इटहरीः इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीलाई फौजदारी अभियोगअन्तर्गत मुद्दा चलाउन सङ्घीय सांसदहरूले माग गरेका छन् । मेयर चौधरीले पत्रकार विराट अनुपमलाई ‘नाकको हड्डी भाँचिदिन्छु’ भनेर दिएको धम्की खेदजनक रहेको भन्दै मुद्दा चलाउन माग गरिएको हो ।

सांसदद्वय सुजाता परियार र हीरा गुरुङले शून्य समयमा बोल्दै स्थानीय सरकार प्रमुखले कानुनविपरीतको अभिव्यक्ति दिएको भन्दै कारवाही गर्न माग गरेका हुन् । सांसद परियारले, ‘इटहरीको प्रमुखको हर्कत के हो ? सभामुख महोदय, करोडौं खर्च गरेर सिध्याउँछु भन्नु लोकतान्त्रिक पद्धतिभित्रै पर्छ ?’ भन्दै प्रश्न गरेकी थिइन् । लोकतान्त्रिक पद्धति मर्दै गएको यसले आभास गराएको भन्दै चौधरीलाई तत्काल कारवाही गर्न उनले माग गरिन् ।

यसैगरी, सांसद हीरा गुरुङले दुई तिहाइको दम्भमा मेयर चौधरीले पत्रकारलाई ‘नाकको हड्डी भाँच्न १ करोड छुट्याएको धम्की’ दिएको बताइन् । भनिन्, ‘यदि त्यस्तो होइन, राज्य छ भने फौजदारी अपराधअन्तर्गत कारवाही होस् ।’