इटहरीः पाँचथरमा निजामती सेवामा रहेका नीलहरि निरौलाले घरछेउको जनता माविमा अङेग्रेजी माध्यममा पढाइ हुने समाचार सुने ।
सरकारी विद्यालयमै अङ्ग्रेजी माध्यममा पढाइ हुने समाचार पढेका निरौलाले आफ्नी छोरीलाई बोर्डिङबाट निकालेर जनता माविमा भर्ना गर्ने निधो गरे । २ सय रुपैयाँ तिरेर इन्ट्रान्स परीक्षा दिएर नाम निकालेपछि उनकी छोरी जनता माविमा पढ्ने भइन् ।

बोर्डिङमा ३० हजार रुपैयाँमा ४ कक्षा अध्ययन गराएका उनले जनता माविमा ५ कक्षामा छोरीको पढाइ शुल्क सुनेर छक्क परे । खानेपानीले दिएको बसमा यातायात सुविधा र अतिरिक्त क्रियाकलाप पनि खासै नहुने विद्यालयले सहयोगका नाममा १९ हजार ७ सय ५० रुपैयाँ लिएको श्रीमतीमार्फत् थाहा पाएपछि उनी आश्चर्यमा परेका हुन् ।

निरौलामात्र होइन जनता माविमा अङ्ग्रेजी माध्यममा छोराछोरी पढाउने सबै अभिभावकले सहयोगस्वरूप अनिवार्य रूपमा १९ हजार ७ सय ५० तिर्नुपर्ने बाध्यता छ । सरकारले सामुदायिक विद्यालय शिक्षालाई कानुनमार्फत् पूर्ण निःशुल्क गरे पनि इटहरीको सामुदायिक विद्यालय जनता माविले भने सहयोगको नाममा पैसा उठाउन थालेको छ ।

नेपालको संविधानको धारा ३१ ले प्रत्येक नेपाली नागरिकलाई माध्यमिक तहसम्मको शिक्षा निःशुल्क पाउने हक हुनेछ भनी उल्लेख गरेको छ । संविधानको व्यवस्थालाई थप व्याख्या गर्दै शिक्षा ऐन २०२८ को दफा १६ घ मा’ नेपाल सरकारले निःशुल्क शिक्षा घोषणा गरेको विद्यालय शिक्षाका लागि सामुदायिक विद्यालयले विद्यार्थीको नाममा कुनै किसिमको शुल्क लिन पाउने छैन’ भनेर स्पस्ट व्यवस्था गरेको छ ।

विद्यालयमा अङ्ग्रेजी माध्यममा अध्ययन गर्न भर्ना भएका विद्यार्थीहरूसँग विद्यालयले कानुनविपरीत सहयोग भन्दै रकम सङ्कलन गर्न थालेको अभिभावकहरू बताउँछन् । इटहरीकै जेठो विद्यालय जनता माविले कक्षा ४ बाट कक्षा ९ सम्म अङ्ग्रेजी माध्यममा अध्ययन गर्ने विद्यार्थीहरूबाट शुल्कलाई घुमाएर सहयोगको नाममा रकम नै तोकेर लिने गरेको छ ।

विद्यालयले अङ्ग्रेजी माध्यममा पढ्न चाहने ९ सय ६ जना विद्यार्थीहरूबाट २ सय रुपैयाँ इन्ट्रान्स फिको दरले १ लाख ८१ हजार २ सय रुपैयाँ सङ्कलन गरेको थियो । तीमध्ये २ सय ४० जना विद्यार्थी कक्षा ४ देखि ९ सम्म अध्ययन गर्ने छन् ।
सहयोग बापत जनता माविले ४७ लाख ४० हजार रकम उठाउने उद्देश्य राखेको छ । बैशाख १५ गते सम्म विद्यालयले ३१ लाख १० हजार २ सय ५० रुपैयाँ सङ्कलन गरिसकेको छ । विद्यार्थी भर्ना हुन बाँकी रहेको र अझै रकम उठ्ने विद्यालयका लेखा प्रमुखले जानकारी दिए ।

प्रधानाध्यापक छत्रपति ढुङ्गेल भने स्कुलले अभिभावककै सहमतिमा सहयोगस्वरूप स्कुल चलाउन शुल्क लिएको बताउँछन् । ‘नयाँ तरिकाले अध्ययन शुरु गरेका छाँै’ ढुङ्गेलले भने, ‘व्यवस्थापन गर्न अभिभावकहरूकै सहमतिमा रकम सहयोग उठाएका हौँ ।’
‘अङ्ग्रेजी माध्यमबाट पढाइने कक्षामा २ जना सरकारी दरबन्दीका शिक्षक छन् । निजी स्रोतबाट अन्य ८ जना शिक्षकको व्यवस्थापन गर्नु पर्छ’, उनले भने, ‘ती शिक्षकका लागि सो सङ्कलित रकम खर्च गरिने हो ।’