इटहरीः राजनीतिक दलहरूबीचको निर्वाचनमा भन्दा बढी चर्चा र खर्च हुने उद्योग वाणिज्य सङ्घ इटहरीको निर्वाचन आउन २ महिनाभन्दा बढी समय भए पनि बजारमा यसपटकको निर्वाचनमा कसलाई जिताउने भन्ने खेल शुरु भएका छन् ।
निर्वाचनताका गुलिया कुरा गर्ने र निर्वाचनपछि विजय र पराजय हुने व्यवसायीहरू आफ्ना चुनावी प्रतिबद्धता पूरा गर्न चुक्ने रोग भने ज्यूँका त्यूँ छ । आगामी असार १४ गते हुने उद्योग वाणिज्य सङ्घ इटहरीको निर्वाचनमा वर्तमान कार्य समितिका वरिष्ठ उपाध्यक्ष शैलेशकुमार बिष्ट र सदस्य भीमबहादुर पौडेल अध्यक्ष पदमा लड्दैछन् ।
निर्वाचनलाई विशुद्ध व्यवसायीहरूको मात्र बनाउन उद्योग वाणिज्य सङ्घ इटहरी चुक्ने गरेको छ । व्यवसायीहरूको मात्र निर्वाचन बनाउन जतिसुकै कोशिस गरिए पनि अहिलेसम्मको इतिहासमा राजनीतिक हस्तक्षेपको अन्त्य हुन सकेको छैन ।
विगतका निर्वाचनहरूले सो कुरालाई प्रमाणित गरिसकेका छन् । आगामी असार १४ गतेको निर्वाचनमा पनि राजनीतिक हस्तक्षेप स्पष्ट भइसकेको छ । निर्वाचनका लागि व्यवसायीहरूको उम्मेद्वारी छनोटमा पार्टीभित्रै पनि गुट÷गुटको हस्तक्षेप पनि देखिएको छ । भागबण्डामा उम्मेद्वारी छनोट भएका छन् ।
उद्योग वाणिज्य सङ्घको निर्वाचन परिणामले आउने स्थानीय, प्रदेश र सङ्घीय (तीन तह)को निर्वाचनलाई असर गर्ने बताउँदै सत्तामा रहेको नेकपा र प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेसले असार १४ गते हुने निर्वाचनमा आफ्ना पार्टीको नजिकका उद्योगी व्यवसायीहरूलाई उम्मेद्वार बनाएका हुन् । सत्तामा रहेको नेकपा र बाहिर रहेको नेपाली काङ्ग्रेसले निकै लामो छलफलपछि उम्मेद्वारहरूको नाम चयन गरेका हुन् ।
नेकपाले वर्तमान कार्यसमितिका वरिष्ठ उपाध्यक्ष शैलेशकुमार बिष्टको नेतृत्वमा उम्मेदवारहरू चयन गरिसकेको छ । उम्मेद्वारहरूलाई निर्वाचन लागिसकेको छ । कसरी हुन्छ निर्वाचनमा सफलता हात पार्ने भन्ने विषयम दिनप्रतिदिन छलफल र बहस भइरहेका छन् । पार्टीले पनि सबै खालका शक्ति लगाएर निर्वाचनको परिणाम आफ्नो पक्षमा पार्ने योजना बनाइसकेको छ ।
नेपाली काङ्ग्रेसले ३ वर्षअघि भएको उद्योग वाणिज्य सङ्घ इटहरीको निर्वाचनमा भोगेको पराजयलाई नभुली यस पटकको निर्वाचनमा विजय प्राप्त गर्ने योजनाका साथ इटहरीमा निर्वाचन माहोल बनाइरहेको छ । काङ्ग्रेसले पनि पार्टीभित्र रहेका सबै खालका गुट÷उप गुट मात्रै होइन, युवा तथा विद्यार्थी नेताहरू समेत एक स्थानमा उभ्याएर निर्वाचनमा जुट्न निर्देशन नै दिइसकेको छ । केही दिनअघि मात्र काङ्ग्रेसले उद्योग वाणिज्य सङ्घ इटहरीको निर्वाचनको सन्दर्भ पारेर इटहरीको तालतलैयामा बृहत छलफल सम्पन्न गरिसकेको छ ।
निर्वाचनमा सहभागी भएका अध्यक्षका प्रत्यासी शैलेशकुमार बिष्ट र भीमबहादुर पौडेलले भने आफू पार्टीको भन्दा पनि उद्योगी व्यवसायीहरूको साझा उम्मेद्वार भएको दाबी गर्दै आएका छन् । ३ वर्षअघि भएको उद्योग वाणिज्य सङ्घ इटहरीको निर्वाचन अघि इटहरी क्षेत्रका उद्योगी व्यवसायीहरू बीच गरेका प्रतिबद्धताहरू अधिकांश पूरा गरेको र पूरा गर्न नसकेका प्रतिबद्धताहरू पूरा गर्नका लागि आफ्नो उम्मेद्वारी घोषणा गरिएको बिष्टको भनाइ छ ।
भवन निर्माणको जिम्मेवारीमा रहेकाहरूले अधुरो छाडिएको भवन निर्माण, इटहरी उपमहानगरले बढाएको कर वैज्ञानिक रूपमा घटाउने, बहाल कर घरवालाले नै तिर्ने व्यवस्था लगायतका दर्जनौँ उत्कृष्ट कार्यहरू आफूहरूको कार्यकालमा पूरा गरिएको बिष्ट बताउँछन् ।
