इटहरीः गाउँमा क्रसरको पीडा त भनिसाध्य छैन । गाउँ नै उत्रिएर आन्दोलनमा लागेको लामो समय बित्यो । गाउँ घेर्नेगरी स्थापना गरिएका पाँच क्रसरले गाउँलेको चैन खोसेको छ । त्यो भन्दा ठूलो चैन खोसेको छ उर्लाबारी– १ की मीना कार्कीको ।
२५ वर्षीय श्रीमान्ले घरनजिकैको क्रसरमा जागिर पाएका थिए । उनका साथीहरूका श्रीमान् कामको खोजीमा विदेश पलायन भएको उनलाई थाहा छ । आँगनछेउमै श्रीमान्ले राम्रो जागि पाएपछि मीना हर्षित थिइन् ।
तर, उनको यो खुुशी धरै दिन टिक्न पाएन । एक दिन सदाझैँ काम गर्दागर्दै श्रीमान् हरिका २ औँला मेसिनले छिनायो । युवा अवस्थामै दाहिने हातका औँला गुुमाएपछि उनी विक्षिप्त बनिन् । श्रीमान्लाई न्याय दिलाउन क्रसर सञ्चालकसमक्ष गुहार मागिन् ।
सामान्य उपचारका लागि केही रकमको जोहो गरिदिए पनि अहिले उनलाई काम दिन इन्कार गरिएको छ । जबकि त्यही उद्योगमा काम गर्दा उनले जिन्दगीभरका लागि २ औँला गुुमाएका हुन् ।
गत साल पुुस १२ गतेको यो घटना सम्झिँदै पीडित हरि भन्छन्, ‘मैले क्षतिपूर्ति दिनुस्, काम पनि सक्ने जति दिनुस् गर्छुु भन्दा ममाथि कुटपिटसमेत भयो । मैले न्याय पाइनँ ।’ उनीजस्ता गाउँका युवाले गाउँभित्र छिरेको क्रसरको सुरक्षाका लागि पनि खबरदारी गरे । ‘पहिले साहुुका लागि आफ्नै गाउँलेसँग जुुधियो, अहिले आफूलाई पर्दा सहयोग माग्न पनि लाज लाग्छ,’ उनले दुखेसो पोखे ।
उनले न्यायका लागि वडा कार्यालयमा निवेदन हालेका छन् । वडाध्यक्षले न्यायका लागि पहल गर्ने आश्वासन पनि दिएको बताए ।
कार्कीका अनुसार उनी काम गर्ने क्रसर उद्योगव पूर्वाञ्चल क्रसर उद्योग हो । त्यहाँ आबद्ध सञ्चालकमध्ये मुुख्य सञ्चालक गोविन्द भट्टराईले उनलाई हातपात समेत गर्न लगाएका हुन् । पहिले तिनै भट्टराईले क्रसर चलाउन गाउँलेको सहयोग लिए पनि अहिले आपत पर्दा वास्ता नगरेको पीडित हरिले बताए । जागिर माग्दा उल्टै धम्की आएको समेत गुुनासो गरे ।
यता क्रसर सञ्चालक भट्टराईले भने उनको आफ्नै हेलचेक्र्याइँले दुुर्घटना भएको प्रतिक्रिया दिए । ‘वहाँलाई सक्ने काम मात्र गर्न लगाएका थियौँ । बढी जान्ने भएर मेसिन चलाउनुुभएछ । अनि औँला काटियो,’ उनले भने ।
उनका अनुसार औँला गुमेपछि कम्पनीले उपचारको सम्पूर्ण प्रबन्ध गरिदिएको थियो । जागिरमा आउन बोलाउँदा उनले नसक्ने र क्षमताले नभ्याएको काम मागेपछि नदिएको भट्टराईले स्वीकारे । भने, ‘मैले आएर सक्दो काम गर्नुु भनेको हुँ । उल्टै १० लाख रुपैयाँ क्षतिपूर्ति मागेपछि दिन नसकेका हौँ ।’
अहिले उर्लाबारी १ का करीब ४ सय घरधुरी पूर्वेली क्ररसहितका ५ क्रसरले निम्त्याएको असरका विरुद्ध आन्दोलनमा उत्रिएका छन् । क्रसर बन्द गराएर आन्दोलनमा होमिएका सर्वसाधारण विगत ५० दिनदेखि रिले अनसन बसेका छन् ।
उनीहरू कि बस्ती सार्नुुपर्ने कि क्रसर हटाउनुपर्ने २ सूत्रीय माग राखेर आन्दोलनमा होमिएका छन् । मापदण्ड विपरीत सञ्चालनमा आएका यस्ता उद्योगलाई बस्ती, खेतीयोग्य जमिन र विद्यालय क्षेत्रभित्र राखिएको भन्दै स्थानीय आन्दोलित बनेका हुन् ।