धरानः सम्भावना भएर पनि ओझेलमा रहेका धरानका विभिन्न ९ स्थानलाई होमस्टेको माध्यमद्धारा पर्यटन प्रवर्द्धन गर्ने धरान सरकारको उद्देश्य रहेको छ । धरान उपमहानगरपालिकाले मुख्य बजार क्षेत्रभन्दा बढीमा १० किलोमिटर दुरीमा रहेका रमणीय स्थानलाई होमस्टका लागि उपयुक्त स्थानको रूपमा पहिचान गरेको छ ।

यस अघि हाल धरानमा पर्ने साबिक विष्णुुपादुका गाविसको तामाङ टोलमा कोकाह होमस्टे सुरु गरिसकेको उपमहानगरले पुनः धरान– ४ को देवीथान गाउँमा दोस्रो होमस्टे सुरु गरेको हो । ग्रामीण भेगमा कृषि पेसा अपनाइ सामान्यजीवशैली अपनाएका यहाँका स्थानीयलाई नगरले तालिम दिएसँगै होमस्टेप्रतिको मोह जागेको छ । धरान– ४ देवीथान होमस्टे सञ्चालक समितिका अध्यक्ष गोरखमान आलेले धरान उपमहानगरपालिकाको पर्यटन समितिले यस गाउँको अध्ययन गरे पछि होमस्टे सञ्चालन गर्ने बाटो खुलेको जानकारी दिए । उनले नजिकै रहेको नाम्जे होमस्टेमा पुगेर धेरै कुरा सिकेको बताए ।

‘हामीले होमस्टेको बारेमा त सुनेका मात्र थियौँ ।’ उनले भने– ‘नगरपालिकाबाट सरहरू आए पछि भने हामी पनि होमस्टे चलाएर पाहुना भुलाउन सक्छौँ भन्ने थाहा पायौँ ।’

भेडेटार र देवीथान गाउँको दुरी केही थोरै मात्र होइन समुन्द्री सतह देखिको उचाइमा पनि खासै भिन्नता पाइँदैन । भेडेटार राजमार्गले छोएको हुँदा देवीथान बत्तीमुनिको अँध्यारो जस्तो भएको धेरैको बुझाइ छ । पर्यटन क्षेत्रमा लामो समय देखि सक्रिय धरानकी पर्यटनकर्मी एलिनामगरले यस क्षेत्रको पर्याप्त सम्भावना भएको हुँदा नै होमस्टे कार्यक्रम सञ्चालन गर्न उपयुक्त वातावरण बनेको जानकारी दिइन् । उनले भनिन– ‘पर्यटन विकासका लागि आवश्यक न्यूनतम आधारहरू यहाँ रहेको पायौँ । त्यसैले यसको विकास गर्न सबै एकजुट भएका हौँ ।’

धरान, भेडेटार जस्ता पूर्वका चर्चित र पर्यटकीय नगरको छेउमा रहेका अथाह सम्भावना बोकेका स्थानलाई उजागर गर्न सकिए, यथेष्ट पर्यटक आउने र यहाँको जीवनशैलीमा परिवर्तन हुने स्थानीयको बुझाइ छ । कृषि पेसामा आबद्ध भएका देवीथान गाउँका बासिन्दाले कृषि उपजको खपत हुने र त्यसले आर्थिक रूपमा सबल बन्ने विश्वास लिएका छन् । स्थानीय युवा गणेश थापाले गाउँकै उत्पादनले महत्त्व पाउने हुँदा यहाँका जनताको आर्थिक उन्नति हुनेमा ढुक्क रहेको विश्वास प्रकट गरे ।

व्यस्त शहरीया जीवनलाई केही क्षण भुलाउन र कृषि पेसामा आबद्ध भएका माथिल्लो भेगका धराने जनताको आर्थिक उन्नतिका लागि होमस्टे कार्यक्रम प्रभावकारी बन्ने धरान उपमहानगरपालिकाकी कार्यवाहक मेयर मञ्जु भण्डारीले बताइन् । उनले पर्यटकीय ठाउँ भएका हुँदा उपत्यका जस्तो देखिने नगरलाई चारै तिरबाट हेर्न मिल्ने गरी गाउँमा होमस्टे सञ्चालन गर्ने योजना बनेको जानकारी दिइन् ।

धरान वडा नम्बर– ४ मा पर्ने देवीथानमा करिब १५ परिवारको मिश्रित बसोबास रहेको छ । कृषि, पशुपालनमा सक्रिय यहाँका स्थानीयले अब भने जीवनशैली फेरिने आशा गरेका छन् । अहिले ७ घरमा होमस्टे कार्यक्रम सुरु गरेका स्थानीयले २० जना पाहुनालाई प्रति दिन सेवा दिन सक्छन् ।

देवी थानबाट धरान बजारको सम्पूर्ण भूभाग एकै पटक देखिने हुँदा यसले चाँडै पर्यटकीय विकास गर्ने विश्वास लिइएको पयर्टनकर्मी वासुदेव बरालले बताए ।