विराटनगरः बृहत् विराट क्षेत्र विकास सम्बन्धमा आएको विधेयकको बारे प्रतिपक्षीले कडा टिप्पणी गरेको छ । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका प्रमुख सचेतक केदार कार्कीले आज संसद्मा पेस भएको उक्त विधेयशको भित्री उद्देश्य राजधानी विभाजित गर्ने हो भने त्यो घातक हुने अभिव्यक्ति दिएका छन् ।
सरकारका तर्फबाट प्रवक्ता एवंम आन्तरिक मामिला एवंम कानुन मन्त्री हिक्मतकुमार कार्कीले संसद्मा पेस गरेको विधेयकबारे बोल्दै कार्कीले घुमाउरोपारिबाट राजधानी सार्न खोजिएको हो कि भन्दै आशंका प्रकट गरे ।
उनले यदि उक्त विधेयक विकासको अवधारणाअनुसार विकास समिति बनाउन खोजिएको हो भने त्यसमा छुटेका अन्य स्थानीय तहलाई समेट्नुपर्ने धारणा राखे । ‘यसलाई विभाजित गर्ने उदेश्यले आएको हो भने यो कोचिला खाए जस्तो तितो हुन्छ ।’ उनले भने– ‘विकासको दृष्टिकोणले आएको हो भने यो ठिक छ , यसलाई छुटेका विषय थप गरेर सच्याउनुपर्छ ।’
उनले विधेयक छलफलका साथ ल्याएको भए धेरैलाई सम्बोधन गर्न वातावरण मिल्ने बताए । मधेसमा बस्ने जनताको भावना समेट्न विधेयक असमर्थ रहेको भन्दै जनताहरू सरकारसँग चिडिने अवस्थाको सृजना भएको बताए । ‘मधेसमा विकास भएन भन्ने जुन असन्तुष्टि थियो त्यसलाई विधेयकले थप प्रशय दियो ।’ उनले भने ।
सरकारले सुनसरी र मोरङका १२ स्थानीय सरकारलाई समेटेर प्रदेश १ सरकारले वृहत् विराट क्षेत्रको अवधारणा सार्वजनिक गरेको हो । यस बारे भोलि पनि अन्य सांसदले धारणा राख्ने कार्यक्रम छ ।