भोजपुर: प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले हिजो संविधान मान्दैनौ भन्दै जलाउनेहरू आज एउटै थलोमा आइसकेकाले सबै पक्ष देशको सम्वृद्धि, विकास र खुसीको युग मा एक ढिक्का भएको बताएका छन् ।
भोजपुरको गौरवको योजना मानिएको भोजपुर सदरमुकामदेखि एयरपोर्ट जोड्ने सडकको कालोपत्रे गर्ने कामको शिलान्यास गर्न गृह जिल्ला आइपुगेका मुख्यमन्त्री राईले संविधानप्रति असन्तुष्टि जनाउनेहरू, छुट्टै मधेस राज्यको माग गर्नेहरू आज सहमतिको बाटोमा आइसकेकाले अब उपलब्धिका दिन सुरु भएको बताए । 'सङ्घीयताको संरचनाले गाउँलाई नै अधिकार सम्पन्न बनाएर गाउँमै रोजगार दिने, विकास गर्ने लगायतका काममा राज्य लागेकाले अब कसैले निराश हुनुपर्ने विषय छैन ।' उनले भने ।
विप्लव नेतृत्वको नेकपा माओवादीप्रति लक्षित गर्दै उनले भने ‘अहिले एउटा सानो समूह संविधान बाहिर गएर हतियार र आतङ्कको राजनीति गरिरहेको छ, यो विल्कुलै गलत काम हो, अहिले कुनै राजा महाराजा नभएको र सबै जनता मालिक भएको सङ्घीय गणतन्त्रात्मक व्यवस्थालाई छाडेर कुन विकल्प खोजिदैछ ?’
मुख्यमन्त्री राईले उनीहरू पनि तत्काल गलत बाटो छाडेर विकास, शान्ति र सम्वृद्धिको मूलबाटोमा आउने विश्वास व्यक्त गरे ।
मुलुकमा नयाँ व्यवस्थाको सुरुवातीको पहिलो वर्ष अनुभव गर्दा गर्दै बितेकाले यो वर्षदेखि द्रुत गतिमा प्रदेश सरकारको काम अघि बढ्ने मुख्यमन्त्रीले बताए । उनले भने ‘अझै प्रदेश सरकार र स्थानीय तहबिचका केही सम्बन्धलाई हामीले कानुनी रूपमा स्पष्ट पार्न बाँकी छ त्यसलाई यो वर्षभित्र पुरा गर्छौ ।’ प्रदेशलाई सम्वृद्ध र नमुना प्रदेश बनाउन दीर्घकालीन कार्य योजना बनिरहेको भन्दै त्यसलाई छिट्टै सार्वजनिक गर्ने उनको भनाइ छ ।
जेठ १५ मा आउने सङ्घीय सरकारको बजेटमा सामाजिक सुरक्षा भत्तामा उत्साहजनक वृद्धि हुने बताउँदै ५ वर्षे आफूहरूको कार्यकालभित्र चुनावी घोषणापत्रमा वाचा गरे अनुसार वृद्ध भत्ता ५ हजार पु¥याउने उनले प्रतिबद्धता जनाए ।