इटहरीः इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले महिलालाई अपमानजनक शब्द प्रयोग गरेको भन्दै आलोचना शुरुभएकोछ । यही असार ४ गते सामाजिक विकृतिविरुद्धको कार्यक्रममा चौधरीले प्रयोग गरेको शब्दप्रति महिलाहरूले आपत्ति जनाएका छन् ।

इटहरी उपमहानगरपालिकाको महिला सञ्जालले एक विज्ञप्ति नै जारी गरी सम्पूर्ण महिलाको शिर ठाडो नहुने अवस्था सिर्जना भएको बताएको छ । सञ्जालकी अध्यक्ष बिमला ढकालसहित २२ जना महिलाको संयुक्त हस्ताक्षर रहेको विज्ञप्तिमा सो भाषाप्रति आपत्ति जनाइएको छ । साथै मेयरको सो अभिव्यक्तिले महिलाको अस्मितामानै आँच आएको भन्दै विरोध जनाइएको छ ।

मेयरले बारम्बार विभिन्न हर्कतहरू गरिरहेकाले अब कोही पनि चुप लागेर बस्ने नमिल्ने अध्यक्ष ढकालले बताइन्् । केही दिन अगाडि पत्रकारमाथि र अहिले महिलामाथि भएको प्रहारले आफूहरूलाई चिन्तित तुल्याएको उनको भनाइ छ ।

प्रदेश सभा सदस्य बिन्दिया कार्कीले मेयरको यस अभिव्यक्तिले नारी अस्मितामा चोट पुगेको बताइन् । मेयरको उक्त अभिव्यक्तिले नेकपा पार्टीमाथि नै प्रश्न चिह्न खडा भएको भनाइ छ । उनले बारम्बार नेकपाको कार्यकर्ता हुँ भन्दै मनपरी अभिव्यक्ति दिने काम गरेकाले यसको जिम्मा पार्टीले लिनुपर्ने बताइन् ।
त्यस्तै अखिल नेपाल महिला सङ्घ सुनसरी सदस्य विष्णु भण्डारीले मेयरको शब्द खेदजनक रहेको बताइन् । यसले एक जनाको मात्र होइन सम्पूर्ण महिलाको अस्मितामाथि प्रहार भएको उनको भनाइ छ ।

नेपाली काङ्ग्रेस इटहरीका नेता रोहित प्रसाईँले मेयरले अब माफी मागेर मात्र नहुने बताए । बारम्बार गल्ती गर्दै जाने र माफी माग्दै जानेहो भने समस्याको समाधान नहुने उनको भनाइ छ । मेयर जस्तो गरिमामय पदमा बसेको मान्छेले के बोल्ने र कस्तो बोल्ने भन्ने हेक्का नहुनु लाजमर्दो भएको उनी बताउँछन् । यसले महिलालाई मात्र होइन सम्पूर्ण इटहरीवासीलाई लज्जाबोध गराएको उनले टिप्पणी गरे ।

मेयरले उक्त अभिव्यक्ति दिएको प्रत्यक्ष सुनेका महिलाले लाजले शिर निहुरिएको बताए । आफूहरू लाज थाम्न नसकेर कार्यक्रम स्थलबाट बाहिर बसेको तर मेयरले आफूहरू बसेकै स्थानमा आएर पनि त्यही शब्द दोहो¥याएको उनीहरू बताउँछन् ।

प्रत्यक्षदर्शी उमा पोखरेलका अनुसार मेयरले आफूहरू बसेकै ठाउँमा आएर पनि सोही शब्द दोहो¥याएको बताइन् । ‘मेयरजस्तो ठूलो मान्छेले बोल्ने त्यही हो,’ उनले भनिन्, ‘कि ठूलो मान्छेलाई जे बोल्न पनि छुट हुन्छ ?’

अर्की महिला रीता थापामगरले मेयर आफ्नै घरमा यौनधन्दा चल्ने गरेको आरोप लगाइन् । मेयरजस्तो पदमा बसेको मान्छेले यस्तो अभिव्यक्ति दिनु लज्जास्पद भएको तर्क गरिन् ।