इटहरी/ धरानको फोहोर विसर्जन हुन्छ सेउती खोला किनारको जंगल क्षेत्रमा । खहरे सेउती खोलाको किनारको फोहोर बर्खामा बगेर सुनसरीको रामधुनी नगरपालिका र बक्लौरी क्षेत्रमा पुग्छ । किसानले बाली लगाएको खेतमा हरेक वर्ष धरानबाट बगेर आउने बाढीले प्लास्टिक, सिसा र अन्य धेरै फोहोर ल्याएर ढाक्ने बताउँछन् हरिलाल अधिकारी ।
साबिक बक्लौरी – ७ र हाल रामधुनी नगरपालिका वडा नम्बर २ का यी वृद्ध किसान हरेक समय धान रोपेपछि आउने बाढीले धानभन्दा फोहोर धेरै थुपार्ने बताउँछन् । ‘७ वर्ष अगाडिसम्म बाढी आएपछि खेत कटान हुने समस्या थियो’, सेउती खोला किनारमा २ बिगाहा खेत भएका अधिकारी भन्छन्, ‘अहिले फोहोर थुपार्ने समस्या थपिएको छ ।’
बर्खाको बाढीले खेतमा थुपारेका प्लास्टिक र सिसा निकाल्न हरेक वर्ष सकस हुने अधिकारी बताउँछन् । बक्लौरीका अधिकारी मात्रै होइन धरानको फोहोर बगेर आफ्नो खेतमा ल्याइपु¥याउँदा पूर्णप्रसाद कँडेल र बन्नु चौधरी पनि उस्तै पीडित छन् । उनीहरू सहरिया फोहोरले गाउँले किसानहरू मर्कामा परेको सुनाउँछन् ।
बर्खामा बगेर आएका फोहोर खानेपानीमा मिसिएर आफूहरू धेरै पटक बिरामी भएको किसानहरू बताउँछन् । बक्लौरीका किसान बन्नु चौधरी बाढीले फोहोर बगाएर ल्याएको महिना आफ्नो घरमा कोही न कोही बिरामी हुने गरेको बताउँछन् । भन्छन्, ‘बाढीले फोहोर मात्रै ल्याउँदैन बिराम पनि ल्याउँछ ।’ चौधरी प्रश्न गर्छन्, ‘फोहोर गर्ने धरान, दुःख पाउने बक्लौरी ?’
धरानको फोहोरले खेत भरेपछि खेत खन्दा प्लास्टिक र सिसाका बोतलका कारण तनाव हुने गरेको बक्लौरीवासी बताउँछन् । चाँडै धरानले सो फोहोर खोला किनारमा विसर्जन गर्न बन्द नगरे आफूहरू झनै मर्कामा पर्ने किसानहरूको साझा भनाइ छ ।
आफू पनि धेरैपटक धरानबाट बगेर आएको फोहोरको समयमा झाडापखाला र टाइफाइडपीडित भएको चौधरीको भनाइ छ । सेउती खोला किनार क्षेत्रमा बस्ने बक्लौरी क्षेत्रका धेरै किसानहरू पनि यसरी नै पीडित भएको स्थानीयहरू बताउँछन् । बक्लौरी गाविस हुँदैदेखि आफूहरूले पटकपटक यस सम्बन्धमा ताकेता गरे पनि समस्या समाधान नभएको किसानहरूको गुनासो छ ।
धरानमा औसतमा दैनिक ३७ टन फोहोर उत्पादन हुने धरान उपमहानगरपालिकाको एक अध्ययनले देखाएको छ । धरान उपमहानगरपालिकाको वातावरण शाखा प्रमुख भेषराज घिमिरेका अनुसार धरानमा कुहिने २२ टन फोहोर र नकुहिने १५ टन फोहोर उत्पादन हुने अध्ययनले देखाएको छ । धरानको फोहोरमा १० प्रतिशत प्लास्टिक नै हुने वातावरण शाखा प्रमुख घिमिरेको भनाइ छ ।