धरानः चाँदनी शेख मुस्लिम महिलाहरूको पक्षमा काम गर्न चाहन्छिन् । अगाडि गएर बोल्न, विभिन्न व्यक्तिहरूसँग आफ्नो कुरा राख्न तथा सामाजिक सङ्घसंस्थाहरूमा आबद्ध भएर नेतृत्व विकास गर्ने उनको चाहना छ ।
तर आजसम्म उनले त्यसका लागि आफूलाई तयार गर्न सकेकी थिइनन् । धरान उपमहानगरपालिकाको सहयोग र अञ्जुमन इस्लामियाको आयोजनामा सञ्चालित २ दिने क्षमता विकास तालीमपछि भने उनमा अब केही गर्न सक्छु भन्ने आत्मविश्वास जागेको छ ।
भन्छिन् ‘यो तालीमले मलाई निकै हौसला दिएको छ ।’ तालीममा सहभागी आश्मा खातुन पनि मुस्लिम महिलाहरूका पक्षमा काम गर्न चाहन्छिन् । तर कसरी काम गर्ने भन्ने अन्योल उनमा पनि छ । क्षमता विकास तालीमपछि उनमा पनि आत्मविश्वास जागेको छ । ‘अब आफ्ना कुरा राख्न र अरुका कुरा सुन्न सक्ने भइयो’ उनी भन्छिन् ।
तालीमका सहभागीहरूमा निकै उत्साह र उत्सुकता भेटिएको तालीमका सहजकर्ता तीर्थ कार्की बताउँछन् । ‘धरानभित्र रहेका मुस्लिम समुदायका महिलाहरूमा सामाजिक चेतना र नेतृत्व गर्न सक्ने क्षमता देखिन्छ,’ कार्कीको भनाई छ । अञ्जुमन इस्लामियाले मुस्लिम महिलाहरूको सशक्तिकरणका लागि दुई दिने सशक्तिकरण कार्यक्रम गत मङ्गलबार शुरु गरेको थियो ।
उद्घाटन कार्यक्रमका प्रमुख अतिथि डा. खालिद हुसैन हकले मुस्लिम महिलाहरूको सशक्तिकरणका लागि ज्ञानसँगै उनीहरूलाई आर्थिक रूपमा पनि सबल बनाउनुपर्ने धारणा राखेका थिए । यसका लागि उनीहरूलाई सीपमूलक तालीम दिनुपर्ने उनको भनाइ थियो । कार्यक्रममा धरानको इञ्जिनियरिङ क्याम्पसका पूर्व क्याम्पस प्रमुख जावेद आलम र मुस्लिम सेवा समितिका अध्यक्ष वसि अहमद खानले पनि धारणा राखेका थिए ।
इस्लामियाका अध्यक्ष शेख युसुफ अलीका अनुसार अधिकारसँगै मुस्लिम महिलाहरूलाई सामाजिक दायित्वबोध गराउन कार्यक्रम आयोजना गरिएको हो ।
८० जना मुस्लिम महिला सहभागी कार्यक्रममा पहिलो दिन राजेश विद्रोही र तीर्थ कार्कीले सहजीकरण गरेका थिए भने दोस्रो दिन बुधबार वेणु काफ्ले र योगेशबाबु काफ्लेले सहजीकरण गरेका थिए । कार्यक्रम धरान–३ स्थित सरस्वती बाल आश्रमको हलमा भएको थियो ।