बेलबारीः मोरङमा भएका दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ । अलगअलग ठाउँमा भएका दुर्घटनामा परेर २ जनाको मृत्यु भएको हो ।

पथरीशनिश्चरे नगरपालिका–९ मा ट्याम्पोले साइकलयात्रीलाई ठक्कर दिँदा कानेपोखरी गाउँपालिका–६ का ६० वर्षीय कविचन्द्र बुढाथोकीको मृत्यु भएको इलाका प्रहरी कार्यालय पथरीका डीएसपी लक्ष्मीराज अधिकारीले बताए । उनका अनुसार दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको को २ ह ३६८५ नम्बरको ट्याम्पोले ठक्कर दिँदा घाइते भएका बुढाथोकीको उपचारका क्रममा नोबेल शिक्षण अस्पताल विराटनगरमा मृत्यु भएको हो ।

त्यस्तै, मोरङको बेलबारी नगरपालिका–९ मा २ दिन अघि भएको दुर्घटनामा परेर गम्भीर घाइते भएका बेलबारी–७ का ४५ वर्षीय रामचन्द्र चौधरीको मृत्यु भएको छ ।

उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको को ११ प ६६८५ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको को २८ प ५३४० नम्बरको स्कुटर मङ्गलबार एकआपसमा ठोक्किंँदा दुवै सवारी साधनका चालक घाइते भएका थिए । प्रहरीका अनुसार घाइतेमध्ये मोटरसाइकल चालक चौधरीको उपचारका क्रममा न्युरो अस्पतालमा मृत्यु भएको हो ।

स्कुटर चालक बेलबारी–११ का १८ वर्षीय फुर्वा गुरुङको न्युरो अस्पतालमै उपचार भइरहेको जानकारी प्रहरीले दिएको छ । प्रहरीले दुवै घटनाको अनुसन्धान भइरहेको जनाएको छ । मृतक चौधरी होक्लाबारी हेल्थपोष्टका सिनियर अहेब हुन् ।

khagendra bimali