इटहरीः इटहरी उपमहानगरपालिकाले केही समयअघि राजमार्गको क्षेत्रभित्र पर्ने संरचना हटाउन उर्दी जारी ग¥यो । पूर्वपश्चिम र कोशी राजमार्गको क्षेत्राधिकारभित्र पर्ने अतिक्रमण हटाउन निर्देशन जारी गरेको उपमहानगरले राजमार्ग आसपासका रुखहरूलाई पनि दुर्घटना बढाउने भन्दै हटाउने काम गरेको थियो । तर सो कार्यक्रम सक्किएलगत्तै सडक क्षेत्र पुन अतिक्रमण भयो ।
सडक आसपासका रुख बिरुवा समेत हटाउने निर्णय गरेको उपमहानगरले राजमार्ग छेउमा राखेका होडिङ बोर्डलाई भने नियन्त्रण गर्न सकेको छैन । सडक क्षेत्रमा सामग्री राख्ने जथाभावी, पार्किङ बनाउने ठुला व्यावसायिक होडिङ बोर्ड राख्ने काम भने निरन्तर जारी रहेको छ । उपमहानगरले निश्चित बजेट हुँदा काम गर्ने तर कार्यक्रमलाई निरन्तरता भने नदिने गरेको पाइएको छ ।
त्यसो त नियमविपरीत राखेका होर्डिङ बोर्डलाई कारबाही गरेको रेकर्ड उपमहानगरमा छैन । उपमहानगर आफ्नो क्षेत्रभित्र रहेका राष्ट्रिय राजमार्गका अस्थायी संरचना भत्काउन आदेश गर्न सक्छ । आदेशमात्र होेइन, उपमहानगरले आदेश गरेका त्यस्ता संरचना नहटाए नगरप्रहरी लगाएर नै भत्काउन सक्छ ।
तर, उपमहानगरले दिएको निर्देशनको पालना भने व्यवसायीले गरेका छैनन् । यसको उदाहरण पूर्वपश्चिम राजमार्गअन्तर्गत इटहरीको राजस्व ढाट नजिकको एक कार सर्भिसिङ कम्पनीको होडिङ बोर्डलाई लिन सकिन्छ । अटो ब्याक कार सर्भिसिङ नाम गरेको सो कम्पनीले राजमार्गको क्षेत्राधिकारभित्र राखेको होडिङ बोर्ड हटाउन उपमहानगरले दिएको निर्देशन लत्याएको पाइएको छ ।
मापदण्ड विपरीत होडिङ बोर्ड राखेको पाइए उपमहानगरले अनुगमन गरी कारवाही गर्नुपर्दछ । तर स्थानीयले उपमहानगरमा मौखिक उजुरी गर्दा पनि सडक क्षेत्रका त्यस्ता संरचना उपमहानगरले नियन्त्रण गर्न सकेन । मौखिक उजुरी सुनुवाइ नभएपछि इटहरीकै एक स्थानीयले उपमहानगरको वातावरण शाखामा निवेदन दिएका थिए ।
उजुरीको केही दिनपछि वातावरण शाखाले सडकक्षेत्र अतिक्रमण गरी राखेको बोर्ड तत्काल हटाउन पत्राचार गर्दा हालसम्म पनि बोर्ड हटाइएको छैन । २०७५ चैत १५ गते नै पत्र काटे पनि हालसम्म बोर्ड हटेको छैन । नगर प्रहरी लगाएरै हटाउन सकिने भए पनि हालसम्म उपमहानगरले होडिङ बोर्ड नियन्त्रण गर्न कुनै कदम चालेको छैन ।
वातावरण शाखाका प्रमुख पुष्पनारायण चौधरीले भने तुरुन्तै पत्र काटेको कम्पनीलाई होडिङ बोर्ड हटाउन आदेश दिने जानकारी दिएका छन ्।
पछिल्लो समय आफ्ना कम्पनीको विज्ञापन गर्ने होडबाजी चलेको छ । कुनै कम्पनीले नयाँ सामान बजारमा भित्र्याउनेबित्तिकै होस् वा कुनै नयाँ होटल खुल्नेबित्तिकै ठूला–ठूला पोष्टरमा सडकको दायाँबायाँ र घरको छत छोप्ने गरी होर्डिङ बोर्ड झुण्ड्याउने प्रवृत्ति बढेको छ ।
व्यावसायिक कारोबारमा प्रतिस्पर्धा गर्न जथाभावी सडकका छेउमा राखेका विज्ञापनको होर्डिङ बोर्डले दुर्घटना समेत निम्त्याउने गरेको छ ।