सुन्दरहरैँचा: मोरङको सुन्दरहरैँचामा रहेको सुकुना बहुमुखी क्याम्पसको प्रमुखमा चन्द्रमणि राई नियुक्त भएका छन् । क्याम्पसका निवर्तमान प्रमुख लक्ष्मीकुमार श्रेष्ठले राजीनामा दिएपछि हिजो बिहीबार बसेको सञ्चालक समितिको बैठकले राईलाई प्रमुख पदमा नियुक्त गरेको हो ।
समितिको उक्त निर्णयसँगै सुकुना बहुमुखी क्याम्पसमा आज शुक्रबार एक कार्यक्रमका बिच प्रमुख राईले शपथ ग्रहण गरेको क्याम्पसले जानकारी दिएको छ । क्याम्पस प्रमुख बनेका राई यसअघि सहायक प्रमुख रहँदै आएका थिए ।
बि.सं. २०४८ सालमा स्थापना भएको उक्त क्याम्पसको पाँचौ प्रमुखको रूपमा राईले शपथ ग्रहण गरेका हुन् । स्थापना कालदेखि रामप्रसाद काफ्ले प्रमुख रहेका थिए भने त्यसपछि पीतकुमार श्रेष्ठ, प्रेमप्रसाद भट्टराई, लक्ष्मीकुमार श्रेष्ठ हुँदै आजबाट चन्द्रमणि राई क्याम्पस प्रमुखमा नियुक्त भएका हुन् ।