इटहरी/ पूर्वका सेलिब्रेटी प्राध्यापक डाक्टर टङ्क न्यौपाने तीन दशक बढीको त्रिभुवन विश्वविद्यालयको प्राध्यापनबाट रिटायर्ड भएका छन् । तर, उनको दैनिक प्राज्ञिक र साहित्यिक व्यस्तता भने झनै बढेर गएको छ । ७० वर्षीय न्यौपाने अलिक भिन्न खालका छन् ।

जस्तो उनमा विश्वविद्यालयको स्थापित प्राध्यापक भएकोमा घमण्ड नगर्ने दुर्लभ बानी छ ।

उनले धनकुटाको आठपहरिया राई भाषाको अध्ययन र अनुसन्धान गरेर विद्यावारिधि गरेका छन् । राईकै लोरुहाङ भाषाको व्याकरण लेखनमा न्यौपानेले योगदान गरेका छन ।

अन्य प्राध्यापकभन्दा पृथक आत्मीयता र अध्ययनका कारणले न्यौपाने पूर्वका अधिकांश साहित्यिक, भाषिक र सामाजिक कार्यक्रमका सर्वसम्मत ‘प्रमुख अतिथि’ हुन्छन् ।

कतिसम्म भने विश्वविद्यालयबाट रिटायर्ड भएपछि न्यौपानलाई २०७३ सालमा सुनसरीमा नागरिक अभिनन्दन समेत गरिएको थियो । २०७३ भदौ तेस्रो सातामा भएको उनको अभिनन्दन इटहरी र धरानमा भएको थियो ।

पूर्वको भाषा, साहित्य र कलाको क्षेत्रमा कहलिएर नागरिक अभिनन्दन पाएका न्यौपाने राजनीतिक प्राणी पनि हुन् ।

राजनीतिक चेतकै कारण न्यौपाने पटकपटक पक्राउ परे । हिरासतमा बसे । २०२८ पछि त लगातार २ वर्ष काठमाडौंको केन्द्रीय कारागारमै रहे । २० को दशकबाटै राजनीतिक चेत विकास भएका न्यौपानेका केही रोचक र अविष्मरणीय राजनीतिक पलहरू छन् ।

टपरीले छोपेको बिपीको तस्बिर देखेर पक्राउ
नेविसंघ २०२७ सालमा प्रजातान्त्रिक धारको विद्यार्थी मञ्चको रूपमा आउनु अगाडि नै न्यौपाने विद्यार्र्थी राजनीतिमा थिए । धरानको पिण्डेश्वर क्याम्पसमा पढ्दा केदारनाथ श्रेष्ठ, छविलाल पण्डित र राजेश्वर आचार्यहरूको सङ्गतले कांग्रेस समर्थक थिए न्यौपाने ।

२०२४ सालमा त धरानबाट प्रकाशित ‘नेपाल’ नामक वार्षिक मुखपत्रको काममा बिपीलाई वनारसमा गएर भेटे न्यौपानेले । बिपीसँगको भेटघाटले न्यौपानेमा कांग्रेससँगको निकटता झनै बढायो ।
बिपीका समर्थक न्यौपानेले बिपीको फ्रेम गरेको फोटो किने । जसमा तल लेखिएको थियो, ‘प्रजातन्त्रको लागि फेरि क्रान्ति अनिवार्य छ ।’ यो तस्बिरसँगै भरत सम्सेरले लेखेको ‘श्री ५ महेन्द्रका एक सय आठ अपराधहरू’ पुस्तक पनि थियो न्यौपानेसँग । त्यही बिपीको तस्बिर र पुस्तक प्रहरी खानतलासीमा भेटेपछि न्यौपानेलाई पक्राउ गरेर विराटनगर हुँदै काठमाडौको सेन्टर जेलमा लगियो ।

पक्राउ कथा पनि रोचक छ । कुरा २०२८ कात्तिकको हो । न्यौपाने धरानकै बालिका स्कुलमा पढाउँथे । उनीमाथि प्रहरीले निगरानी गरेको र घर खानतलासी गर्ने सूचना पाए न्यौपानेले । त्यही बुझेर उनले घरमा बिपीको फ्रेम भएको तस्बिर र भरत सम्सेरको पुस्तक लुकाउन लगाए ।

रामबहादुर श्रेष्ठ नामक धरानका इन्स्पेक्टरको कमान्डमा आएको पञ्चायती प्रहरीले न्यौपानेको घरका कुनाकुना खोज्यो । केही भेटेन ।

