इलामः लमतन्न परेर बसेको हरियो कार्पेटझैँ लाग्ने इलामको चियाबारीको नागबेली सडकमा माउन्टेन बाइक दौडाउँदै धरानका अभिषेक मादेन लिम्बूले आधा घण्टामै १० किलोमिटर पार गरे ।
हुस्सुले छपक्क छोपेको कन्याम हुँदै फिक्कल आइपुग्न १ घण्टा लाग्ने अनुमान गरिएको थियो तर उनी चाँडै फिक्कलमा पारिलो घाम ताप्न आइपुगे । अरु ८० भन्दा बढी साइकलयात्रीले अभिषेकलाई पछ्याइरहेका थिए । टाउकोमा गो–प्रो जडित हेलमेट, हातमा पञ्जा, आँखामा गगल्स लगाएका अत्याधुनिक साइकलसहितका साइकलयात्रीको भीडलले कुनै प्रतिष्पर्धाजस्तो देखिन्थ्यो ।
तर, त्यो प्रतिष्पर्धा नभई अवसर थियो । भिजिट नेपाल २०२० लाई लक्षित गरेर आयोजित साइकल यात्रा थियो । जहाँ प्रतिष्पर्धा नभएर सहकार्य थियो । हरेक शनिबार धार्मिक भक्तजनको घुइँचो रहने कुटीडाँडाबाट यात्रा शुरु भयो । पहाडमा साइकल बिरलै मात्र देखिन्छ तर दर्जनौंको सङ्ख्यामा माउन्टेन बाइक देखेपछि स्थानीयले सडकमा लाम लागेर दृश्य हेरे । पल्सर बाइकभन्दा महङ्गा माउन्टेन बाइक मेची राजमार्गमा दौडिए ।
पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले शुरु भएको यात्रामा काठमाडौंका ६५ सहित झापा, सुनसरीलगायतका क्षेत्रबाट ८५ जना इलाम आएका थिए । ‘साइकल चलाऔँ, स्वस्थ रहौँ’ नाराका साथ शुरु भएको साइकल यात्रा पहिलो दिन पर्यटकीय क्षेत्र हाँसपोखरीबाट शुरु भई कन्याम– फिक्कल हुँदै इलाम सदरमुकाम पुगेको थियो ।
साइकलयात्रीलाई स्थानीय बासिन्दा र जनप्रतिनिधिले स्वागत गरेका थिए । झापाको शनिश्चरेका साइकलयात्री योगेन्द्र थापाको पहलमा देशका विभिन्न भागका साइकलयात्री इलाममा थिए । ९ बजे शुरु भएको यात्रा फिक्कल आइपुग्न १ घण्टा बढीको अनुमान गरिएको थियो । तर अनुकूल चिसो मौसम भएपछि झन्डै १० किलोमिटर दूरी आधा घण्टामै उनीहरूले छिचोले ।
छिनछिनमा परिवर्तन भइरहने मौसम र चिया बगानलाई चिरेको नागबेली सडक ‘साइकल टुरिजम’को उत्कृष्ट गन्तव्य बन्न सक्ने थापा बताउँछन् । ‘छिनभरमा परिर्वतन हुने मौसम, एकनासको बाटो, चिया बगान र मनोरम दृश्यले कसको मन नलोभ्याउला र,’ साइकल राइडर्स थापाले भने ।
साइकलयात्रीलाई सूर्योदय नगरपालिकाले बिहानको खानाको बन्दोबस्त गरेको थियो । साइकलयात्रीको टोली आइतबार इलाम बजार भएर माईखोला–दानाबारी हुँदै बिर्तामोड झर्नेछ । प्रदेश नं १ साइक्लिङको उत्कृष्ट गन्तव्य रहेको धरानका साइक्लिङ अभियन्ता राजन लिम्बू बताउँछन् ।
धरानबाट धनकुटा भेडेटार, राजारानी हुँदै पाँचथरको राँके बजारबाट इलाम –माइपोखरी हुँदै सन्दकपुरसम्म साइक्लिङ गर्न सकिने उनी बताउँछन् । उक्त क्षेत्रमा ५ दिनको यात्राको प्याकेज रहने छ । साइक्लिङबाट पूर्वका अधिकांश सुन्दर स्थलको अवलोकन गर्न सकिन्छ भने पूर्वी नेपाल र भारतका अधिकांश हिमालय पर्वतको अवलोकन गर्न सकिने सम्भावना रहेको बताइएको छ ।
६ वर्षअघि विश्व साइकलयात्री पुष्कर शाहको नेतृत्वमा ८ जनाको टोलीले दार्चुलाबाट ४५ दिनको यात्रा गर्दै इलामको पशुपतिनगरमा साइकलयात्रा सम्पन्न गरेको थियो । पर्यटन प्रवद्र्धनका लागि हिमाली क्षेत्रमा साइक्लिङको राम्रो सम्भावना रहेकाले त्यसतर्फ ध्यान दिन उनले आग्रह गरेका थिए । ३ वर्षअघि पनि उनले ‘टुर डे इलाम’ नाम दिइएको पर्यटन यात्रा पाँचथरको लेक गाउँ, बुधबारे, राजारानीदेखि भेडेटार हुँदै धरानसम्म गरेका थिए ।
साइकलयात्रीको उत्साहलाई देखेर साइकल टुरिजमको विकासमा जनप्रतिनिधिहरू सकारात्मक देखिएका छन् । साइकलयात्रामा सहभागी रोङ गाउँपालिकाका प्रवक्ता मणिकुमार स्याङबो सुवासले गाउँपालिकाको पाथीभरा मन्दिरबाट झापाको काँकडभिट्टासम्म साइक्लिङ ट्रेल बनाउन पहल गर्ने बताए । उनले कुटीडाँडाबाट गिद्धेभीर, हल्लने ढुङ्गा, तारेभीर, सलकपुर, निन्दासम्म गुराँसको वन संरक्षण गर्न साइकल ट्रेल बनाउन पहल गर्ने प्रतिबद्धता गरे । त्यसैगरी, सूर्योदय नगरपालिका वडा नं १० का अध्यक्ष पेमा उगेन लामाले पर्यटकीय नगरी सूर्योदयमा नयाँ पर्यटनको सम्भावना खोजी गर्दै साइक्लिङको बारेमा अध्ययन गरिने बताए ।