पथरीः गत बैशाख ६ गते मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नम्बर १ को प्रस्तावित रङ्गशालामा आयोजित कन्सर्टमा झुमेको पथरी १२ घण्टा बित्न नपाउँदै शोक र त्रासमा रुमल्लिन पुग्यो ।

कन्सर्टमा सहभागी भएर फर्किएकी व्यवसायी महिलाको रहस्यमय मृत्युका कारण पूरै नगर शोकमा डुब्यो । शनिबार बिहानै आफ्नै डेरा अगाडिको बाटोमा नग्न अवस्थामा घोप्टो परेर मृत फेला परेकी रुपा (रीना)को शवको अवस्था हेर्दा उनको हत्या भएको जस्तो देखिन्छ ।

पूर्ण नग्न र घोप्टो परेको अवस्थामा उनको शव भेटिएको ठाउँमा ठेला पनि राखिएको थियो भने उनको दुवै खुट्टाको केही भाग ठेला भित्र पसेको थियो । खुट्टामा भने ठूलो चोट देखिएको थिएन । उनको टाउकोमा चोट देखिएको थियो । छोरासँगै कोठामा बसेकी उनको खुट्टाको पैतालामा माटो टाँसिएको थियो ।

छोराका अनुसार रातको १२ बजेसम्म आमाछोरा दुवै आ–आफ्नो मोबाइल चलाएर बसेको त्यसपछि आफूले मोबाइल चार्जमा हालेर सुते पनि आमाले भने मोबाइल चलाइरहेको र बिहान अरुले आएर आफ्नी आमाको मृत्यु भएको बताएको १३ वर्षीय छोरा बताउँछन् ।

कोठामा कपडा फुकालेर राखेको र उनले प्रयोग गर्दै आएको मोबाइल पनि कोठामा नै रहेको भेटिएको थियो । घटनास्थल पुगेको प्रहरीले भने कोठामा भेटिएको मादक पदार्थको बोतलको आधारमा मादक पदार्थ सेवनपश्चात अर्धचेत अवस्थामा छतबाट झरेर मृत्यु भएको हुन सक्ने भन्दै सोही प्रकृतिको घटनास्थलको मुचुल्का उठाएको स्थानीयको भनाइ छ ।

स्थानीय वीरबहादुर बस्नेतको घरमा डेरा गर्दै आएकी रीनाको त्यो प्रकृतिको मृत्यु देखेपछि घरधनी बस्नेतले तालीमप्राप्त कुकुर ल्याएर अनुसन्धान गर्न आग्रह गरेका थिए । प्रहरीले भने स्थानीयका हरेक भनाइलाई बेवास्ता गर्दै आएको छ ।

तेस्रो तलामा बस्ने रीनाको शव भने कोठाभन्दा लगभग ३० फुट दक्षिणमा भेटिएको थियो । उत्तर दक्षिण फर्किएको घरमा कोठाबाट दक्षिणतिर रहेको बाथरुमको सिधा तल बाटोमा उनको शव पनि उत्तर दक्षिण फर्किएको अवस्थामा फेला परेको थियो ।
यदि रीनाको लडेर मृत्यु भएको भए उनको शव पनि पूर्व–पश्चिम फर्केको हुुनुपर्ने तर त्यस्तो नरहेको स्थानीयको भनाइ छ । यता प्रहरीले भने उनको हत्या नभएको बताउँदै आएको छ ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको पोष्टमार्टम रिपोर्टलाई आधार मान्दै उनको बलात्कार भएको प्रमाण फेला नपरेको मोरङ प्रहरी प्रमुख एसपी मनोज केसीले प्रदेश पोर्टललाई जानकारी दिएका छन् ।

टेलिफोनमा कुरा गर्दै केसीले शवको ल्याब रिपोर्ट आउन केही समय लाग्ने भए पनि प्रारम्भिक रिपोर्टले टाउको र छातीमा चोट लागेको जानकारी दिएका छन् ।
प्रारम्भिक रिपोर्टले हत्या नभई माथिल्लो तलाबाट सडकमा बज्रिँदा ज्यान गएको हुन सक्ने देखिएको उनले बताए । तर उनका आफन्त, स्थानीय र सङ्घर्ष समितिका सदस्यले भने सो रिपोर्ट मान्न नसकिने बताउँदै आएका छन् ।

अस्पतालले पोष्टमार्टम रिपोर्ट दिएको तर भिसेरा रिपोर्ट आउन बाँकी रहेकाले सो रिपोर्ट आउञ्जेलसम्म आन्दोलन स्थगित गरिएको र चित्तबुझ्दो रिपोर्ट नआए जस्तोसुकै आन्दोलन गर्न पनि व्यापारी तयार रहेको सङ्घर्ष समितिकी संयोजक कविता पराजुली बताउँछिन् ।

