सङ्खुवासभाः जिल्लाको सदरमुकाम खाँदबारीमा सरकारी र निजी क्षेत्रका गरेर ५ वटा एम्बुलेन्स सञ्चालनमा छन् । ५ वटा एम्बुलेन्स हुँदा पनि बिरामीले खोज्दा भने फेला पार्न मुस्किल पर्न थालेको छ ।
केही दिन अघि धुपुका गिरिराज पोर्तेलकी छोरी सामना पोर्तेल घरको एक तला माथिबाट झरेर घाइते भइन् । खेल्ने क्रममा उनी घरको माथिल्लो तलाबाट खसेकी थिइन् । उनको उपचार जिल्ला अस्पतालमा सम्भव नभएपछि धरान या विराटनगर लैजान चिकित्सकले सल्लाह दिए ।
त्यसपछि जिल्ला अस्पतालमा भएको एम्बुलेन्सबाट लैजाने उनले निर्णय गरे । तर, एम्बुलेन्स केही अघि दुर्घटनामा परेपछि मर्मतमा तराई लगिएको जानकारी पाए ।
गोपाल भगत मेमोरियल अस्पतालको पनि एम्बुलेन्स बिग्रिएको छ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाको एम्बुलेन्स एक वर्षदेखि बन्द छ । एम्बुलेन्स बिग्रिएपछि रेडक्रसले एम्बुलेन्स मर्मत गर्न सकेको छैन ।

खाँदबारी नगरपालिकामा भएको एम्बुलेन्स कार्यविधि नबनेका कारण त्यसै थन्किएको छ । करिब ६ महिना अघि एम्बुलेन्स आए पनि कार्यविधि नहुँदा सञ्चालनमा छैन । त्यसलाई ग्यारेजमा त्यसै राखिएको छ । घिमिरे समाज कल्याण समितिको एम्बुलेन्स पनि बिग्रिएको छ । सबै एम्बुलेन्सले सेवा दिन नसक्ने भएपछि पोर्तेलले महङ्गो भाडामा बोलेरो जिप रिजर्भ गरेर छोरीलाई उपचारका लागि लगेको बताए ।

‘एम्बुलेन्समा सबै सुविधा हुन्थ्यो’, उनले भने, ‘जीपमा काखमै बोकेर धरानसम्म उपचारका लागि लैजानुपर्¥यो । गरीबलाई जताततै समस्या छ ।’ नगरपालिकामा एम्बुलेन्स छ भनेर देखाउन मात्र खाँदबारीले राखेको उनले आरोप लगाए ।
एम्बुलेन्स कतै नभएछि बोलेरो गाडी १५ हजारमा रिजर्भ गरेर लगेको उनले बताए । खाँदबारीभित्र भएका ५ वटा एम्बुलेन्स सेवा विभिन्न कारण देखाउँदै बन्द भएको उनले बताए ।

‘कहिले सडक हिलाम्मे छ भनेर बन्द गरिन्छ, कहिले मर्मतमा छ भनिन्छ’, उनले भने, ‘हुनेखानेहरू जसरी पनि जान्छन्, विपन्नलाई ऋणको भार थपिएको छ ।’ सडक पनि कच्ची भएकाले बिरामीलाई धनकुटाको हिलेसम्म जान कठिन यात्रा गर्नुपरिरहेको छ ।
दुर्घटनापछि अस्पतालको एम्बुलेन्स मर्मतको क्रममा छ । केही दिनमै मर्मत भइसक्ने अस्पताल स्रोतले जनायो । गत वर्ष खाँदबारी नगरलाई चिनियाँ दूतावासले एम्बुलेन्स उपलब्ध गराएको थियो । एम्बुलेन्स नभएपछि अस्पतालबाट रेफर भएका बिरामीले निजी यातायातका साधन रिजर्भ गरेर लैजानुपर्ने बाध्यता छ । खाँदबारी अस्पतालबाटमात्रै दैनिक १० जना भन्दा बढी बिरामी रेफर हुने गरेको अस्पताल स्रोतले जनाएको छ ।

एम्बुलेन्स नगुडेपछि अहिले तुम्लिङटार विमानस्थलबाट बिरामी बिराटनगर तथा काठमाडौँ पठाइने गरिएको छ । यहाँ सञ्चालित बुद्ध र यति एयरले उडान थपेर बिरामीलाई सेवा दिइरहेका छन् । बुद्ध एयर तुम्लिङटारका राजीव पोखरेलका अनुसार दैनिक ३ जना भन्दा बढी बिरामी अस्पतालबाट रेफर भएर एयरपोर्ट पुग्ने गरेका छन् ।

‘ती बिरामीलाई सकेसम्म टिकट मिलाइने गरेको उनले बताए । त्यसै पनि मौसमका कारण उडानहरू अवरुद्ध हुन्छन्’, उनले भने, ‘बिरामीलाई पनि अन्तिम अवस्थामा विमानस्थल ल्याइन्छ, उनीहरूलाई अहिलेसम्म प्राथमिकतामा राखेका छौं ।’
अहिले तुम्लिङटार–काठमाडौं सातामा ३ उडान थपेर १० उडान भर्दै आएको उनले बताए । यति एयरलाइन्सले पनि सातामा ३ देखि ५ उडान थप्ने गरेको बताइएको छ ।

यसरी दिनहँु धेरै सङ्ख्यामा बिरामीहरू खाँदबारी भन्दा बाहिर पठाउनुपर्दा पनि जिल्लाको सदरमुकाममा एउटा मात्रै एम्बुलेन्स सञ्चालन नहुँदा सरोकारवाला भने मौन बसेको स्थानीयको आरोप छ ।