इटहरीः इटहरीमा बुधबारबाट शुरु भएको दलित सांसदको भेलाका सहभागीले दलित समुदायमा चौतर्फी आक्रमण भएको दुखेसो गरेका छन् । २ दिने भेलामा बोल्ने दलित समुदायका सांसद तथा नेताहरूले यस्तो बताएका हुन् ।

प्रदेशसभा सदस्य जसमाया गजमेरले दलितमाथि भएका विभेदलाई नयाँ ढङ्गले प्रतिरोध हुनुपर्ने बताइन् । दलितका नाममा भएको बजेट राज्य संयन्त्रले दुरूपयोग गरेको तथा समावेशी ऐन भएर पनि कार्यान्वयन पक्ष कमजोर भएको बताइन् ।

प्रदेश सांसद उमिता बराइलीले विभेदको अन्त्य हुनलाई ऐन तथा कानुनहरूको सफल कार्यान्वयन हुनुपर्ने बताइन् । पहिलो संविधानसभाका सदस्य तथा पूर्व खेलकुद राज्यमन्त्री गोपी अछामीले दलितमाथि अमानवीय विभेद थोपरिएको बताए । जनयुद्धले नेपालमा समानुपातिक तथा समावेशी मुद्दा स्थापित भए पनि अझै पनि सामन्ती संस्कार हाबी भएको बताउँदै दलितहरू सङ्गठित भएर लड्नुपर्ने बताए ।

सांसद उमिता बराइलीले दलितले राज्यसत्ताका निर्णायक स्थान पाएमा मात्रै आफ्ना एजेन्डाहरूको सफल कार्यान्वयन गर्न दबाब बढाउन सक्ने बताइन् । ९३ जना सांसद भएको प्रदेश १ मा ३ जना दलित सांसदहरू रहेका छन् । नेकपाबाट उमिता बराइली र जसमाया गजमेर तथा नेपाली काङ्ग्रेसबाट कल्पना सरदार दलित सांसद रहेका छन् ।

khagendra bimali