इटहरीः सामाजिक विकृतिविरुद्धको अभियान कार्यक्रममा इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले बारम्बार रण्डी जिन्दावादको नारा लगाएका छन् । इटहरी–१६ लबिपुरमा आयोजना गरिएको कार्यक्रममा उनले बारम्बार रण्डी जिन्दावाद भन्दै नारा लगाएका हुन् ।

इटहरीमा पछिल्लो समय वेश्यवृत्ति बढ्दै गएको भन्दै सचेतना जगाउन आयोजना गरिएको कार्यक्रममा उनले उक्त नारा लगाएका हुन् । वडा नम्बर १६ र १७ को नागरिक समाजको संयुक्त आयोजनामा भएको कार्यक्रममा बढ्दो वेश्यावृत्ति रोक्न दबाब सिर्जना गर्ने उद्देश्यले कार्यक्रम अयोजना गरिएको थियो ।

केही दिन अघि सोही स्थानमा रहेको एक होटलमा स्कुल ड्रेसमा रहेकी १४ वर्षीया किशोरी यौनकर्मीको रूपमा भेटिएपछि यस्तो गतिविधि रोक्न पहल गरिएको स्थानीयको भनाइ थियो ।

आफ्नै घरमा होटल सञ्चालन भइरहेको कुराबाट उनले भाषणको शुरुवात गरे । पहिला केही केटाहरूलाई भाडामा दिएको घर व्यवस्थित गर्न अहिले होटललाई भाडामा दिएको उनले बताए । तर आफ्नो घरमा त्यस्तो अवाञ्छित गतिविधि भएको थाहा पाएपछि होटलको बोर्ड नै फ्याँकिदिएको उनको भनाइ छ । भाडामा बसिसकेको मान्छेलाई निकाल्नै गाह्रो भएकाले अहिले पनि होटल नै चलिरहेको उनले प्रष्ट्याए ।

‘इटहरी लबिपुर चोकलाई म भन्छु रण्डी जिन्दावाद,’ उनले भने, ‘यहाँ रण्डीको कारण कस्मेटिक पसल चल्दोरै’छ क्या ! घरभाडा पनि चल्दो रै’छ । दबाई दोकान पनि चल्दो रै’छ । मनोरन्जन गर्न रण्डी चाइया छ । घरभाडा लगाउन रण्डी चाइया छ । कण्डम बेच्न रण्डी चाइया छ । पिल्स बेच्न रण्डी चाइया छ । रण्डी जिन्दावाद !’ सोही कारण यो ठाउँमा मात्र नभई देशभर इटहरी बदनाम भएको उनले बताए ।

लबिपुर चोकमा वेश्यावृत्तिकै कारण अन्य विभिन्न पसल पनि सञ्चालन भएको तर कसैले केही नभनेको उनले बताए ।

arena tv add बारम्बार रण्डी शब्दलाई उच्चारण गर्दै जिन्दावाद भनेका मेयरले आफू खासै भाषण गर्न नजान्ने भन्दै मन्तव्य अन्त्य गरे । शुरुदेखि नै हतारमा देखिएका मेयर केही क्षण पनि नबसी आफ्नो भनाइ राख्नासाथ कार्यक्रमस्थलबाट बाहिरिए । बाहिरिने क्रममा केही महिलासमक्ष समेत उनले ‘रण्डी जिन्दावाद’ भनेका थिए । आफूहरू बसिरहेको अवस्थामा मेयर चौधरीले रण्डी जिन्दावाद भन्दै जिस्क्याएको एक महिलाले बताइन् । मेयरको यो अशोभनीय भाषण सुनेर आफूहरू लज्जित भएको उनले सुनाइन् ।

‘ठूलो मान्छेले जे भन्दा पनि हुन्छ ? कानुन छैन ?’, उनले भनिन्, ‘हामी ३ जना बसिरहेका थियाँै । रण्डी जिन्दावाद भन्दै जानुभयो ।’

उनी बोल्दै गर्दा अर्की महिलाले थपिन्, ‘उसकै घरमा रण्डी पालेको छ त त्यसो नभने के भनोस् त ।’