इटहरी: इटहरी क्षेत्रको फोहोर उठाउने कम्पनीमा आबद्ध मजदुरहरू जोखिमपूर्ण अवस्थामा काम गर्न बाध्य छन् । जसको कारण दैनिक फोहोर सङ्कलन गर्ने कामदारहरू आफू असुरक्षित भएको गुुनासो गरिरहेका छन् ।
विगत ४ वर्षदेखि इटहरीमा फोहोर सङ्कलन गर्दै आइरहेका हर्कबहादुर नेपालीले बाध्य भएर जोखिमपूर्ण क्षेत्रमा काम गरिरहेको बताए । रुकुमको महत गाउँपालिका स्थायी घर भएका उनी रोजगारीको सिलसिलामा इटहरी आएका हुन् । उनीसँगै उनका भाइ लक्ष्मण नेपाली पनि काम गर्छन् ।
हर्कबहादुर र लक्ष्मण जस्तै १७ जना युवा इटहरीको फोहोर सङ्कलन गर्ने काम गर्छन् । जसले उनीहरूको रोजीरोटी मात्र चलेको छैन । कमाइ पनि भएको छ । तर अस्पताल र होटलबाट निस्कने सिरिन्ज र सिसामा खाली हात र खाली खुट्टा काम गर्न बाध्य छन् उनीहरू ।
४ वर्ष अघिदेखि इटहरीको फोहोर सङ्कलन गर्दै आएका बलबहादुर बिक अस्पतालको फोहोर उठाउँदा सिरिन्जले खुट्टा छेडे पनि ख्याल नगरेको बताउँछन् । रुकुमको भुमे गाउँपालिकाकाबाट इटहरी आएका उनको रोजीरोटी यही कामले चलेको छ । तर त्यसैका कारण के कस्ता रोग लाग्न सक्छन् भन्नेबारे उनी अनभिज्ञ छन् ।
अर्का युवा मेघबहादुर सुनार पनि होटलबाट निस्कने फोहोरमा फुटेको सीसा हुनाले धेरैपटक हात काट्ने गरेको सुनाउँछन् । त्यतिमात्र होइन धेरै दुर्गन्धित फोहोरका कारण छाती दुख्ने समस्या देखा पर्न थालेको उनको भनाइ छ । श्रीमती र दुई सन्तानसँग इटहरीमा बस्दै आएका उनी आफूले कमाएको पैसा जति उपचारमै खर्च हुने बताउँछन् ।
पहिल्यैदेखि आफू एपेन्डिक्सको बिरामी भएकाले अझै धेरै समस्या बढेको उनको भनाइ छ । ‘उता खान लाउनै नपुग्नी भएर एता आया हुँ । यता खाना लाउन त पायाँ छाँै, तर बिरामी परी मर्न लाग्या हाँै । क्यार्नु र,’ उनी भन्छन् ,‘पोइसा मात्र हैन पन्जा पनि दिए हुनी हो ।’
अर्का युवा श्रीमान् मगरको समस्या पनि त्यस्तै छ । रुकुममा रोजगारी नपाएर इटहरी आएका उनी काम पाएकोमा खुशी छन् । तर फोहोर सङ्कलनको काम असुरक्षित भएको महसुस हुन थालेको बताउँछन् उनी । फोहोरले हातखुट्टा काट्नेदेखि कतिपय अवस्थामा फोहोर उछिट्टिएर मुखमै पर्ने गरेको उनको अनुभव छ । तर त्यति हुँदा समेत फोहोर सङ्कलनको जिम्मा पाएको वेस्ट म्यानेजमेन्ट प्रालिले कुनै वास्ता गरेको छैन ।
इटहरी मात्र होइन पूर्वका विभिन्न शहरहरूमा पश्चिमका युवाहरू यस्तै काममा लागिरहेका छन् । नेपालको संविधानको मौलिक हक उपयोगविहीन भएपछि जीवनलाई उपयोगी बनाउने विकल्प रोजेका छन् उनीहरूले । त्यसै क्रममा इटहरी एक प्रमुख रोजगारको गन्तव्य बनेको छ ।
यसरी दैनिक ज्यालादारी गर्ने यस्ता युवाहरूको सुरक्षामा भने ठेकेदार कम्पनीले हेलचेक्र्याइँ गरिरहेको छ । स्वास्थ्य जोखिम बढ्दै गए पनि उनीहरू त्यस विषयमा कुरा उठाउन नसक्ने बताउँछन् । अहिले सुविधा माग्यो भने कामबाट निकालिदिने डरले केही नबोलेको बताउँछन् उनीहरू ।
इटहरीको फोहोर उठाउने जिम्मा पाएको वेस्ट म्यानेजमेन्ट प्रालिले पाएको छ । इटहरी उपमहानगरपालिकासँग भएको सम्झौताअनुसारको काम गर्नबाट कम्पनी पछि हटेको छ । कामदारको नियमित स्वास्थ्य परीक्षण गर्ने, जुत्ता, पन्जा, माक्स उपलब्ध गराउनेलगायत सम्झौतामा उल्लेख गरिएको छ । तर सम्झौताको कार्यान्वयन भने हुन सकेको छैन ।
उता, कम्पनीका अध्यक्ष मानध्वज मोक्तान पश्चिमका युवाहरू काममा इमान्दार रहेको बताउँछन् । तर नियमित स्वास्थ्य परीक्षणमा भने समस्या भइरहेको उनले बताए । आफूहरूले पञ्जा र जुत्ता दिएको तर उनीहरूले नलगाउने गरेको उनको भनाइ छ । सम्झौतामा भएअनुसार पूर्ण कार्यान्वयन नभए पनि आफूहरूले सक्दो प्रयास गरेको उनी बताउँछन् ।
रुकुमबाट धेरै युवाहरू परिवारसहित इटहरी आएका छन् । महिलाहरू होटलमा दैनिक सरसफाइ गर्नेदेखि अफिस सफा गर्ने काम गरिरहेका छन् । महिलाले मासिक १५ हजार रुपैयाँसम्म कमाउँछन् । पुरुषहरूले भने ११ हजारदेखि १९ हजार रुपैयाँसम्म तलब थाप्ने गरेका छन् ।