बेलबारीः बेलबारी नगरपालिका वडा नम्बर ८ मा रहेको सिंहदेवी सामुदायिक वनमा खुला चिडियाखाना बनाइने भएको छ ।

२ सय ८० हेक्टर क्षेत्रफलमा फैलिएको सामुदायिक वनमा खुला चिडियाखाना बनाउन लागिएको हो । ‘अहिलेसम्म खुला चिडियाखाना कतै देखिएको छैन’, स्थानीय रविन थापाले भने, ‘सामुदायिक वनमा भएका जनावरको समेत संरक्षण हुन्छ । अहिले रैथाने रूपमा रहेका पशुपंक्षी तथा जनावरहरूको चोरीसिकारी समेत हँुदैन ।’

राजमार्गसँगै जोडिएको बन भएकाले पर्यटकहरू पनि प्रशस्त आउने सम्भावना भएको बताइएको छ । सो जङ्गलमा अहिले बाँदर, स्याल, जरायो, खरायो, मृग, बँदेल, बनकुखुरालगायतका पशुपंक्षी पाइन्छ । थापाका अनुसार जनावरलाई चाहिने जग्गा छुटयाएर पर्खालले घेरिने भएको छ । जङ्गलमा भएका कुनै पनि रुखहरू नकाटिने र कङ्क्रिट खालका संरचना पनि नबन्ने उनले बताए ।

बेलबारीका अधिकांश बन उपभोक्ता समूहले पछिल्लो समय पर्यटक आकर्षित गर्ने खालका संरचना बनाइरहेका छन् । नेपालसहित ६ देशका मूर्तिकारले सिर्जना सामुदायिक वनमा माछा, कछुवादेखि मानव जातिका पुर्खा जनाउने विभिन्न आकृति बनाएका थिए । अहिले तिनै आकिृत हेर्न पर्यटकहरूको घुइँचो लाग्न थालेको छ । सिर्जना सामुदायिक वन उपभोक्ता समितिको ३३ बिघा जमिनमा पार्क निर्माण भइरहेको छ ।

यस्तै, मोरङको बेलबारीमै रहेको बेतना सिमसार पछिल्लो समय चिडियाखानाको रूपमा विकास भइरहेको छ । बाँदर, बन कुखुरा, अजिङ्गर, नीलगाई, लगायतका धेरै पशुपंक्षी त्यहाँ हेर्न पाइन्छ । दैनिक ५ सयभन्दा बढी पर्यटक आउने गरेको बेतना सिमसार सामुदायिक बन उपभोक्ता समितिका अध्यक्ष डम्बर बस्नेतले बताए । यस्तै, बेलबारी नगरपालिका वडा नम्बर २ मा रहेको रमिते सामुदायिक बनमा भ्युटावर निर्माण भइरहेको छ ।

नगरपालिकाले समेत चासो दिन थालेपछि पर्यटकीय क्षेत्रको विकास भइरहेको छ । सामुदायिक बन मात्रै नभई जातीय वेशभूषा र संस्कारबाट पनि पर्यटक लोभ्याउन सकिने बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले बताए ।

‘धिमाल होमस्टेको निर्माणका लागि अध्ययन भइरहेको छ,’ उनले भने, ‘बेलबारीमा आउने पर्यटकलाई दिनभर घुमफिर गर्ने गरी काम भइरहेको छ ।’ बेलबारीले डायरी तथा स्पाइरलमा समेत पर्यटकीय क्षेत्रको फोटो राख्न थालेको छ ।