सङ्खुवासभाः पूर्वी पहाडको सङ्खुवासभा, तेह्रथुम र ताप्लेजुङको सिमानामा पर्ने तीनजुरे मिल्के जलजले क्षेत्रका लेकाली वन पाखाहरू यति बेला राताम्मे छन् ।

कतै फक्रनै लागेका कोपिला त कतै फक्रिएर राताम्मे देखिने मनमोहक गुराँसका फूल, अनि तिनै गुराँस फुल्ने घना जङ्गलभित्र विभिन्न लेकाली चराको चिरबिर । आजभोलि गुराँसको राजधानी तीनजुरे–मिल्के–जलजले क्षेत्रमा पुग्दा यस्तै देख्न पाइन्छ । अरु समयमा आफूलाई हरियाली रूपमा देखाएर पर्यटकलाई स्वागत गर्ने गुराँसको राजधानीले बिस्तारै आफ्नो रूपलाई रङ्गीचङ्गी बनाउँदै लगिरहेको छ ।

नयाँ वर्षको शुरुवातसँगै गुराँसको राजधानी राताम्मे छ । तेह्रथुम, सङ्खुवासभा र ताप्लेजुङको सङ्गमस्थल तीनजुरे मिल्के जलजले (टिएमजे) क्षेत्रले थरीथरीका गुराँस फूलले पर्यटकलाई स्वागत गरिरहेको छ ।

मकालु र कञ्चनजङ्घा हिमालको आधार शिविरलाई गन्तव्य बनाउने र अरुण र तमोर नदीको छालमा र्याफ्टिङ गरी आनन्द लिनेहरूलाई लोभ्याउन सक्ने प्राकृतिक सौन्दर्य पनि यो क्षेत्रमा छ ।

गुराँसको सौन्दर्यमा रमाउन आएका आन्तरिक तथा बाह्य पर्यटकले सङ्खुवासभाको गुफा बजारदेखि तेह्रथुमको वसन्तपुर बजारसम्मका होटल तथा लज भरिन थालेका छन् । रङ्गीचङ्गी गुराँस, बाटोभरी भेटिने चौंरी र खच्चडको लस्कर, ठट्यौली पारामा गीत गाउँदै पिठ्युँभरी भारी बोकेर यहाँ आउनेहरू पदयात्राभर शुद्ध कोदोको तोङवा र सुकुटीको खान्कीमा रमाउँछन् ।

छुर्पी, गुराँसको जुस, ऐसेलु र चुथ्रोको वाइन यस क्षेत्रका विशेषता हुन् । यो क्षेत्रमा २ सयभन्दा बढी प्रजातिका वनस्पतिहरू पाइने गरेको वनस्पतिविद् कमल मादेनले बताए । सङ्खुवासभा, तेह्रथुम र ताप्लेजुङका १९ स्थानीय तहमा फैलिएको अरुण र तमोर जलाधार क्षेत्रमा पर्ने टिएमजेमा गुराँसको सबै भन्दा अग्लो र होचो प्रजाति समेत फुल्न थालेका छन् ।

57133796_2496031910416084_7704723170661498880_n 57343462_2496032013749407_6165763438485176320_n 57303510_2496032760415999_5700880915715063808_n 57379434_2496031777082764_6613338050506260480_n (1) 57379434_2496031777082764_6613338050506260480_n 57414104_2496032603749348_3973412771109797888_n 57572788_2496032907082651_3847184768907083776_n 57602680_2496032427082699_101203194863943680_n 57379412_2496032123749396_2436714223250702336_n