इटहरीः सुन्दरहरँैचाकी बबिता चौधरीले यही बैशाख २३ गते इटहरीबाट मोबाइल हराइन् । मोबाइलको ईएमआईई नम्बर लिएर उनले मोबाइल हराएको जानकारी इलाका प्रहरी कार्यालय इटहरीलाई गराइन् । सामान्य औपचारिक प्रक्रिया पूरा गरेकी चौधरीले उजुरी गरेको १५ दिन नपुग्दै मोबाइल भेटिएको खबर आयो ।

इटहरी–४ निवासी इटहरीका शैक्षिक उद्यमी पुष्प अधिकारीको एमआई फाइभ प्लस मोबाइल माघ अन्तिम साता हरायो । अधिकारीले इलाका प्रहरीलाई उजुरी गरे । शनिबार अधिकारीले पनि मोबाइल प्राप्त गरे । इटहरीको अल इलेक्ट्रोनिक्समा पढ्ने धनकुटाका अनुस अधिकारीले पनि माघ ६ गते हराएको मोबाइल शनिबार प्राप्त गरे । सामासुङ जे टु मोबाइल हराएर चिन्तित अधिकारी शनिबार मोबाइल पाउँदा खुशी देखिए ।
सुन्दरहरैँचाकी बबिता चौधरी, इटहरीका पुष्प अधिकारी र धनकुटाका अनुस अधिकारी मात्रै होइन विभिन्न ४५ जनाको हराएको मोबाइल इलाका प्रहरी कार्यालय इटहरीको पहलमा भेटिएको छ । शनिबार मात्रै इटहरीमा २१ जनाले मोबाइल फिर्ता लिएका छन् ।

इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी समीरचन्द्र खरेलका अनुसार इलाका प्रहरी कार्यालय इटहरीका कल डिटेल्स रेकर्डर (सीडीआर) शाखा सञ्चालन भएपछि ६७ वटा उजुरी आएको छ । जसमध्ये ४५ वटा मोबाइल भेटिएको छ । अपराध अनुसन्धानको लागि मोबाइल कुराकानी सुन्न बनेको सीडीआर शाखा बैशाखबाट सञ्चालनमा आएसँगै सोही शाखाबाट हराएका मोबाइल पत्ता लाग्न थालेको डीएसपी खरेलले बताए ।

सामसुङका १७ वटा र हुवावेका १० वटा मोबाइल फेला परेकोमा सामसुङका ४ र हुवावेका ५ वटा मोबाइल बुझाइसकेको इलाका प्रहरी कार्यालय इटहरीले बताएको छ । ओप्पो र रेडएमआईका ५÷५ वटा मोबाइल फेला पारेकोमा ४ वटा ओप्पोधनी र ३ वटा रेडएमआई मोबाइल धनीले मोबाइल फिर्ता पाएका छन् । २÷२ वटा आइफोन र भिभो फेला परेर सबै सम्बन्धित व्यक्तिले बुझिसकेका छन् । यस्तैगरी, लाभाको २ सेट भेटिएकोमा १ जनाले मोबाइल बुझिसकेको प्रहरीले बताएको छ । कार्बन र जिओनीका १÷१ वटा सेट भेटिएकोमा सम्बन्धित व्याक्तिले बुझ्न बाँकी रहेको प्रहरीले जानकारी दिएको छ ।

कसरी पत्ता लाग्छ हराएको मोबाइल ?
कसैको मोबाइल हराएमा हराउनेले प्रहरीमा उजुरी दिनुपर्छ । मोबाइलमा रहेको छोटकरीमा ‘ईएमआईई’ भनिने इन्टरनेसनल मोबाइल इक्युपमेन्ट आइडेन्टी नम्बर दिएर उजुरी गर्नुपर्छ । यसरी ईएमआईई नम्बर भएको मोबाइल हराएर अर्को सिम लगाए पनि त्यो मोबाइल सेट कहाँ सञ्चालन भएको छ थाहा हुने प्रहरीको भनाइ छ । मोबाइल अफ हुँदा थाहा नहुने तर अन हुँदा भने सजिलै पत्ता लाग्ने डीएसपी खरेल बताउँछन् । ‘सिम फालेर प्रयोग गरे पनि मोबाइल अन हुने बित्तिकै मोबाइल कहाँ छ पत्ता लाउन सकिन्छ’, खरेल भन्छन्, ‘यसरी पत्ता लाएरै हामीले मोबाइल सङ्कलन गरेका हौँ ।’

बैशाखबाट विभिन्न ६७ वटा मोबाइल हराएका केस आएकोमा ४५ वटा सङ्कलन भइसकेको खरेलले बताए । इटहरीबाट हराएका मोबाइल सुर्खेत, नेपालगञ्ज, भोजपुर र पोखरासम्म पुगेको पाइएको खरेलले बताए । हराएको मोबाइल भेट्टाउनेलाई कारबाही नहुने तर चोरेकोमा भने चोरलाई पनि आवश्यक कारबाही हुने खरेलले बताए ।

उनले भने, ‘हामीलाई उजुुरीमा चोरी भएको छ भने चोरीको मुद्दा चलाउँछौँ । तर, हराएको भनिएको छ भने केही कारवाही चलाउँदैनौँ ।’
बैशाखदेखि हराएका ६७ मोबाइलका केसहरूमा ३ वटा मात्रै चोरीको आएको र बाँकी सबै हराएको भनेर उजुरी आएको डीएसपी खरेलले बताए ।