धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको एमबीबीएसको प्रवेश परीक्षा समितिको अध्यक्ष उपकुलपति प्राडा राजकुमार रौनियारले नै गर्ने भएका छन् ।
प्रतिष्ठानका डिन प्राडा सीबी झाको अध्यक्षतामा समिति बनाएको भन्दै रेक्टर प्राडा गुरु खनालले आपत्ति जनाएका थिए ।
रेक्टर खनालकै सहभागितामा चिकित्सा शिक्षा सेवा आयोग,प्रधानमन्त्रीको कार्यालय,स्वास्थ्य मन्त्रालय तथा शिक्षा मन्त्रालयमा रेक्टरकै अध्यक्षतामा प्रवेश परीक्षा समिति बनाउन माग गर्दै उजुरी पनि परेको थियो ।
उजुरी परेपछि शिक्षा मन्त्रालयले रेक्टरकै अध्यक्षतामा समिति बनाउनु भन्दै प्रतिष्ठानका नाममा पत्र काटेको थियो ।रेक्टर गुरु खनालले नियमविपरीत भएको आरोप लगाउँदै पूर्व माओवादी नेताको पावर लगाएर मन्त्रालयबाट पत्र लेखाएका थिए ।
के छ प्रतिष्ठानको नियम र परिपाटी
प्रतिष्ठानको नियमावलीले उपकुलपतिलाई कार्यकारी अधिकार दिएको छ । उपकुलपति प्रशासनिक तथा शैक्षिक प्रमुख रहने व्यवस्था प्रतिष्ठानको नियमावलीको परिच्छेद ६ मा उल्लेख गरिएको छ । सोही अनुसार यसअघि प्रतिष्ठानका परीक्षासम्बन्धी कार्यक्रमहरूले उपकुलपतिहरूले शिक्षाध्यक्ष (रेक्टर)लाई अध्यक्ष बनाएर परीक्षाहरू सञ्चालन गर्दै आएका थिए ।नियमावलीअनुसार उपकुलपतिले परीक्षालाई मर्यादित र निष्पक्ष बनाउन शैक्षिक क्षेत्रका योग्य व्यक्तिलाई पनि अध्यक्ष बनाउन पाउने अधिकार उपकुलपतिलाई दिएको छ ।
तर प्रतिष्ठानमा यसअघि रेक्टरलाई अध्यक्ष बनाएर परीक्षा लिइएको थियो भने पूर्व उपकुलपति प्राडा बीपी दासले आफ्नो कार्यकालको उत्तराद्र्धमा आफँै अध्यक्ष भएर परीक्षा लिएका थिए ।हालका रेक्टर गुरु खनालले प्रतिष्ठानको नियमावलीको भन्दापनि परिपाटीको कुरा गर्दै आएका छन् ।‘डिनलाई अध्यक्ष बनाएको भन्दा पनि नियम र परिपाटी मिचियो भन्ने मेरो कुरा हो’, खनालले भने ।
उपकुलपति रौनियारले डिनलाई किन अध्यक्ष बनाए ?
सन् २०१४ मा तत्कालीन उपकुलपति प्राडा बीपी दास एमबीबीएसको प्रवेश परीक्षासमितिको अध्यक्ष थिए ।त्यसबेला सबैभन्दा कम अङ्क ल्याउने ३ जना विद्यार्थीलाई नक्कली कागज बनाएर उनीहरूलाई प्रतिष्ठानमा भर्ना गरिएको थियो ।कम अङ्क ल्याएका विद्यार्थीहरूलाई स्पोन्सर कोटाको नक्कली कागजपत्र बनाएर भर्ना गरिएको रहस्य सञ्चारमाध्यमबाटै सार्वजनिक भयो ।
त्यसपछि अख्तियारमा उजुरी पुग्यो । पछि पूर्व उपकुलपति दासकै सेटिङमा ती विद्यार्थीहरूले अदालतमा मुद्दा हालेर स्टे अर्डर लिए । त्यसबेला दासको टिममा हालका रेक्टरले निकट भएर काम गरेको प्रतिष्ठान स्रोतको भनाइ छ । पूर्व उपकुलपति दासले विद्यार्थीसँग पैसाको बार्गेनिङ गरेको अडियो रेकर्ड अहिले अख्तियारको छानबिनको क्रममा छ ।
गत वर्ष रेक्टर गुरु खनालकी छोरीले पनि एमबीबीएसको प्रवेशपरीक्षा दिएकी थिइन् तर उनी सफल हुन सकिनन् । उनी यो वर्षपनि प्रवेश परीक्षामा सहभागी हुन सक्छिन् । छोरी सहभागी भएको परीक्षाको नियन्त्रण र अनुगमन गर्ने ठाउँमा खनाल रहँदा समस्या हुन सक्ने अनुमानपनि उपकुलपतिले गरेको प्रतिष्ठान स्रोतले भन्यो ।पूर्व उपकुलपति दास,रजिष्ट्रार तुलबहादुर श्रेष्ठ र रेक्टर खनाल विरुद्ध यो विषयमा अहिलेपनि अनुसन्धान चलिरहेको स्रोतको भनाइ छ ।
‘परीक्षालाई निष्पक्ष र पारदर्शी बनाउनु उपकुलपतिको जिम्मेवारी हो । त्यसैले परीक्षाको मार्यादालाई कायम राख्न कार्यकारी पदको व्यक्तिले शङ्का गर्न सक्छ,नियम अनुसार अर्को समिति बनाउन सक्छ’ स्रोत भन्छ ।
‘रेक्टर गुरु खनालको सरोकार परीक्षाको मर्यादा र निष्पक्षता हो कि आफूले जिम्मेवारी पाइनँ भन्ने हो ?आफू नै अध्यक्ष हुन खोज्नुको कारण के हो’, प्रतिष्ठानका एक प्राध्यापकले भने,‘प्रतिष्ठानभित्र जबर्जस्ती राजनीति पसाउन खोजिँदैछ यो दुर्भाग्य हो ।
कसरी आयो चिकित्सा शिक्षा सेवा आयोगको पत्र ?