प्रहरी जानै लाग्दा लडेको टपरी छेउ उभिएर इन्स्पेक्टर श्रेष्ठले भने, ‘सर साहै्र बाठो हुनुँदोरहेछ केही पनि भेटिएन ।’

लगत्तै न्यौपानेले भनिहाले, ‘भए पो भेट्नु सर ।’

न्यौपानेले यसो भन्दा प्रहरीको खुट्टाले टपरी हल्लायो । र टपरीसँग भेट्यो पञ्चायतले वर्जित गरेका पुस्तक र प्रचार ।

न्यौपानेलाई पक्राउ गरेर विराटनगरमा रहेका अञ्चलाधीश बलराम प्याकुरेलकहाँ लगियो । प्याकुरेलले सोधे, ‘यो बिपीको तस्बिरमा किन यस्तो लखेको यस्तो गर्न पाइँदैन पञ्चायतमा ।’

न्यौपानेले भने, ‘पञ्चायतमा पनि त सूर्यबहादुर थापा र कीर्तिनिधिका २ दल छन् । त्यो पनि त प्रजातन्त्रकै अभ्यासजस्तै २ दलीय भएन र ?’ यत्ति न्यौपानेले बोलेपछि अञ्चलाधीशले भने, ‘केटो बाठो रै’छ यसैले लेखेको रै’छ ।’ २ वर्ष कैद तोकियो । साथै २ हजार जरिवाना गरेर न्यौपाने जेल पठाइए ।

जब सूर्यबहादुर नै सेन्टर जेलमा भेटिए
धरानमा पक्राउ परेको केही समयपछि न्यौपानेलाई काठमाडौ लगियो । सेन्टर जेलमा पु¥याइएका न्यौपानेले त्यहीँ भेटे कृष्णप्रसाद भट्टराई, अर्जुननरसिंह केसी, आशाकाजी बासुकला, रामराजाप्रसाद सिंह, बोधराज उपाध्याय, जगन्नाथ आचार्य आदि ।

न्यौपाने अर्जुननरसिंह केसी र जगन्नाथ आचार्यसँगै बसे । कृष्णप्रसाद भट्टराई अर्को साइडमा बस्थे ।

जेलमा राजनीतिक कुरा गर्नै नपाइने भएकाले कविताका कुराहरू गर्थे न्यौपाने कृष्णप्रसाद भट्टराईसँग । कविता सुनाऊ भनेर कृष्णप्रसाद भट्टराईले दिने प्रतिक्रिया सम्झँदै न्यौपाने भन्छन्, ‘वाओ राम्रो लेख्नुभयो ।’

कृष्णप्रसाद भट्टराईसँगको त्यो सेन्टर जेलकै सङ्गतका कारण तत्कालीन कांग्रेसका नवप्रवेशी तथा हालका प्रदेश एक प्रमुख गोविन्द सुब्बालाई धरानको मेयरको टिकट दिन सभापतिको रूपमा सहयोग गरे ।

कांग्रेसदेखि कम्युनिष्ट नेताहरू भेटिनु जेलमा सामान्य नै थियो । तर, सेन्टर जेलमा बसेको केही समयमै भेटिए सूर्यबहादुर थापा । आफूले नै थुनेका कैदीसँगै थुनिन पुगे सूर्यबहादुर ।

किन थुनिए पञ्चायतका सूर्यबहादुर ? न्यौपाने भन्छन्, ‘सूर्यबहादुरले काठमाडौमा शरदचन्द्र शाह र ज्ञानेन्द्रको एउटा सत्ता र सिंहदरबारको अर्को सत्ता चल्छ भनेकाले कीर्तिनिधिले जेल हालेका रै’छन् ।’ उदार पञ्चायत पक्षधर थापा र अनुदार बिष्टका बीचको विवादले थापा थुनिएको न्यौपाने सम्झन्छन् ।

धनकुटाकै सूर्यबहादुर र धनकुटाकै न्यौपानेको पहिले पनि जम्काभेट भएको थियो । सेन्टर जेलमा सूर्यबहादुरले त्यही चिनजानका आधारमा न्यौपानेलाई आफू पञ्चायत विरोधी अनसन बस्ने र त्यसको समर्थन कृष्णप्रसाद भट्टराईले गर्दिनु पर्ने बताए । यही सन्देश लिएर कृष्णप्रसाद भट्टराईसँग पुग्दा पाएको जवाफ न्यौपाने अझै सम्झन्छन्, ‘गर्दिनँ समर्थन त्यो आफ्नो लागि अनसन बस्न खोज्दैछ । प्रजातन्त्रका लागि होइन ।’