उद्योगी व्यवसायीहरूलाई समस्या पर्दा तत्काल पुगेर हल गर्ने, उद्योगी व्यवसायीहरूको क्षमता विकास, कर प्रणालीका विषयमा आवश्यक तालीम, महिला उद्यमीहरू वृद्धिसँगै तालीमका साथै उनीहरूलाई आम मानिसहरू बीचमा चिनाउने कार्य पनि गरिएको उनको भनाइ छ ।
शान्तिसुरक्षाका लागि सीसी क्यामेरा जडानजस्ता धेरै कार्य सम्पन्न गरिएको उनको दाबी छ । पूरा नभएका केही प्रतिबद्धताहरू अबको कार्यकालमा पूरा गर्नका लागि बार्षिक कार्ययोजनाको क्यालेण्डर नै बनाएर अगाडि बढ्ने उनले बताए । बजारमा अघिल्लो निर्वाचनमा आफूले जाहेर गरेका प्रतिबद्धतामध्ये कति पूरा गरियो र कति प्रतिबद्धता किन पूरा गर्न सकिएन भन्ने विषयमा आफू बजारमा पुगेर मतदाता माझमा नछिपाई राख्न थालिसकेको उनले बताए ।
अध्यक्षका प्रत्यासी बिष्ट भन्छन्, ‘हामीलाई कुनै पनि कुरा लुकाउनु छैन । ढाँट्नु छैन । मतदाताहरू पनि बुझ्ने हुनुहुन्छ । हामीले के वाचा पूरा गरिम् के गरिनम् भन्ने थाहा छ । को निरन्तर उद्योगी व्यवसायीहरूको पीर मर्का र दुःखसुखमा छ भन्ने नजिकबाट हेरिरहनुभएको छ । मतदाताले कामको मूल्याङ्कन गर्ने हो । यसपटकको निर्वाचनमा हाम्रो कामको सही मूल्याङ्कन हुन्छ भन्नेमा हाम्रो टिम ढुक्क छ ।’
अध्यक्ष पदका अर्का प्रत्यासी विगतका निर्वाचनमा निरन्तर विजय हुँदै आएका व्यवसायी भीमबहादुर पौडेल पनि यसपटकको निर्वाचनमा आफ्नो विजय पक्का भएको बताउँछन् । उनले भने, ‘म गुलिया आश्वासन बाँड्ने व्यक्ति होइन । म गफमा भन्दा पनि काममा बढी विश्वास गर्ने मान्छे हुँ । म यसपटक निर्वाचन जितेर काम गरेर देखाउँछु ।’ निर्वाचनको मैदानमा रहेका वर्तमान कार्यसमितिका कार्यवाहक अध्यक्ष बिष्ट सहितको समूहले अघिल्लो निर्वाचनताका जाहेर गरेका धेरै प्रतिबद्धताहरू रद्दीको टोकरीमा फ्याँकिएको उनको आरोप छ । इटहरी उपमहानगरपालिकाले आयोजना गरेको बजेट निर्माण छलफलमा सहभागी भएर कर बढाउने विषयमा सहमति जनाएर हस्ताक्षर गर्ने अनि पछि आएर कर घटाउनका लागि यस्तो गरँे उस्तो गरँे भन्दै हिँड्नु राम्रो नभएको पौडेलले बताए ।
अब मतदाताहरूले पनि झुटको खेती गर्ने र नगर्नेलाई राम्रोसँग चिन्नुपर्ने उनको भनाइ छ । आफू विजयी भएपछि योजना बनाएरै देशकै नमूनायोग्य उद्योग वाणिज्य सङ्घ बनाउन लागि पर्ने उनले बताए ।
‘मैले अहिलेसम्म इटहरी क्षेत्रका उद्योगी व्यवसायीहरूको मन दुखाउने काम गरेको छैन । सबैसँग व्यावसायिक सहकार्य र सहयोगी भावना लिएरै अगाडि बढेको मान्छे हुँ म’, उनले भने, ‘तल्लो तहबाट सङ्घर्ष गरेर व्यवसायमा स्थापित भएको व्यक्ति हुँ म । व्यवसायीहरूको पीरमर्का के हो, राज्यले के कस्तो व्यवहार गरिरहेको छ भन्नेजस्ता विषय नजिकबाट हेरिरहेको छु ।’
उद्योग वाणिज्य सङ्घको निर्वाचनमा विजयी भएपछि आफ्नो कार्यकाल पूर्ण रूपमा पूरा गरेपछि मात्र अन्य क्षेत्रमा लाग्ने उनले बताए । उनले भने, ‘अरुले जस्तो बीचमै छाडेर राजनीतिमा लाग्ने र सांसद बन्ने रहर मलाई छैन ।’
चौपट भएको इटहरी क्षेत्रको व्यवसाय र चल्दै गरेको व्यवसाय बन्द गरेर रातारात फरार हुनुपर्ने बाध्यताको अन्त्य गर्नका लागि आफूले उद्योग वाणिज्य सङ्घ इटहरीको अध्यक्ष पदमा उम्मेद्वारी दिएको उनले बताए ।
उनले अघिल्लो निर्वाचनमा बहाल करका विषयमा चर्का कुरा भए पनि निर्वाचनपछि हालको कार्यसमितिका जिम्मेवार नेताहरूको घरमा व्यवसाय गर्न नसकेर व्यवसाय छोड्नु परेको यथेष्ट प्रमाणहरू आफूहरूसँग रहेको दाबी गरे ।
बहाल कर घरधनीले तिर्नुपर्छ भनेर ठूलो स्वर बोल्ने र आफूले चाहिँ व्यवसायीहरूको ढाड सेक्ने गरि बर्सेनी कोठा भाडा बढाउनुका साथै बहाल कर पनि व्यवसायीलाई तिर्न लगाउने नेताहरूलाई व्यवसायीले चिन्नुपर्ने उनले बताए ।