इटहरीः मोरङको सुन्दरहरैंचाको वडा नम्बर ७ मा महिलालक्षित बजेटमार्फत् भएको ३ महिने एड्भान्स सिलाइकटाइ तथा गुडिया कुसन बनाउने तालीम आज समापन भएको छ ।
समापन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि सुन्दरहरैंचा नगरपालिकाका मेयर शिवप्रसाद ढकालले सीप सिकेर मात्र नहुने त्यसको सदुपयोग गर्नुपर्ने बताए । सीपलाई व्यवसायमा रुपान्तरण गर्न उनले अनुरोध गरे । ‘लक्षित समूहका लागि छुट्याएको बजेट प्रत्येक वडामा यस पटक बढाइएको छ,’ उनले भने, ‘तर त्यसको दुरुपयोग हुन भएन ।’ तालीमका कारण स्थानीय सरकार स्थानीयवासीसँग भएको अनुभूति हुने बताउँदै उनले मतदाताको मतको कदर यस्ता तालीममार्फत् जनप्रतिनिधिले गरेको बताए ।
कार्यक्रमलाई सम्बोधन गर्दै उपमेयर धनमाया तामाङले सीपसँगै अन्य व्यावहारिक ज्ञान र क्षमता पनि बिस्तार गर्नुपर्ने बताइन् । सीपसँगै संस्कारको विकास गर्न सके समाज सभ्य बन्ने उनको धारणा थियो ।
वडा नम्बर ७ का अध्यक्ष चैतन्यप्रसाद सिटौलाले लक्षित वर्गका कार्यक्रमलाई वडाले प्राथमिकतामा राखेको बताए । अघिल्लो वर्ष बेसिक तालीम लिएका ८८ जनामध्ये यसपटक ३४ जनालाई एड्भान्स तालीम दिइएको र आगामी दिनमा महिलाको क्षमता अभिवृद्धिका थप कार्यक्रम क्षेत्रगत रुपमा गरिने बताए ।
वडा सदस्य मीना ओझाले अझै पनि लक्षित वर्गको बजेटको सदुपयोग हुन नसकेकाले लक्षित वर्ग जागरुक भई विभिन्न योजनाका प्रस्ताव लिएर वडा कार्यालय र नगरपालिकासम्म जानुपर्ने बताइन् ।
नेकपाकी नेतृ लता न्यौपानेले महिला तथा लक्षित वर्गको पक्षमा बजेट विनियोजन भएपछि लक्षित समुदायको चेतना वृद्धि हुनुका साथै आत्मनिर्भरको बाटोमा लाग्न सहज भएको बताइन् । महिलालाई समस्या पर्दा आफूले सदैव सहयोग गर्न तयार रहेको उनको भनाइ थियो ।
कार्यक्रममा प्रशिक्षक सरस्वती दाहाल र ईशरवती चौधरी तथा प्रशिक्षार्थी दुर्गादेवी भट्टराई, अनिता सापकोटा र जीतकुमारी पहाडीले आफ्ना धारणा राखेका थिए । देवीमाया चौलागाईंले कार्यक्रममा स्वागत मन्तव्य राखेकी थिइन् । विमला अधिकारीको अध्यक्षतामा भएको कार्यक्रम जानुका ओझाले सञ्चालन गरेकी थिइन् ।