बिराटनगरः आइतबार प्रदेश एक संसद्मा प्रस्तुत भएको बृहत् विराट क्षेत्र विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको छलफलमा सत्तारुढ दल नेकपाकै सांसदहरुकोको मत बाझिएको छ । सरकारका तर्फबाट प्रवक्ता एवंम आन्तरिक मामिला एवंम कानुन मन्त्री हिक्मतकुमार कार्कीले प्रस्तुत गरेको विधेयक बारे सत्ता पक्षका सांसदहरूले सरकारको चियतमाथिप्रश्न उठाएका छन् ।
केही सांसदले मात्र विधेयकको स्वागत गरे पनि धेरै सांसदहरूले भने हतारमा ल्याइएको विधेयकको केही न केही भित्री ‘इन्ट्रेस्ट’ रहेको आशंका गरेका छन् ।
सांसद मोहनकुमार खड्काले सरकारले ल्याएको बृहत् विराट क्षेत्र विकासको अवधारण सरकारको बजेट वक्तव्यमा समेत नबोलेकाले सरकारले ल्याएको विधेयक अपुरो रहेको बताए । सत्तापक्षका सांसद बलबहादुर सम्सुहाङले प्राचीन विराट राज्यलाई समेट्ने गरी विकास गर्ने उद्देश्यले विधेयक ल्याइएको भए त्यो सामान्तबादको अवशेषलाई ब्युताउन खोजिएको तर्क गरे । उनले बृहत् विराट क्षेत्र विकास गर्ने भनेर १२ स्थानीय तहको विकासलाई मात्र समेटेर विधेयक ल्याउन नमिल्ने बताए ।
सांसद लक्ष्मण तिवारीले पनि सरकारले यो विधेयक लुकामारी शैलीमा ल्याएको बताए ।
यता उदयपुरको नेतृत्व गर्ने सांसद विमल कार्कीले भने विधेयकको समर्थन गरेका छन् । उनले सरकारले ल्याएको विधेयक स्वागतयोग्य रहेको बताउँदै निर्माण गरिने नयाँ सहरको लागि यसले मार्ग प्रशस्त गर्ने बताए ।
सङ्घीय समाजवादी पार्टीका नेता जयराम यादवले समेत विधेयकको समर्थन गरेका छन् । उनले विराटनगरलाई राजधानी बनाउने गरी विधेयक ल्याइएको भन्दै विधेयकको स्वागत गरेका हुन् । उनले हरेक दृष्टिकोणले विराटनगर राजधानीका लागि उत्तम रहेको भन्दै यसको विकल्प नभएको तर्क प्रस्तुत गरे ।