भेडेटारः ‘सबैले पुरुष सांसद्लाई मात्र खोज्छन्, हामीलाई त न नेताले न पत्रकारले स्पेस दिन्छन् ।’ यो भनाइ प्रदेश १ संसदमा इलामबाट प्रतिनिधित्व गर्ने नेकपाकी सांसद् खिनु लङ्वा लिम्बूको हो ।
भेडेटारमा आयोजित एकदिने क्षमता विकास कार्यशालामा सहभागी बन्न विराटनगरबाट आइपुुगेका महिला सांसद्ले अाफुहरू मिडिया र नेताको प्राथमिकतामा पर्न नसकेको गुनासो गरेका हुन् । कार्यशालामा प्रदेशका सबै दलका महिला सांसद्हरू उपस्थित थिए । ‘सशक्तीकरण’ विषयक मिडिया सेसनमा उनीहरूले मिडियाले नै विभेद गरेको गुनासो गरेका हुन् । ‘क्षमता विकास एकैपटक हुँदैन’, लिम्बूले भनिन्, ‘पुरुष सांसद्हरूको नाम मिडियामा बारम्बार आइरहन्छ, महिलालाई भने कतै कसैले स्पेस दिँदैनन् । अनि कसरी हुन्छ क्षमता विकास ?’
उनीहरूले बारम्बार ‘मिडिया फेस’ गरे मात्र वाक्कलाको विकास हुने र आत्मविश्वास बढ्ने बताए । हजारौँ जनताका बीच भाषण गर्ने बानी भए पनि आमसञ्चारका माध्यममा आप्mना भनाइ कसरी राख्ने भन्ने धेरै कमलाई मात्र जानकारी रहेको अर्की सांसद् वसन्तीदेवी यादवले बताइन् । उनले आधा आकाश ओगट्ने महिलाको नेतृत्व गर्ने वर्गलाई पुरुषलाई सरह स्थान दिनुपर्ने धारणा राखिन् । ‘संसद्का कतिपय विषयमा हाम्रा पनि धारणा हुन्छन्’, उनले गुनासो गरिन्, ‘सबै कुरा रोस्ट्रममै बोल्ने मात्र हुँदैनन्, पत्रकारसँग गर्ने विषय हुँदा हामीलाई कसैले वास्तै गर्दैन ।’
उनीहरूले पत्रकारितामा महिलाको उपस्थिति कम भएको हुँदा आप्mना विषयले कम प्राथमिकता पाएको बुझेका छन् । सांसद् सुनिता चौधरीको विचारमा पत्रकार महिलाको सङ्ख्या बढाउनुपर्छ । उनले संसदीय रिपोर्टिङ गर्ने पत्रकार महिला बढाए आप्mना कुरा समेटिने धारणा राखिन् ।
सो सत्रलाई सहजीकरण गरेका पत्रकार देवप्रकाश त्रिपाठीले ‘मिडिया फेस’ कसरी गर्ने भन्नेबारे छलफल चलाएका थिए । उनले सार्वजनिक पदमा बसेपछि सामाजिक सञ्जालमा अपनाउनुपर्ने सजगता, पत्रकार र मिडियासँग राजनीतिज्ञको सम्बन्ध, पत्रकार सम्मेलनको अर्थ, विज्ञप्ति लेख्दा ध्यान दिनुपर्ने विषयलगायतमा छलफल चलाएका थिए ।