इटहरी: पूर्वी नेपालको केन्द्र भागमा पर्ने इटहरी इसाई धर्म प्रचारको हब नै भएको छ । इटहरी उपमहानगरपालिकाभर ७५ वटा साना ठुला चर्च छन् । एउटा चर्चमा २ सयको हाराहारीमा विश्वासीहरू (धर्म अनुयायी) छन् । यसरी हेर्दा इटहरीमा मात्र १५ हजार बढी इसाई धर्मावलम्बी रहेको बुझिन्छ ।
समाजसेवाको नाममा दिनानुदिन धर्म प्रचार भइरहेको छ । कोरियन सामाजिक संस्था ‘इन्टरनेशनल वी लभ फाउन्डेसन’को लोगोमा धर्मको प्रचार भइरहेको छ । जुन संस्थाकै अगुवाइमा इटहरीमा परमेश्वरको मण्डली विश्व सुसमाचार समाज (सियोन) नामको विशाल चर्चको स्थापना भएको छ । जसको माध्यमबाट धर्म प्रचार भइरहेको छ ।
केही दिन अगाडि सोही चर्चको गतिविधि मन नपरेर चर्चबाट निस्किएका अभिषेक कार्कीले धर्म प्रचारको शृङ्खला व्यापक भएको जानकारी दिए ।
इटहरी– ३ स्थित युकी चाउचाउको फ्याक्ट्री भएको पुरानो भवनमा विशाल चर्च स्थापना गरिएको छ । कार्कीका अनुसार सोही चर्चबाट पूर्वी नेपालका १६ वटा जिल्लामा धर्म प्रचार गरिन्छ । त्यति मात्रै होइन भारतको सिक्किम, दार्जिलिङ, बिहार र खाडी मुलुकसम्म इटहरीकै चर्चको नेतृत्वमा प्रचारप्रसार गरिन्छ ।
सियोनका नेपालमा मात्र १ सय ५३ वटा ठूला चर्चहरू छन् । जसमध्ये काठमाडांैको बसुन्धरामा रहेको चर्चमात्र नेपाल सरकारको जानकारीमा छ । अरु चर्चहरूको बारेमा स्थानीय प्रशासनसमेत अनभिज्ञ छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेती आफूलाई यसरी धर्म प्रचारको विषयमा कुनै जानकारी नभएको बताउँछन् । फाउण्डेसनदेखि सियोनसम्मको बारेमा उनी अनभिज्ञ देखिन्छन् । भन्छन्, ‘मलाई यस विषयमा जानकारी छैन बरु यस्तो गतिविधि भएको पाइए हामीलाई जाकारी गराउनुस् ।’
इसाई धर्मभित्र मुख्यत प्रोटेस्टेन्ट र क्याथोलिक गरी दुई सम्प्रदाय मानिन्छन् । तर पछिल्लो समय इसाई धर्म हो भन्दै प्रचार गर्ने सियोन कुनै पनि सम्प्रदायभित्र पर्दैन । युनिफिकेसन, मोर्मोन, जेओबा बिटनेस, विश्राम मन्डली, चर्च अफ क्राइस्ट लगायत अन्य धेरै समूहमा यो धर्म विभाजित भएको छ । तर हाल सबैभन्दा धेरै प्रचारको अभियानमा लागेको सियोनले भने इटहरीलाई केन्द्र बनाएर प्रचार गरिरहेको छ ।
जुन समूह इसाईहरूको छाता सङ्गठन नेपाल इसाई सङ्गठनमा समेत आबद्ध भएको पाइँदैन । सन् १९९९ बाट नेपाल प्रवेश गरेको यो समूहमा हाल २० हजार विश्वासी छन् ।
सन् २००८ मा इटहरीमा स्थापना भएको सो चर्चले पूर्वी नेपालभी ४० भन्दा बढी चर्च स्थापना गरिसकेको छ । तर कुनै पनि चर्च स्थानीय प्रशासनको जानकारीमा छैनन् । नेपालमै पहिलो पटक इटहरीबाटै प्रचार अभियान सुरु गरेको कार्कीको भनाइ छ ।
‘कोरियाली ‘जाङ गील जा’ लाई माता परमेश्वर अर्थात् ‘जेरुसेलम माता’ भनेर प्रार्थना गरिन्छ । उनले भने, ‘प्रभु येशुकी श्रीमतीका रूपमा उनको प्रार्थना हुने गरेको हो ।’
सामाजिक कार्यको लोगोमा धर्म प्रचार
इन्टरनेशनल वी लभ फाउन्डेसनले सामाजिक कार्यको अनुमति लिएको छ । सोही फाउन्डेनसको आधिकारिक वेबसाइट वी लभ फाउन्डेसन डट ओआरजीका अनुसार ६७ देशमा यसले शाखा बिस्तार गरिसकेको छ जसमा २ लाख ९१ हजार ५ सय ५३ जना सदस्य आबद्ध रहेका छन् । सन् २००१ मा स्थापना भएको सो फाउन्डेसनले शान्ति स्थापनादेखि भौतिक विकास निर्माण कार्य गर्ने गरेको छ ।
गरीब तथा कमजोर आयस्तर भएका गाउँ बस्तीमा पुगेर काम गर्ने गरेको वेबसाइटमा उल्लेख गरिएको छ । डिप्रेसन र आत्महत्याको क्षेत्रमा काम गर्ने भन्दै युवाहरूलाई इसाई धर्मप्रति आकर्षित गरेको छ ।
आमाको माया नै सबैभन्दा ठूलो हो भन्दै वृद्धाश्रम सम्म पुगेर पनि इसाई धर्मको बारेमा प्रचार गर्ने गरेका छन् । सामाजिक कार्यको नाममा यति धेरै अवैधानिक काम भइरहँदा समेत स्थानीय प्रशासन जानकारीविहीन देखिएको छ । तिनै धर्म प्रचारकले नेपालीमाथि आक्रमण गर्दासमेत प्रहरी मूकदर्शक भएको पाइएको छ । अभिषेक कार्कीका अनुसार फाउण्डेसनले शुरुमा सदस्य बनाउने र पछि धर्ममा समाहित गराउने गरेको छ ।