इटहरीः इटहरीमा असार १४ गते हुने चुनाव भनेको व्यापारीहरूको छाता सङ्गठन उद्योग वाणिज्य सङ्घ (उवा सङ्घ) इटहरीको हो । तर, यसको कम्पन र पराकम्पन हेर्ने हो भने चुनाव व्यापारीको नभई संसदको झैँ देखिन्छ ।
संसदीय वा स्थानीय तहको चुनावको झल्को दिने प्रचार, तयारी र तामझामले देखाएको छ । हाल उवा सङ्घ नेतृत्वमा वरिष्ठ उपाध्यक्षसहित कार्यवाहक अध्यक्ष भएका शैलेश विष्ट र कार्यसमिति सदस्य भीम पौडेल आगामी नेतृत्वको लागि चुनावी मैदानमा छन् । अध्यक्षसहित १९ जना चयन हुने सो चुनावका लागि आ–आफ्ना प्यानल बनाएर चुनावी चर्चा शुरु भएको छ ।
नेकपा निकट शैलेश बिष्टको प्यानल र काङ्ग्रेस निकट भीम पौडेलको प्यानलले संसदीय वा स्थानीय तहको चुनावी झल्को दिइसकेको छ । दलीय दृष्टिकोणमा उम्मेद्वारका पक्ष र विपक्षमा तर्क आएका छन् । दलीय दृष्टिकोणबाटै प्यानलै जिताउन व्यापारीबाट सहयोग (चन्दा) सङ्कलन पनि शुरु भएको छ ।
चिया पसलदेखि सञ्चार माध्यमसम्म उवा सङ्घको चुनावी दौडको तरङ्ग आएको छ । चुनावी तरङ्गले राजनीतिक दलका नेताहरूलाई पनि छोएको छ । आफ्नो दलनिकटका उम्मेद्वारको समाचार र प्रचार नेताहरू आफँैले वा आफ्ना सहायोगीहरूमार्फत् सामाजिक सञ्जालमा सेयर गरिरहेका छन् ।
आखिर किन उद्योग वाणिज्य सङ्घको चुनावी सरगर्मी र तयारीले संसदीय र स्थानीय चुनावकै झल्को दियो ? यस्ता छन् चार कारण ः
१. विगतमा उवा सङ्घ नेतृत्वले पाएको शानदार हैसियतको नजीरको लोभ
उवा सङ्घ इटहरीमा मतदाता करीब ४ हजार छन् । यसको कम्पन र पराकम्पन भने हजारौँमा पुग्छ । यसो हुनुमा उवा सङ्घ इटहरीमा यसअगाडिको दुई नेतृत्वले पाएको राजनीतिक हैसियत हो ।
जस्तै, वर्तमान अध्यक्ष लीलम बस्नेतले नेकपाबाट प्रदेश १ को प्रदेश सांसदको टिकट पाए । चुनाव जिते । संसदका शक्तिशाली केही सांसदहरूमा बस्नेत पनि दरिएका छन् । हाल उनी उवा सङ्घ इटहरीको नेतृत्वमा पाएको जनमतकै आडमा उवा सङ्घको प्रदेश उपाध्यक्ष समेत भएका छन् ।
निवर्तमान अध्यक्ष रोहित प्रसाईंको अवस्था पनि त्यस्तै छ । उनी इटहरी काङ्ग्रेसबाट गत स्थानीय चुनावमा मेयरको उम्मेद्वार बन्न पाए । हेमकर्ण पौडेलको नाम आइरहेको बेला उवा सङ्घकै जनमत र राजनीतिक लबिङले प्रसाईंले नेकपाको गढ मानिएको इटहरीमा २ हजार ७ सय हाराहारीको फरक मतले चुनाव हारे ।
२० वडामा २ हजार ७ सय मतको फरकमा चुनाव हारेका प्रसाईंको जनमत हेमकर्ण पौडेलको भन्दा राम्रो भएको प्रदेशको संसदीय चुनावले देखायो । पपुलर भनिएका पौडेलले १२ वडामा फैलिएको सुनसरी २ (क) मा साढे ५ हजार हाराहारीको फराकिलो मतले चुनाव हारे ।
प्रसाईं मात्रै होइन उनी अगाडिका अध्यक्ष टङ्क दुलाल पनि उवा सङ्घ इटहरीको अध्यक्ष भएरै उवा सङ्घको केन्द्र र प्रदेशमा नोटेड नेता बने । यी केही नजीरहरूले इटहरीको उवा सङ्घको अध्यक्ष बन्नु भनेको उपमहानगरको मात्रै नभएर प्रदेशदेखि केन्द्रमा उवा सङ्घको नेतृत्वमा पुग्न सक्नु हो भन्ने देखाएको छ । स्थानीय चुनावदेखि संसदीय चुनावमा नेकपादेखि नेपाली काङ्ग्रेस दुवैले उवा सङ्घमा अध्यक्ष भएकाहरूलाई पत्याएको देखिन्छ ।
एमालेको बलियो पृष्ठभूमिबाट आएका शैलेश बिष्ट र काङ्ग्रेसको सक्रिय कार्यकर्ता हुँदै मोरङ क्षेत्र नम्बर १ को प्रदेश समानुपातिक सांसदको उम्मेदवारका आकाङ्क्षीसमेत भएका भीम पौडेल अध्यक्ष बन्न चाहन्छन् । राजनीतिक रूपमा कम सक्रिय बिष्टलाई भोलिको राजनीतिक प्रोफाइल बनाउने बाटो उवासङ्घ नेतृत्वले दिनेछ ।