२ महिना सूर्यबहादुुर पनि जेल बसे । अन्ततः २१ दिने अनसन बसेर थापा कारागारबाट मुक्त भएका न्यौपाने स्मरण गर्छन् । भन्छन्, ‘जेलमुक्त हुन अनसन बस्ने सूर्यबहादुर छुट्यो तर प्रजातन्त्र ल्याउन माग गर्ने कृष्णप्रसाद भट्टराई, रामराजाप्रसाद सिंह नेतृत्वका हामीहरू छुटेनौँ ।’

भोजपुरमा विद्या भण्डारीलाई मण्डलेबाट जोगाएको क्षण
२०३७ सालमा विद्यार्थी युनियनको चुनाव हुँदा न्यौपाने भोजपुर क्याम्पसमा पढाउँथे । प्राध्यापक डाक्टर सुरेन्द्र केसीकै सहपाठी न्यौपाने राजनीतिक रूपमा कांग्रेस भए पनि पार्टीकै टिकट भने लिएका थिएनन् । भोजपुरमा स्ववियु चुनाव भयो । अनेरास्ववियु एकातिर र कांग्रेस अनि मण्डलेहरू अर्कोतिर भएर चुनावी मैदानमा उत्रिए ।

चुनाव सकिए पनि गणक रामेश्वर थापाले लोसो गतिमा गनेकाले रात पर्दा पनि नतिजा आएको थिएन । कांग्रेस र मण्डलेहरूले हार्ने भएपछि अवरोध गर्न थाले । गणनास्थलमा न्यौपाने पुग्दा अनेरास्यवियुकी एक्ली प्रतिनिधि विद्या पाण्डे (हाल राष्ट्रपति विद्या भण्डारी) मात्रै थिइन् ।

नेविसंघ र मन्डले भने धेरै थिए । मत गन्दै गर्दा एक्कासी खुकुरी, तरबार बोकेर एक हुल गुण्डाहरू गणनास्थलमा छिरे । शिक्षकहरू सुरेन्द्र केसीहरूलाइ थुक्न र हकार्न थाले । मतपेटिका टिप्दै फाल्न थाले ।

त्यो बेला आइएमा ऐच्छिक नेपाली लिएर पढ्ने विद्या पाण्डेलाई पनि हप्कीदप्की गर्न थाले । एक्ली केटीलाइ हुल नै बाँधेर केटाहरूले कुटपिट गर्न खोजेपछि आफूले छेकेर साम्य पारेको न्यौपाने बताउँछन् ।

बिपीले नेपाल राष्ट्र होइन, प्रशासनिक इकाइ मात्रै भनेपछि....
जनमत सङ्ग्रहको बेला थियो । न्यौपाने भोजपुरमै बसेर बहुदलको पक्षमा खुलेर प्रचारमा लागे । माहोल कमजोर भए पनि एक खाले जनमत भने बहुदल पक्षीय पनि थियो । तर, चुनावकै मुखमा २०३६ मा बिपीले विवादास्पद भाषण गरे, ‘नेपाल राष्ट्र होइन प्रशासनिक इकाइ मात्रै हो ।’

उसै त पञ्चायतले कांग्रेसलाई अराष्ट्रिय तत्व भनेको अवस्था । र, त्यसमा मलजल गर्ने बिपीको पञ्चायतविरोधी विराटनगरकोे भाषण । यो कुरामा बिच्के न्यौपाने । २ दिन लाएर भोजपुरबाट विराटनगर आए । अनि बिपी निवासै पुगेर असन्तुष्टि राखे, ‘हामी यसरी प्रजातन्त्रको पछाडि लागेका छौँ तर तपाईं नेपाल राष्ट्र नै होइन भन्दिने ?’

आफ्ना धाराप्रवाह असन्तुष्टि र तर्क राखेपछि न्यौपानेले बिपीका कुरा सुने । बिपीले भने, ‘हाम्रोमा नेपाल सरकार छैन श्री ५ को सरकार मात्रै छ । नेपाली सेना छैन, शाही सेना मात्रै छ । अनि यो राष्ट्र हो कि प्रशासनिक इकाइ ?’

बिपीको तर्क चित्त बुझ्यो न्यौपानेलाई तर उनले भोजपुरमा गएर यो तर्क सुनाउँदा कसैले पत्याएनन् । जसको कारण न्यौपानेलाई थाहा छ । भन्छन्, ‘बिपीले मैले बुझ्नेगरी भनेजस्तै मैले अरुलाई बुझ्ने गरी भन्न सकिनँ ।’