उर्लाबारीः गोर्खा नेपाल जनुमक्ति मोर्चाले प्रदेश नं. १ को कुनै पनि स्थानमा बम राख्ने तयारी गरिरहेको सूचना दिने उर्लाबारीका पत्रकारलाई आइतबार प्रहरीले ९ घण्टा निगरानीमा राख्यो ।

पत्रकार श्रेष्ठले सामाजिक सञ्जालमा नाम उल्लेख गरेको पार्टीले नै आइतबार बिहान झापाको कन्काई नगरपालिका वडा नं. २ कन्काई पुलमा शंकास्पद वस्तु राख्यो । पत्रकार श्रेष्ठलाई मोर्चाका नेता भनिएका सञ्जय खरेलले सामाजिक सञ्जालमार्फत् प्रदेश नं. १ को कुनै पनि स्थानमा टाइम बम राख्न लागेको जानकारी दिएका थिए । उनले सोही जानकारी सामाजिक सञ्जालमा राखेका थिए ।

पत्रकार श्रेष्ठले शुक्रबार राती आफ्नै फेसबुक वालमा लेखेका थिए, ‘गोर्खा नेपाल जनमुक्ति मोर्चा नामको पार्टीले भोलि र पर्सीभित्रमा प्रदेश नं. १ को जुनसुकै ठाउँमा बम राख्न सक्ने जानकारीसहित केही तस्बिर मलाई म्यासेजमा पठाएको रहेछ । उद्देश्य ग्रेटर नेपालको निर्माण भनिएको छ । आएको जानकारीलाई जस्ताको तस्तै राखेको छु, प्रशासनले खोजेको खण्डमा म्यासेज आएको डिटेल बुझाउने छु ।’

बम भेटिएपछि आइतबार बिहानै प्रहरीले पत्रकार श्रेष्ठलाई बोलायो । पत्रकार श्रेष्ठसँग घटनाको बारेमा अपराध अनुसन्धान विभागको टोलीले लिखित बयान पनि लियो । प्रहरीले आइतबार बिहान ७ बजेदेखि अपराह्न्न ४ बजेसम्म इलाका प्रहरी कार्यालय उर्लाबारीमा सोधपुछका लागि भन्दै राखेको थियो ।

अपराह्न्न ४ बजे पत्रकार श्रेष्ठलाई परिवारको रोहबरमा जिम्मा लगाइएको प्रहरीले जनाएको छ । प्रहरीले भने घटनाका बारेमा सोधपुछका लागि पत्रकार श्रेष्ठलाई बोलाइएको तर पक्राउ नगरेको जनाएको छ ।

पत्रकार किशोर श्रेष्ठले शुक्रबार राति सामाजिक सञ्जालमार्फत् जानकारी गराएपछि प्रहरीले शनिबार पनि २ पटकसम्म इलाका प्रहरी कार्यालय उर्लाबारीमा बोलाएर उनीसँग सूचनाको बारेमा जानकारी लिएको थियो ।