यस्तै, मोरङमा ‘पोलिटिकल स्पेस’ खोजे पनि धेरै हाइप्रोफाइल नेताहरूको भीडमा राजनीतिक लाभको पद नभएका पौडेललाई इटहरीमा तत्काल स्थापित हुने बाटो उवा सङ्घ अध्यक्ष भएमा मिल्नेछ । कतिपयले रोहित प्रसाईंको राजनीतिक स्पेस भीम पौडेलले लिने भन्दै चर्चा पनि शुरु गरेका छन् । त्यसैले दुवै उम्मेदवार जोडतोडका साथ चुनावी मैदानमा छन् ।
२. नेकपालाई ‘साइजमा’ ल्याउने काङ्ग्रेसको चाहना
इटहरीका मेयर नेकपाका छन् । दुवै प्रदेशका सांसद नेकपाकै छन् । इटहरीका अन्य सामाजिक संस्थाहरूमा पनि अधिकांश स्थानमा नेकपाको बोलवाला छ । यो कुरालाई टक्कर दिने लक्ष्यमा नेपाली काङ्ग्रेस नेतृत्व छ । नेकपालाई साइजमा ल्याउने उसको उद्देश्य छ ।
चिया गफका तर्कदेखि अनौपचारिक रूपमा नेपाली काङ्ग्रेसका स्थानीय नेता तथा कार्यकर्तासँगको कुराकानीले यो मनशाय प्रष्ट देखाउँछ । आगामी उवा सङ्घको चुनावमा एकपक्षीय जीत ल्याउन नसकेमा अधिकांश स्थानमा जित्ने नेपाली काङ्ग्रेसको उद्देश्य देखिन्छ ।
यही राजनीतिक उद्देश्यसहितको चुनाव भएकाले उवा सङ्घको चुनाव उवा सङ्घको जस्तो देखिएको छैन । इटहरीमा भन्दा अगाडि धरानमा हुँदैछ सुनसरी उद्योग वाणिज्य सङ्घको चुनाव । चर्चा र हल्ला भने इटहरीको चुनावले धेरै पाएको छ । यसो हुनुमा राजनीतिक प्रतिष्पर्धा मुख्य हो ।
३. उवा सङ्घमा डेमोक्र्याटको गिरेको साख उकास्ने लक्ष्य
इटहरीमा पूर्व एमालेको दबदबा धेरै क्षेत्रमा थियो । तर, उवा सङ्घमा भने नेपाली काङ्ग्रेस समर्थित डेमोक्र्याट व्यापारीहरूको एकछत्र थियो । यो दबदबा गत चुनावमा लीलम बस्नेतले भत्काए ।
डेमोक्र्याटिक प्यानलका ईश्वरी पराजुलीलाई करिब साढे ४ सय मतअन्तरले पराजित गरे । पराजुलीले १ हजार ३ सय ५ मत ल्याउँदा बस्नेतले १ हजार ८ सय ५० मत ल्याएर उवा सङ्घ इटहरीमा डेमोक्र्याटिक किल्ला तोडेका थिए ।
बस्नेत आफूले मात्रै जितेनन्, उनीसँगै दुइ तिहाई बढी सदस्यहरू वामपन्थी कित्ताबाट उवा सङ्घ इटहरीको नेतृत्वमा पुगे । यो विषयले सधैँ जित्दै आएका डेमोक्र्याटिक कित्तालाई मनोवैज्ञानिक रूपमा कमजोर बनाएको छ । यो चुनावमा गुमेको शाख फर्काउन जित्नैपर्ने उद्देश्य बोकेका डेमोक्र्याटिक प्यानल र जसरी पनि हालको नेतृत्वकै कित्ताको नेतृत्व ल्याउन चाहने वामपन्थी प्यानलको कारणले यो चुनावी चर्चा चुलिएको छ ।
४. नक्कली व्यवसायीको बिगबिगी र ‘धनी’ उम्मेद्वारहरूको प्रतिष्पर्धा
इटहरी उद्योग वाणिज्य सङ्घको चुनाव आउनुभन्दा धेरै अगाडिबाट चर्चा हुनुको पछाडि नक्कली व्यापारीको विषय पनि एउटा कारण हो । प्यान दर्ता गरेर कुनै कागजी व्यवसाय देखाएमा उवा सङ्घ इटहरीमा दर्ता हुन पाइन्छ । व्यवसाय कागजमा मात्रै हो कि वास्तवमा फिल्डमै हो भनेर हेर्ने कुनै परिपाटी पनि छैन । त्यसैले दर्ता हुन सहज छ । यसरी दर्ता भएकाहरूले भोट गर्न पाउँछन् ।
चुनाव नजिकिएसँगै यस्ता नक्कली अथवा कागजी व्यापारीहरू बढेका छन् । अरुको पैसामा व्यवसाय दर्ता गरेर भोटर बन्न पाएका उनीहरूलाई चुनाव धेरै लागेको छ । उनीहरू नै सबैभन्दा धेरै आफ्नो पक्षका उम्मेद्वारहरूको प्रचारमा छन् ।
नक्कली व्यवसायीबाहेक यस पटक उम्मेद्वार बनेका भीम पौडेलका कारण पनि यो चुनाव चर्चामा छ । क्रसर, नुन ढुवानीदेखि विभिन्न व्यवसायमा हात हालेका पौडेल अहिलेसम्मकै धनाढ्य व्यापारी उम्मेद्वारको रूपमा बजारमा चर्चामा छन् ।
व्यापारीको सर्कलमा सबैभन्दा परिचित इटहरीका रैथाने बिष्ट वा सबैभन्दा धनी व्यापारी मानिएका पौडेल कसले चुनाव जित्लान् भन्ने आँकलन गर्नेहरूका कारण पनि यो चुनाव धेरै चर्चामा छ ।