बेलबारीः सुन्दरहरैंचा नगरपालिकाले प्रदेश नम्बर १ को राजधानी पूर्वाञ्चल विश्वविद्यालयको प्रयोगविहीन खाली जग्गामा बनाउन आग्रह गरेको छ ।

मङ्गलबार सुन्दरहरैंचा नगरपालिकाका मेयर शिवप्रसाद ढकालले एक विज्ञप्ति नै जारी गरी प्रदेश १ को केन्द्र राजधानी तोक्ने विषयमा प्रदेश सभामा रहेकाले नगरपालिकाको वडा नम्बर ७ र ८ को गोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय भएको स्थानमा राजधानी बनाउन उपयुक्त हुने उल्लेख गरेका छन् । नेपाल सरकारको स्वामित्वमा रहेको ८ सय ५ बिघा जग्गामा विश्वविद्यालयका संरचना प्रयोगविहीन रहेको समेत उल्लेख गरिएको छ ।

मेयर ढकालद्वारा हस्ताक्षर गरिएको विज्ञप्तिमा भनिएको छ, ‘प्रदेश सरकार प्रदेशको राजधानी तोक्नका लागि पूर्वाधार भएको स्थानको खोजीमा रहेकाले गोठगाउँ उपयुक्त हुने ठहर नगरपालिकाको छ । ८ सय ५ बिघा जग्गा र संरचना रहेको गोठगाउँ क्षेत्र सोलुदेखि इलामसम्मको मध्य भागमा पर्ने भएको जनाइएको छ । पूर्वपश्चिम लोकमार्गले छोएको, व्यवस्थित ६ लेनको सडक सञ्जालद्वारा जोड्दा विराटनगर २० मिनेटमा र दमक ३० मिनेटमा पुग्न सक्ने समेत विज्ञप्तिमा जनाइएको छ ।

प्रदेश मन्त्रालय राख्न व्यवस्थित पार्किङ सहितका भवनसमेत रहेको नगर प्रमुख ढकालले विज्ञप्तिमार्फत् जानकारी गराएका छन् । यसअघि नै उत्तरी मोरङसहित अन्य केही स्थानिय तहहरूले गोठगाउँ राजधानीको लागि उपयुक्त हुने बताइसकेका छन् । ९ वटा स्थानीय तहका प्रमुखकोे बैठकबाट पूर्वाञ्चल विश्वविद्यालयको ८ सय ५० बिघा जग्गामध्ये ३ सय ५० बिघा जग्गामा प्रदेशको राजधानी राख्न समेत दिइने जनाइएको छ ।

प्रदेशको राजधानी बनाउन गोठगाउँ नै उपयुक्त भएको भन्दै प्रदेश नं. १ का मुख्य मन्त्री र मन्त्री तथा सांसदसँग उनले माग समेत गरेका छन् ।

यता, जिल्ला समन्वय समितिका सभापति नरेश पोख्रेलले भने प्रदेशको राजधानी सार्ने निर्णय गरे १ मिनेट पनि जिल्ला समन्वय समितिको भवन नदिने घोषणा गरिसकेका छन् । उनले विराटनगर नै राजधानी हुनुपर्ने अडानसमेत राखेका छन् ।