गत बैशाखमै प्रतिष्ठानको नियमित शैक्षिक कार्यक्रम सञ्चालन गर्न उपकुलपतिले एमबीबीएसको प्रवेश परीक्षासमिति बनाए प्रतिष्ठाका डिन प्राडा सीबी झाको अध्यक्षतामा । त्यो समितिको अनुगमन, नियमन र सुपरीवेक्षण गर्ने जिम्मा रेक्टर प्राडा गुरु खनाललाई दिइएको थियो ।
तर खनालले आफू अध्यक्ष नभएर जुनियर मान्छेलाई अध्यक्ष बनाएको भन्दै उनले राजनीतिक वृत्तबाट प्रधानमन्त्रीको कार्यालय,स्वास्थ्य मन्त्रालय,शिक्षा मन्त्रालय र चिकित्सा शिक्षा सेवा आयोगमा उजुरी गरे । उपकुलपति रौनियारलाई पनि उनले लिखित रूपमै नियमविपरीत समिति बनाएको भन्दै पत्र दिए ।
त्यसपछि प्राडा खनालले नेकपाका नेताहरूको सहयोगमा शिक्षा मन्त्रालयबाट पत्राचार गराउने वातावरण बनाए । तर उपकुलपति रौनियारले प्राडा खनाललाई अध्यक्ष नबनाएर आफैँ अध्यक्ष बनेका छन् । रेक्टर खनाल परीक्षा समितिको सदस्य छन् ।
‘पहिले परीक्षा समितिको नियामक ठाउँमा हुनुहुन्थ्यो । अहिले समितिको सदस्यमा हुनुहुन्छ’ प्रतिष्ठानस्थित शैक्षिक विभागका एक प्राध्यापकले भने, ‘उहाँको हैसियत बढ्यो कि घट्यो आफैँ बुझ्नु हुन्छ होला ।’
‘कोमा’मा चिकित्सा शिक्षा सेवा आयोग
चिकित्सा शिक्षा ऐनको दफा १६ मा मेडिकल उच्च शिक्षामा अध्ययनका लागि भर्ना हुन चाहने व्यक्तिले चिकित्सा आयोग वा आयोगले तोकेको संस्था वा निकायले सञ्चालन गरेको प्रवेश परीक्षामा आयोगले तोकेको न्यूनतम अङ्क ल्याई उत्तीर्ण गर्नुपर्ने भन्ने उल्लेख छ ।
चिकित्सा शिक्षा ऐनमा चिकित्सा शिक्षा आयोगद्वारा प्रवेश परीक्षा केन्द्रीकृत गर्ने व्यवस्थापनि छ । तर चिकित्सा शिक्षा सेवा आयोग आफैँ कोमामा पुगेको जानकारहरू बताउँछन् । यदि आयोगले परीक्षा लिने हो भने शैक्षिक कार्यक्रमको क्यालेन्डर हेरेर तयारी गर्ने वा आवश्यक निर्देशन दिने काम पहिलेबाट नै हुनुपर्ने हो । गत वर्ष पनि आयोगकै कारण ६ महिना ढिलो गरेर प्रतिष्ठानमा कक्षा सञ्चालन भयो ।
शैक्षिक क्यालेन्डर अनुसार नियमित कार्यक्रम सञ्चालन गर्ने जिम्मेवार ठाउँलाई अनावश्यक हस्तक्षेप गर्दा शैक्षिक कार्यक्रम,शिक्षाको गुणस्तर र संस्थाको गरिमामाथि प्रश्न उठ्ने विज्ञहरूको तर्क छ । ‘आयोगको उपाध्यक्ष नियुक्ति गर्न सरकारले नै सकेको छैन,’ प्रतिष्ठानका एक प्राध्यापक प्रश्न गर्छन्, ‘अनि प्रवेश परीक्षा कसरी सञ्चालन गर्छ ?’
प्रतिष्ठानभित्रका जिम्मेवार व्यक्तिहरूले पार्टीको आडमा स्वार्थ पूरा गर्न खोज्दा संस्थाकै शाख गिर्ने अवस्थामा पुगेको उनको चिन्तन छ । ‘यति बोल्नपनि डराउनुपर्ने अवस्था छ । नाम चँै नखुलाउनु होला’, उनले सञ्चारकर्मीसँग भने ।
रेक्टरको प्रष्टीकरण
प्रतिष्ठानका रेक्टर प्राडा गुरु खनालले भने प्रतिष्ठानको सुधारका लागि आफूले कदम चालेको बताएका छन् । ‘मैले विधि र चलेको परिपाटीभन्दा बाहिर जाँदा संस्था बदनाम हुन्छ भनेको हो । म नै अध्यक्ष हुनुपर्छ भनेको होइन’, उनले भने, ‘जहाँसम्म मलाई पूर्व उपकुलपतिसँग जोडेर आरोपहरू लगाइएको छ ती काल्पनिक आरोपहरू हुन्,त्यसमा सत्यता छैन ।’