धनकुटाः जङ्गलमा त्यत्तिकै खेर जाने सल्लीपीरबाटै मनग्गे आम्दानी गर्न सकिन्छ भन्दा जोकोहीलाई विश्वास नलाग्ला तर धनकुटाकी जुना घिमिरे यसको उदाहरण बनेकी छिन् ।

पाख्रीबास नगरपालिकाको वडा नम्बर ४ मा घर भई हाल धनकुटा नगरपालिकाको वडा नम्बर ३ मा बसोबास गर्दै आएकी जुनाले सल्लीपीरबाट विभिन्न कलात्मक सामग्री निर्माण गरी त्यसलाई बिक्री गरेर मनग्गे आम्दानी गर्न सफल भएकी हुन् ।

शारीरिक अशक्त घिमिरेले १३ वर्ष अघिबाट सल्लोको पातबाट बास्केट, टिमेट, कि रिङ, लालटिन, टोपी, चुरी स्टेन लगायतका १ दर्जनभन्दा बढी विभिन्न कलात्मक सामग्री निर्माण गर्ने गरेकी छिन् ।

sallipir 1

२०६० सालमा घरेलु तथा साना उद्योग समिति धनकुटाले तालीम दिएपछि शुरु गरिएको यो व्यवसायबाट मासिक २० हजार रुपैयाँसम्म आम्दानी गर्ने गरेको उनको भनाइ छ । सल्लाको पातकै आम्दानीले आफ्नो उपचार खर्चदेखि दैनिक सम्पूर्ण खर्चका लागि कसैसँग हारगुहार गर्नुनपर्ने उनको भनाइ छ ।

उनले बनाएका सल्लीपीरका कलात्मक सामग्री ५० रुपैयाँदेखि १ हजार रुपैयाँसम्ममा बिक्री हुने गरेको छ । यी सामग्रीको मुख्य बजार काठमाडौं हो । यस्ता सामग्रीको माग बढेसँगै हाल उनलाई माग धान्न समेत हम्मे पर्न थालको छ । पछिल्लो समय नेपालमा भविष्य नदेखी विदेश पलायन हुने युवा पुस्तालाई यस्तै कलात्मक सामग्री उत्पादन गरी बिक्री गर्न उनी सुझाउँछिन् ।

यो पेशामा लाग्न चाहनेलाई उनले पछिल्लो समय विभिन्न स्थानमा पुगेर तालीमसमेत दिने गरेकी छिन् ।