पथरीमा यस्ता खाले रहस्यमय मृत्युका घटना १ वर्षको अवधिमा ५ ओटा भएको भन्दै सम्पूर्ण नगर नै असुरक्षित रहेको स्थानीय गणेश खड्का बताउँछन् । रीनाको न्यायको माग गर्दै अन्दोलित बनेका व्यापारी र स्थानीय सम्मिलित सङ्घर्ष समितिमा राजनीतिकरण भएको आवाज पनि उठ्न थालेको छ । तर, त्यस्ता, आधारहीन कुरा नगरी रीनाको न्यायको मागमा सबै पक्षको सहभागिता उत्तिकै रहको समितिका सह–संयोजक राजेन्द्र बस्नेत बताउछन् ।

घटना भएको रात रीनाले के गरिन् ?
उनको मृत्यु भएको रात उनी छिमेकीकोमा बर्थडे पार्टीमा गएकी थिइन् । त्यहाँ उनले डेढ गिलास बियर पिएको र त्यहाँबाट लगभग रातको १० बजे पवित्रा दाहाल र रीना कन्सर्ट हेर्न निस्केको बताइएको छ ।

कन्सर्ट हेर्न आउने क्रममा अर्की साथी हेमा खड्का पनि साथमा आएको तर हेमा कन्सर्टमा नपसेर बाहिरै बसेको र आफूहरू बाहिर आउँदा हेमा त्यहाँ नभेटिएको दाहालको भनाइ छ । त्यसपछि फोन सम्पर्क गरी बजारमा रहेको कृष्ण किराना अगाडि भेटी गफ गरिसकेपछि आफू घर आएको उनले बताइन् ।

त्यसको केही समयमा हेमा र रीना दुवै आफ्नो होटलमा आएर पानी खाएर निस्केको त्यसपछि आफूलाई केही थाहा नभएको उनको भनाइ छ ।

यता, हेमा खड्का भने रातको १० बजे आफूले सञ्चालन गर्दै आएको मम पसल बन्द गरेर घर जाने क्रममा रीनासँग बाटोमा भेट भएपछि उनकै अनुरोधमा आफू कन्सर्ट हेर्न गएको बताउँछिन् ।

आफू कन्सर्टमा नपसी बाहिरै बसेको र घर फर्किँदा बाटोमा फोन आएपछि उनीहरूलाई पर्खी केही समय गफ गरेको बताउँछिन् । रीना र आफू पवित्रा दाहालको घरमा रातको लगभग ११ बजे पुगेर पानी खाई रीनालाई उनको गेटसम्म छोडेर आफू फर्किएको र त्यसपछि केही थाहा नभएको उनको भनाइ छ ।

रातको ११ बजेसम्म आफ्ना निकटतम साथीको साथमा रहेकी उनी त्यसको ६ घण्टा बित्न नपाउँदै मृत अवस्थामा फेला परेकी थिइन् ।

सोही विषयलाई लिएर प्रदेश १ को प्रमुख प्रतिपक्ष दलका सांसदले मोरङको पथरी आसपासको क्षेत्रमा शृङ्खलाबद्ध रूपमा आपराधिक घटना भइरहेको भन्दै शान्ति सुरक्षा कायम गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रदेशसभाको बिहीबारको बैठकको विशेष समयमा काङ्ग्रेसका सचेतक सूयर्माराज राईले पथरी, कानेपोखरी आसपासको क्षेत्रमा निर्धक्क हिँडडुल गर्न नसक्ने अवस्था सिर्जना भएको भन्दै सरकारको ध्यानाकर्षण गराए ।

पथरी र आसपासको क्षेत्रमा शव भेटिने तर प्रहरीले आत्महत्या र भवितव्य भन्दै पन्छने गरेको आरोपसमेत उनले लगाए । रीनाको शवको मेडिकल रिपोर्टमा समेत उनले आपत्ति जनाएका छन् ।

सोही घटनालाई लिएर स्थानीय सरकार प्रमुख दिलीपकुमार राईको नेतृत्वमा बिहीबार विराटनगर गएको एक टोलीले सङ्घीय सरकारका गृहमन्त्री रामबहादुर थापा बादल, नेपाल प्रहरी प्रमुख सर्वेन्द्र खनाल, प्रदेशका गृहमन्त्री हिक्मतकुमार कार्कीलाई ज्ञापनपत्र बुझाएको छ ।

मेडिकल रिपोर्टको बारेमा भने नगर प्रमुख राई आफू केही पनि नबोल्ने बताउँछन् ।