इटहरीः इटहरीमा रहेको डिभिएम (नेपाल दयानन्द वैदिक मिसन) स्कुलले चर्चेको जग्गा सार्वजनिक भएको भन्दै इटहरी उपमहानगरपालिकाका मेयर द्धारिकलाल चौधरीले भत्काउने चेतावनी दिएका छन् । आज कार्यालयमा पत्रकार सम्मेलन गर्दै चौधरीले अन्तिम पटक विद्यालय पक्षलाई वार्तामा बोलाए पनि विद्यालय पक्षले अटेर गरेको बताए । भोलि बिहान ६बजे डोजर लिएर आफै जाने समेत जानकारी दिए ।

यस अघि उक्त जग्गामा जनता पार्क बनाउने गरी मुख्यमन्त्री शेर धन राई आउने निश्चित भए पनि विवादित जग्गा रहेको भन्दै राई आएका थिएनन् । ९५ वर्षीय वृद्धबाट शिलन्यास गरिएको उक्त पार्कको काम अघि बढ्न नसकेको भन्दै मेयरको चौतर्फी आलोचना भएको थियो । यस बिचमा आफूले उक्त जग्गाको विषयमा बुझ्नुपर्ने जति सम्पूर्ण ठाउँबाट जानकारी लिएको भन्दै आफू बलियो प्रमाण लिएर उभिएको तर्क पेस गरे । उनले भने ‘अब त म यकिनका साथ भन्न सक्छु कि यो सरासर सरकारी जग्गाअतिक्रमणको नियत हो ।’

उनले यस अघि वडा अध्यक्ष भुुपेन्द्र बरालको संयोजकत्वमा जग्गा छानबिन समिति नै बताएको भन्दै नगरपालिकाले विद्यालय पक्षलाई प्रशस्त समय दिएको जिकिर गरे । ‘त्यहाँ रहेका विद्यार्थीका बारेमा हामी पनि चिन्तित छौँ, वहाँहरूले हेलचेक्राइ गरेर अटेर गरी बसिरहनुुभएको छ । वहाँहरूले विद्यार्थीको भविष्यमा खेलबाड गरिरहनुभएको छ ।’ मेयर चौधरीले भने ।

उनले आज अन्तिम पटक आफैले टेलिफोन गरेर वार्तामा बोलाएको जानकारी दिए । तर वार्तामा नगरपालिकाले विद्यालय क्षेत्रमा वक्रदृष्टि लगायो भन्ने लाल्छाना लगाउन अझै नछाडेको हुँदा विद्यालय सञ्चालक समिति यो विषयमा गम्भीर नभएको पुष्टिसहित आफैआफ एक्सनमा जानेगरि सम्पूर्ण तयारी गरेको पत्रकार सम्मेलनमार्फत जानकारी दिए । यस अघि उनले आफुुले विद्यालयलाई चार अप्सन दिएका समेत बताए ।

उनले दिएका अप्सनमा विद्यालय क्षेत्रमा बनेको भवन अनुसारको जग्गा सट्टापट्टा गर्ने । कि लिजमा विद्यालय चलाउने र विद्यालयको आफ्नो भवन बन्न लाग्ने समय सम्म नगरपालिकालाई भाडा तिर्ने । कि खाली गराएर जाने । यदि यसो नगरे विद्यालय क्षेत्रलाई नगरले कब्जामा लिँदै भोलि बिहान ६बजे देखि सुरक्षाकर्मीको दलबलसहित डोजर लिएर गएर सार्वजनिक जमिनमा बनेका पक्की संरचना हटाउँदै ग्रिनरी कायम गर्ने । यो सँगै जनता पार्कको कार्यलाई तीव्रता दिने ।

मेयर चौधरीले वार्ता असफल भए पनि अझै रातभरिमा विद्यालय पक्षले मिलेर जाने गरी सहमति गरेर आए नगरपालिका सकारात्मक भएको जवाफ फर्काए । भने ‘हामी विद्यालयमा भएका विद्यार्थीको भविष्यका बारेमा उति नै चिन्तित छौँ । तर सञ्चालकहरूले हठ त्यागेर के उपाय लगाउँदा हुन्छ त्यो सोच्नुुपर्यो ।’