बेलबारीः बेलबारी नगरपालिकाले ४ ओटा विधेयक नगरसभाबाट पारित गरेको छ । १० गते नगरसभामा पेश गरेका विधेयकहरू १२ गते बसेको नगरसभाले पास गरेको हो । शिक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६ लाई नगरसभाले पारित गर्दै ऐन बनाएको हो ।

यस्तै, बेलबारी नगरपालिका आर्थिक विधेयक, नगरपालिका संस्था दर्ता विधेयक, बालमैत्री स्थानिय शासन तथा बालअधिकार संरक्षण विधेयक नगरसभाले पास गरेको छ । नगरसभाबाट पास भएका विधेयकलाई नगरपालिकाले ऐनसमेत बनाउने छ ।

यस्तै, मदन भण्डारी प्रतिष्ठान नेपाल उर्लाबारीमा अक्षयकोष स्थापना गरी शैक्षिक ऋण कार्यक्रमलाई निरन्तरता दिने नगरसभाले पास गरिसकेको छ । विगत २ वर्षदेखि नगरपालिकाले सो कार्यक्रमलाई निरन्तरता दिइरहेको जनाएको छ ।

यसपटक ५ लाख रुपैयाँ बजेट समेत विनियोजन गरेको मेयर ज्ञानेन्द्र सुवेदीले बताए । उक्त प्रतिष्ठानमा ३३ जना गरीब तथा जेहेन्दार विद्यार्थीले प्राविधिक विषय अध्ययन गरिसकेका छन् । यस्तै न्यून आय भएका नगरवासीको आयस्रोत बढाउने उद्देश्यका साथ गरीबसँग नगरपालिका कार्यक्रमलाई प्रथमिकता दिनेसमेत नगरपालिकाले जनाएको छ ।

‘यो कार्यक्रम बेलबारीका लागि नमूना कार्यक्रम हो’, मेयर सुवेदीले भने, ‘आर्थिक पहुँच न्यून भएका नगरवासीका लागि यसले प्रभाव पार्छ ।’ यही कार्यक्रममार्फत् बोयर बोका वितरणदेखि आयआर्जनसँग जोडिएर काम गर्ने मेयर सुवेदीले बताए ।

‘गरीबसँग नगरपालिका’ कार्यक्रमका लागि नगरपालिकाले २ करोड बराबरको बजेट नै विनियोजन गरेको छ । नगरपालिकाले दमकल र शव वाहन, गर्भवती महिलाको निःशुल्क गर्भपरीक्षण साथै असहाय र बेवारिशेको मृत्यु हुँदा उनीहरूको दाहसंस्कार लगायतका कार्यक्रमलाई पनि प्राथमिकता दिएको छ । बेलबारी नगरपालिकाले आर्थिक वर्ष ०७६÷०७७ का लागि १ अर्ब ९१ लाख ९० हजार रुपैयाँबराबरको बजेट विनियोजन गरिसकेको छ ।

khagendra bimali