन दिएका छन् । रसुवागढी र सान्जेन जलविद्युतमा सभामुख कृष्णबहादुर महरा र उर्जामन्त्री वर्षमान पुनले पनि शेयर भरेका छन् ।
कसले कति कित्ता भरे ?
त्रिशुलीको शेयर प्रधानमन्त्रीले १० हजार कित्ताको लागि आवेदन दिँदा ऊर्जामन्त्री वर्षमान पुनले १ हजार कित्ताको लागि आवेदन दिएका थिए । यसपटक पनि उनले १ हजार कित्ताका लागि नै आवेदन दिएका छन् । प्रतिकित्ता १ सय रुपैयाँको आईपीओमध्ये ऊर्जा मन्त्री वर्षमान पुनले रसुवागढीमा १ लाख रुपैयाँको अर्थात् १ हजार कित्ता र सान्जेनमा ५० हजार रुपैयाँको अर्थात् ५ सय कित्ता किन्नका लागि आवेदन दिएका छन् ।
साथै, पुनकी पत्नी तथा पूर्व सभामुख ओनसरी घर्तीले पनि रसुवागढीमा १ हजार कित्ता र सान्जेनमा ५ सय कित्ताको लागि आवेदन दिएकी छिन् ।
त्यस्तै, सभामुख कृष्णबहादुर महराले रसुवागढीमा १ हजार कित्ता र सान्जेनमा ५ सय कित्ताका लागि आवेदन दिएका छन् ।
महराकी पत्नी सीता महराले पनि रसुवागढीमा १ हजार कित्ता र सान्जेनमा ५ सय कित्ताका लागि आवेदन दिएकी छिन् ।
यो शेयर कहिलेसम्म भर्न पाइन्छ ?
हरेक साधारण शेयर भर्ने म्याद कम्तीमा ४ दिन र बढीमा ३० दिन हुन्छ । सान्जेनले सर्वसाधारणका लागि ४९ लाख ८२ हजार २ सय ५० कित्ता र रसुवागढीले ९३ लाख ३९ हजार ४ सय ६९ कित्ता बिक्रीमा ल्याएका हुन् । ४ दिनभित्रमा सबै कित्ताका लागि आवेदन परेमा ४ दिन अर्थात् बैशाख १० गतेभन्दा पछि शेयर भर्न पाइँदैन । १० गतेसम्ममा सबै शेयर किन्न आवेदन नपरेमा भने त्यसपछि पनि शेयर भर्न पाइनेछ ।
कति कित्ता शेयर लगानीकर्ताले हात पार्लान्
आईपीओमा सर्वसाधारणको पनि पहुँच होस् भनेर धितोपत्र बोर्डले हरेक आवेदकलाई दामासाहीले शेयर वितरण गर्न निर्देशन जारी गरेको हुनाले कति आवेदकले शेयर भर्छन् त्यसमा भर पर्छ । उदाहरणको लागि सान्जेनले ४९ लाख ८२ हजार २ सय ५० कित्ता शेयर बिक्रीमा राखेको छ । यदि ४ लाख ९८ हजार २ सय २५ जना लगानीकर्ताले रीतपूर्वक आवेदन दिए भने सबैलाई १० कित्ता शेयर पर्छ । आवेदक सो सङ्ख्या भन्दा बढी भए भने चिठ्ठा तानेर माथि उल्लेख गरिएको सङ्ख्याका लगानीकर्ताले शेयर पाउाँछन् । सो भन्दा कम सङ्ख्यामा आवेदन परेमा १० कित्ता भन्दा बढी कित्ता लगानीकर्ताको हातमा पर्नेछ ।
यदि सान्जेनको शेयर ४९ हजार ८ सय २२ जनाले मात्रै भरे भने सबै आवेदकले १ सय कित्ता शेयर हात पार्छन् ।
कति रुपैयाँ लगानी गर्ने ?
दुवै कम्पनीमा कम्तीमा १ हजार रुपैयाँ अर्थात् १० कित्ताको लागि आवेदन दिन पाइन्छ । सान्जेनमा अधिकतम २ हजार र रसुवागढीमा ५ हजार कित्तासम्म अर्थात् सान्जेनमा २ लाख रुपैयाँसम्म र रसुवागढीमा ५ लाख रुपैयाँसम्मका लागि आवेदन दिन पाइनेछ ।